पहिलोपल्ट बालबालिकालाई झाडापखालाविरुद्धको खोप दिइँदै


१२ असार २०७७, शुक्रबार
khop

काठमाडौं, १२ असार । सरकारले पहिलो पटक झाडापखाला रोक्नका लागि खोप दिने भएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जन्मदेखि पाँच वर्षमुनिका बच्चालाई झाडापखालाविरुद्ध खोप ‘रोटारिक्स’ दिने भएको हो ।

महाशाखाका बालस्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा. झलक शर्मा गौतमले झाडापखालाबाट वर्षेनी बालबालिकाको मृत्यु हुने गरेकाले त्यसलाई रोक्न उक्त खोप दिन थालिएको बताए । उनका अनुसार वर्षेनी तीन लाख ५० हजारदेखि चार लाख बालबालिकालाई झाडापखाला लाग्ने र तीमध्ये नौ प्रतिशत बालबालिकाको मृत्यु हुने गरेको छ ।

बालबालिकामा पखाला लाग्ने ४० प्रतिशत रोटा भाइरसका कारणले हुने भएकाले उक्त खोप दिन थालिएको हो । ६० प्रतिशत अन्य भाइरस, परजीवी, जीवाणुजस्ता कारणले हुने गर्दछ । उनका अनुसार ‘रोटारिक्स’ यही असारभित्र शुरु गर्नका लागि सात वटै प्रदेश हुँदै सबै जिल्लामा पठाइसकेको छ । उक्त खोप सरकारका १६ हजार खोप केन्द्रबाट नियमित स्वास्थ्य स्वयंसेविकाले बालबालिकालाई खुवाइने छन् ।

बालबालिकालाई उक्त खोप पहिलोपटक छ हप्तामा र दोस्रो पटक १० हप्तामा खोप खुवाइने गरिन्छ । खोपको मात्रा १.५ मिलिलिटर हुन्छ । ‘एक बालबालिकालाई वर्षको दुईदेखि तीन पटक पखाला लाग्ने गरेको छ’, उनले भने, ‘पखालले गर्दा बच्चाको शरीरमा भएको पानी सकिन्छ (जलवियोजन) जसले गर्दा बच्चाको मृत्यु नै हुन्छ । त्यसैले पखाला रोक्न खोप दिइन थालेको हो ।’

अब नयाँ जन्मने बच्चा र छ महिना पुगेका बच्चाबाट उक्त खोपको शुरुवात गरिने शाखाका प्रमुख डा. गौतमले बताए । नेपालमा बाल मृत्युदर कम गर्न जन्मेदेखि एक वर्ष तीन महिनासम्मका बालबालिकालाई १२ प्रकारका खोप निःशुल्क दिइने गरिन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७