गोठाटारमा राष्ट्रिय गौ उद्यान, उपत्यकाका छाडा गाई बाच्छा संरक्षण


१३ असार २०७७, शनिबार
cow
फाइल फोटो

काठमाडौं, १३ असार । पशुपति क्षेत्र विकास कोषको नेतृत्वमा कागेश्वरी मनोहरा नगरपालिका वडा नं–८ मा राष्ट्रिय गौ उद्यान निर्माण शुरु भएको छ ।

कोषको करिब १०० रोपनी जग्गामा उद्यान निर्माण अभियान शुरु भएको सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए । गोठाटारमा शैक्षिक एवं स्वास्थ्य केन्द्र, गौशाला, कुकुरलगायत पशुपंक्षी संरक्षण केन्द्र पनि बनाउने योजना कोषको छ ।

गाई पालकलाई पनि चेतना दिने गरी राज्यको समेत दायित्व हुने भएकाले अभियान शुरु गरिएको उनले सुनाए ।

सडकमा छाडा छोडिएका राष्ट्रिय जनावर गाई बाच्छालाई एकत्रित गरेर खानपिनसहित संरक्षण गर्ने उद्देश्यले उद्यान निर्माणको अभियान शुरु भएको हो । गोठाटारमा रहेको कोषको ५३४ रोपनी जग्गामध्ये १०० रोपनी गौशालाका लागि छुट्याइएको हो ।

पशुपति, राजधानीको वरिपरिका नगर क्षेत्रमा छाडा गाईबाच्छा बढ्न थालेपछि विसं २०७६ जेठ १ गतेदेखि त्रिभुवन विमानस्थलको उत्तरतर्फको खुला मैदानमा करिब दुई दर्जन गाईबाच्छा जम्मा गरी संरक्षण शुरु गरिएको थियो । दुई दर्जनबाट शुरु गरिएको यो अभियान हाल उद्यानको अवधारणसहित २०० वटा छाडा गाई बाच्छालाई संरक्षण गरिएको छ ।

यसरी जम्मा गरिएका गाईबाच्छालाई नून पानी खुवाएर आँत रसिलो बनाई हाल जस्ताको टहरा हालेर अस्थायी ओतको व्यवस्था गरिएको छ । यस क्षेत्रमा घाँस एवं चरण क्षेत्रसमेत रहेकाले उद्यानका लागि उपयुक्तस्थल भएको जनाइएको छ । वाग्मतीको किनारमै घाँसे मैदान समेत रहेकाले गाईबाच्छालाई चरनको व्यवस्था पनि भएको छ ।

यसरी जम्मा गरिएका गाई बाच्छालाई स्वतःस्फूर्तरुपमा दाताले खानेकुराको व्यवस्था गर्न थालेका छन् । राष्ट्रिय जनावरका रुपमा सम्मान गरिने र लक्ष्मी माताका रुपमा पूजिने गाईबाच्छा सडकमा भौतारिएर बिजोग अवस्थामा पुगेपछि संरक्षणका लागि अभियान शुरु गरिएको अभियानकर्मी उत्तम पुडासैनीले बताए ।

‘बाच्छा हामीलाई पर्खेर बसिरहेका हुन्छन्, सडकमा छाडा छोडिएका बाच्छा आँत भरिने गरी पानी पिउन पाउँदा खुशी देखिन्छन्, यो सेवामुखी कामप्रति मानिसका चासो र चिन्ता पनि बढ्न थालेको छ, यो समस्याप्रति नीति निर्माताको ध्यानाकर्षण गराउनु आवश्यक बनेको छ’, उनले भने ।

यस क्षेत्रका गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकामा अहिले पनि धेरै गाई पालिएका छन् । गाईको बाच्छी जन्मिए घरमै राख्ने र बाच्छा जन्मिए अलि ठूलो भएपछि वाग्मती किनार, खुला सडकलगायत स्थानमा लगेर छोडिदिने समस्या मौलाएको छ । प्राणीको न्यायका पक्षमा नैतिक तथा कानूनी लडाइँ लड्ने सोचसहित अभियानकर्मी जुरमुराएका छन् ।

बेवारिसे अवस्थामा रहेका राष्ट्रिय जनावरको रक्षामा कुनै सम्झौता नगर्ने अभियानकर्मीको प्रतिबद्धता छ । नेपालीले सम्मान गरी गौमाताका रुपमा पूजा गर्ने गरे पनि सडकमा बाच्छा जन्मिएपछि गाईपालकले सडकमा छोड्ने गरेका छन् ।

गाईको दूध खाने तर बाच्छालाई सडकमा छोडेर बेवारिसे बनाइरहेको हेर्दा मानिसमा मानवीय संवेदना हराउन थालेको अनुभव हुने अभियानकर्मी ईश्वर पुडासैनी बताउँछन् । यसका लागि कानूनी व्यवस्था नै गर्नुपर्ने अभियानकर्मीको माग छ ।

स्थानीय सरकारको ध्यानाकर्षण

गाईबाच्छा संरक्षण अभियानले यसअघि गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकामा ज्ञापनपत्र बुझाउँदै खुला ठाउँमा लगेर छोड्ने काम बन्द गराउन कानूनी एवं नीतिगत व्यवस्था गर्न माग गरेका थिए ।

