विश्वविद्यालयका परीक्षा सुरु गर्न सिफारिस

विश्वविद्यालयलाई भर्चुअल कक्षा र परीक्षाका विषयमा निर्देशन दिने शिक्षा मन्त्रालयको तयारी


१४ असार २०७७, आईतवार
tribhuvan university
TU

काठमाडौं, १४ असार । विश्वविद्यालय अनुदान आयोगले कोभिड–१९ को सुरक्षा प्रोटोकल कायम गरी विश्वविद्यालयका स्थगित परीक्षा लिन सिफारिस गरेको छ ।

आयोगले पहिलो प्राथमिकता पारम्परिक परीक्षालाई दिन र परीक्षा लिन सम्भव नभएका विश्वविद्यालयले विद्यार्थीलाई माथिल्लो सेमेस्टर वा वर्षमा पठनपाठन कायम गरी दुईवटा सेमेस्टरको परीक्षा एकैपटक लिन सिफारिस गरेको हो ।

शिक्षा मन्त्रालयले विश्वविद्यालय अनुदान आयोगका अध्यक्षको संयोजकत्वमा गठन गरेको समितिले कोभिड–१९ महाव्याधीले सिर्जना गरेको अवस्थालाई सम्बोधन गर्दै नेपालका विश्वविद्यालयहरूमा इ–सिकाइ तथा परीक्षा प्रणाली व्यवस्थित गर्न बनेको निर्देशिका–२०७७’ शिक्षा मन्त्रालयलाई बुझाएको छ ।

सोही निर्देशिकाको सिफारिसका आधारमा शिक्षामन्त्री तथा विश्वविद्यालयका सहकुलपति गिरिराजमणि पोखरेलले आयोग र विश्वविद्यालयलाई भर्चुअल कक्षा र परीक्षाका विषयमा निर्देशन दिने तयारी गरेका छन् । निर्देशनपछि विश्वविद्यालयका प्राज्ञिक परिषद्ले आवश्यक निर्णय गरी पठनपाठन र परीक्षाका विषयमा छुट्टै निर्णय गर्नुर्पेछ ।

निर्देशिकाको परीक्षासम्बन्धी व्यवस्थामा विश्वविद्यालयहरूले शैक्षिक अपेक्षाहरूको पवित्रताहरू र परीक्षाको निष्ठालाई कायम राखी खुला पुस्तक परीक्षा, खुला विकल्प, कार्यभार, समयसीमा घर परीक्षाजस्ता वैकल्पिक र सरलीकृत विधिहरू अपनाएर परीक्षा लिनुपर्ने उल्लेख गरेको छ ।

निर्देशिकाको ६.२ मा भनिएको छ, ‘सम्भव भएसम्म विश्वविद्यालयहरूले कोभिड–१९ सुरक्षा प्रोटोकल कायम राखी सामाजिक दूरी र सामान्य सावधानी मास्कको प्रयोग, स्यानिटाइजरको प्रयोग, हात धुने, अनुहार छोप्ने गरेर सेमेस्टररवार्षिकरटर्मिनल परीक्षाहरू सञ्चालन गर्नुपर्ने ।’

कोभिडको तयारी स्तर, परीक्षाको आवासीय स्थिति र महामारीको स्थानीय स्थिति विस्तृत रूपमा अवलोकन गरेर मात्र परीक्षा सञ्चालन गर्नुपर्ने उल्लेख छ । पहिलो प्राथमिकता परम्परागत परीक्षालाई दिनुपर्ने सिफारिस गरेको छ । त्यसपछि मात्रै घर केन्द्रित परम्परागत परीक्षा अनुसरण गर्नुपर्ने निर्देशिकामा छ ।

प्रयोगात्मक परीक्षाका लागि विषयको प्रकृति हेरेर विश्वविद्यालयको आधिकारिक समितिले स्वीकृति गरी कुनै एक वा अरू धेरै विकल्प प्रयोग गर्न सकिने उल्लेख छ । परीक्षा सञ्चालकका लागि अन्तिम वर्षका अथवा अन्तिम सेमेस्टरका विद्यार्थीलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने निर्देशिकामा छ ।

अन्तिम परीक्षा पछि लिने गरी सेमेस्टर र वर्ष स्तरोन्नति हुने

निर्देशिकामा अन्तिम परीक्षाहरू सञ्चालन हुन नसक्दा विद्यार्थीलाई पछि परीक्षा लिने गरी सेमेस्टर वा वर्षमा स्तरोन्नति गरिदिने व्यवस्था छ । विश्वविद्यालयहरूले आफ्ना अध्ययन संस्थान क्याम्पस÷कार्यक्रमअन्तर्गत सञ्चालन भइरहेका सेमेस्टर तथा वार्षिक कार्यक्रम सबैमा यो व्यवस्था लागू हुनेछ ।

