बिजुली आउने–जाने छैन कुनै टुङ्गो


१२ असार २०७७, शुक्रबार
electricity

लमजुङ, १२ असार । लमजुङका आधा दर्जनभन्दा बढी जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन भइ राष्ट्रिय प्रसारण लाइनमा जोड्दै देशलाई झिलीमिली बनाई रहे पनि लमजुङमा बिजुली आउने जाने कुनै टुङ्गो छैन ।

दैनिक ३०–३५ पटक बिजुली आउनेजाने समस्या रहेको उपभोक्ताले गुनासो गरेका छन् । यो समस्या यहाँ मात्र होइन छिमेकी तनहुँका साबिक तीन वटा गाविस चोक चिसोपानी, रुपाकोट र पुरकोटका स्थानीयवासीलाई समेत समस्या हुँदै आएको छ ।

नेपाल विद्युत् प्राविधिकरणको मातहतमा रहेको लमजुङ विद्युत् उपभोक्ता संस्थाले लमजुङ र तनहुँमा गरी २९ हजार आठ सय घरधुरीका नागरिकलाई विद्युत् सेवा दिँदै आएको छ । तनहुँको ती साबिक गाविसहरुमा मात्रै करीब दुई हजार ६ सय घरधुरीमा बिजुली वितरण हुँदै आएको वितरक संस्थाले जनाएको छ ।

जिल्लामा प्रत्येक महिना १२ लाखदेखि १३ लाख युनिट विद्युत् खपत हुँदै आएको छ । विद्युत् सेवाग्राहीलाई पर्याप्त भए पनि भौगोलिक संरचना र प्राविधिक कारणले नियमित रुपमा बिजुली उपभोक्ताले बाल्न नपाएको वितरक संस्थाको दाबी छ ।

सो संस्थासँग ‘स्थानीयवासीले बिजुलीको समस्या भयो’ भन्दै वर्षौं वर्षदेखि गुनासो गर्दै आएका छन् । तर पनि सो संस्थाले समस्याको हल गर्न नसक्दा स्थानीय तथा सेवाग्राहीहरु समस्या झेल्न बाध्य भइरहेका छन् ।

वर्षायाममा दैनिक पानी पर्नाले समेत बिजुली आउने जाने समस्या बढी भइरहेको बेंसीशहरका विपिन श्रेष्ठले बताए । उनले भने, ‘जलविद्युत् नै जलविद्युत् आयोजना भएको जिल्लामा समेत बिजुली आउने जाने भर नहुँदा लाजमर्दो कुरा भएको छ ।’

स्थानीय क्लब तथा उद्योग वाणिज्य सङ्घ बेंसीशहर इकाइलगायत स्थानीयवासीले पटक पटक बिजुली नियमित नभएको भन्दै विरोध गर्दै आए तापनि समस्या उस्तै रहँदै आएको छ ।

विसं २०५३ मा सो संस्था स्थापना भई २०५४ सालबाट विद्युत् सेवा दिँदै आएको छ । तनहुँको दमौली, डुम्रे हुँदै लमजुङमा बिजुली ल्याइएकाले बिजुली आउने जाने समस्या बढी हुने गरेको सो संस्थाले जनाएको छ ।

जिल्लामा ल्याउने बिजुलीको दूरी टाढा भएकाले दमौली, दुम्रेमा बिजुली  विग्रिँदा समेत बिजुली जाने गर्दा सेवाग्राहीलाई समस्या हुने गरेको सो संस्थाका अध्यक्ष श्रीकान्त पौडेलले बताउनुभयो । दमौलीबाट ल्याउँदा टाढा पर्ने भएकाले समस्या भएको र दूरी छोटो भएमा बिजुली आउनेजाने समस्या हटेर जाने उहाँको भनाइ छ ।

लमजुङमा ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत् आयोजना, ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङदी ‘ए’, आठ दशमलव आठ मेगावाटको रुदी ‘ए’ पाँच मेगावाटको सिउरी, चार दशमलव चार मेगावाटको राधी खोला, चार मेगावाटको खुदी जलविद्युत् लगायतका आधा दर्जनभन्दा बढी आयोजनाले निमार्णसम्पन्न गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । करीब एक दर्जन जलविद्युत्को आयोजनाहरु निर्माणाधीन अवस्थामा रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७