दुवै नगरपालिकाले हालै जारी आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा थोरै भए पनि यो मागलाई समेटेका छन् । कागेश्वरी मनोहरा नगरपालिकाले छाडा छोड्ने प्रवृत्तिलाई रोक लगाउने नीति अघि सारेको छ ।

गोकर्णेश्वर नगरपालिकाले छाडा रुपमा गाईबाच्छा नछोड्न विशेष कार्यक्रम सञ्चालन गर्ने योजना अघि सारेको छ । यसका लागि रु २० लाख बजेट समेत छुट्याएको नगर प्रमुख सन्तोष चालिसेले सुनाए । अभियान जारी राखी उपत्यकाका सबै स्थानीय तहलाई यस विषमाय नीति निर्धारण गर्न लगाउनुपर्ने सदस्य सचिव ढकाल बताउँछन् ।

गाउँ ठाउँमा पुगेका स्थानीय सरकारले नसुने पनि सहयोग गर्न चाहनेको संख्या थपिँदै गएको छ । जन्मदिनलगायत विशेष समारोहका बेला मानिस गाईबाच्छाका लागि केही लिएर आउन थालेका छन् । गाईबाच्छाका लागि पानी खुवाउने काममा पनि स्वयंसेवी सक्रिय हुन थालेका छन् ।

त्रिभुवन विमानस्थल निर्माण हुनु अघि गौचरणका रुपमा रहेको चौरमा हजारौ) गाई चर्थे । पशुपतिनाथको गुठीका रुपमा रहेको यो जग्गामा विमानस्थल बनेसँगै गाई चर्ने चरणको अभाव भयो । त्यसपछि मानिसले घरमै बाँधेर वा साना चरणमा चराउन थाले । यता कालोपुलसँगैको सानो गौचरणमा पनि खेलमैदान बन्यो ।

मानिसले आफूले उपयोग गरिरहेको स्थान कसैले अतिक्रमण गरे विरोध गर्छन् तर यी अबोध प्राणीका पक्षमा बोलीदिने कसले भन्ने प्रश्न जीवन्त बन्न थालेको छ । बाच्छा संरक्षण अभियानले भने जुनसुकै स्थानमा छाडा छोडिएका बाच्छा गोठाटारस्थित संरक्षणस्थलमा पुर्‍याई दिए त्यसका लागि सकेको गर्ने वाचा गरेको छ ।

बन्दाबन्दीमा विशेष अभियान

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न चैत ११ गतेदेखि बन्दाबन्दीको घोषणा गरेपछि उपत्यकाभर छाडा छोडिएका गाईबाच्छाले केही खान नपाउने अवस्था आयो । सडकमा यस्तो दृष्य देखेपछि कोषकका सदस्य सचिव ढकालको समेत सक्रियतामा उपत्यकामा छाडा छोडिएका गाईबाच्छालाई आश्रय दिने अभियान शुरु भएको हो ।

कोष, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उत्तरी कुनामा रहेको कागेश्वरी मनोहरा नगरापालिका–८ स्थित गोठाटारको वाग्मती किनारको चौरमा संरक्षित गाईबाच्छा संरक्षण अभियानलगायत संस्थाको सहकार्यमा गाईबाच्छा संरक्षणका लागि उद्यान निर्माण अभियान शुरु भएको हो ।

उपत्यकाकै नगर क्षेत्रमा पालिएका गाई फार्ममा गाईको बाच्छा जन्मिए केही दिनमा पशुपति वरपरको क्षेत्रमा लगी छोड्नेको संख्या बढ्न थालेको अभियानकर्मी पुडासैनीले जनाकारी दिए । बाच्छी जन्मिए राख्ने बाच्छा जन्मिए केही महिनामै पशुपति एवं वाग्मती किनारमा छोडिन्छन् । जसका कारण सडक दुर्घटनाका समस्या समेत बढ्ने गरेको छ ।

संविधानमा गाईलाई राष्ट्रिय जनावरका रुपमा उल्लेख गरिएको छ । वैदिक सनातन हिन्दू धर्मअनुसार गाईलाई गौमाताका रुपमा पुजिन्छ । शास्त्रीय रुपमा गरिने प्रत्येक शुभकर्ममा गाईदानका महत्व समेत उल्लेख गरिएको छ । गाईको यही महत्वका कारण कोष र अभियानलगायत संस्थाको सहकार्यमा छाडा छोडी सडकमा अलपत्र गाईबाच्छा उद्धार गरी उद्यान निर्माण अभियान शुरु भएको हो ।

उपत्यकाका सबै नगरपालिकाका प्रमुखसँग पनि बन्दाबन्दी सकिएपछि छलफल गरेर छाडा गाईबाच्छा व्यवस्थित गर्न दबाब दिइने तयारीसमेत गरिएको छ । स्थानीय तहले आफ्नो क्षेत्रका गाईबाच्छा दर्ता गर्ने व्यवस्था गरेर छाडा छोडेको पाएमा सेवा सुविधा कटौती गर्नुपर्ने माग अभियानकर्मीले गरेका छन् ।

बन्दाबन्दीमा सडकमा छोडिएका छाडा गाईबाच्छाले खान नपाएका कारण पनि यस्तो अभियान शुरु गरिएको हो । अभियानमा हाल आधा दर्जन अभियानकर्मी स्वयंसेवीरुपमा खट्ने गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७