निर्देशिकाको ६.६ मा भनिएको छ, ‘यस्तो अवस्थामा पछिल्ला र अघिल्ला दुवै सेमेस्टर वा वार्षिक कार्यक्रमका नियमित अन्तिम परीक्षाहरू सँगसँगै सञ्चालन गर्न सकिनेछ, तर यी दुई परीक्षाहरू कम्तीमा दुई हप्ताको फरकमा मात्र लिनुपर्नेछ ।’ परीक्षा सुरु हुनुभन्दा कम्तीमा एक हप्ताअघि नै तालिका उपलब्ध गराउनुपर्नेछ ।

स्नातक तह तथा स्नातकोत्तर तहका पाठ्यक्रममा तोकिएका मौखिक परीक्षाहरू अनलाइन मिटिङ एप्समार्फत सञ्चालन गर्न सकिनेछ । प्रशासनिक उद्देश्यका लागि यस्ता सम्पूर्ण कार्यहरूको रेकर्ड राख्ने र सहभागी सदस्यहरूको सहभागिताको प्रमाणको दस्ताबेजीकरण गरिने भएको छ । पिएचडी तथा एमफिलको मौखिक परीक्षा कुनै पनि विश्वसनीय अनलाइन भिडियो एप्सहरू प्रयोग गरी भिडियो कन्फरेन्समार्फत लिन सकिनेछ ।

विश्वविद्यालय अनुदान आयोगका सदस्यसचिव प्रा.डा.देवराज अधिकारीले सकेसम्म परीक्षा लिने र सम्भव नभएमा शैक्षिक सत्र खेर नजाओस् भनेर वर्ष वा सेमेस्टर स्तरोन्नति गर्न सिफारिस गरेको बताए ।

उनले भने, ‘यही अवस्थामा जाँच लिन नसकेमा विद्यार्थीको सेमेस्टर वा वर्ष खेर नजाओस् भन्नेमा हाम्रो ध्यान गएको हो ।’ अब यो सिफारिस कार्यान्वयन भएपछि एउटा सेमेस्टर वा वर्ष पढेका विद्यार्थी जाँच नदिई माथिल्लोमा जाने बाटो खुला हुने भएको छ । निर्देशिका बनाउने समितिमा आयोग अध्यक्ष प्रा.डा. भीमप्रसाद सुवेदी, सदस्यसचिव प्रा.डा.देवराज अधिकारी र शिक्षा मन्त्रालयका सहसचिव रामशरण बजगाईं रहेका थिए ।

बीचमै स्थगित भएका थिए परीक्षा

गत ६ चैतबाट सबै शैक्षिक संस्था बन्द भएका थिए भने सञ्चालन भइरहेका परीक्षासमेत स्थगित भएका थिए । कतिपय संकायमा आधा विषयमा परीक्षा दिएर तीन महिनासम्म अर्को विकल्प नहुँदा विद्यार्थी तनावमा छन् ।

उच्च शिक्षामा करिब ८० प्रतिशत विद्यार्थीको भार रहेको त्रिभुवन विश्वविद्यालयमा विभिन्न तह र संकायमा परीक्षा सञ्चालन हुँदाहुँदै स्थगित भएका थिए । व्यवस्थापन संकायका स्नातकोत्तर तहमा दोस्रो र चौथो सेमेस्टरको परीक्षा सञ्चालन भइरहेका थिए ।

एमए दोस्रो र चौथो सेमेस्टरको परीक्षा सुरु हुन एक-दुई दिन मात्र बाँकी थियो । इन्जिनियरिङलगायतमा यस्तो समस्या छ । परीक्षा दिने विद्यार्थीले न त माथिल्लो सेमेस्टर अनलाइनमा पढ्न पाएका छन् न त विश्वविद्यालयले परीक्षाको कुनै विकल्प दिएको छ ।

काठमाडौं विश्वविद्यालयले सेमेस्टर प्रणालीमा असर नपर्ने गरी शिक्षकले गरेको आन्तरिक मूल्यांकनका आधारमा विश्वविद्यालयका विद्यार्थीलाई सर्टिफिकेट दिने निर्णय गरी कार्यान्वयमा लागेको छ । असहज परिस्थितिका कारण विश्वविद्यालयबाट अन्तिम परीक्षा नलिने र प्राध्यापकको मूल्यांकनकै आधारमा ग्रेडसिट दिने निर्णय भएको पदाधिकारीको भनाइ छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७