विद्यालयमा क्वारेन्टिन : विद्यार्थीलाई मनोवैज्ञानिक असर पर्न सक्ने

२८ हजार सामुदायिक विद्यालयमध्ये चार हजार पाँच सयमा क्वारेन्टिन


१४ असार २०७७, आईतवार
kwarentine 1

काठमाडौं, १४ असार । कोरोना भाइरस रोकथामका लागि सामुदायिक विद्यालयलाई लामो समय क्वारेन्टिन बनाइँदा विद्यालय र बालबालिका शान्ति क्षेत्रको अवधारणामा प्रतिकूल असर पर्ने जनाइएको छ ।

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले आज आयोजना गरेको भर्चुअल संवादमा विद्यालय खुल्नुपर्ने समय आउँदा शिक्षक र विद्यार्थीमा मनोविज्ञानमा प्रतिकूल असर पर्ने भएकाले विद्यालयभन्दा अन्य स्थानमा क्वारेन्टिन राख्न सुझाव दिइएको हो ।

हाल करीब २८ हजार सामुदायिक विद्यालयमध्ये चार हजार पाँच सयमा क्वारेन्टिन र ६४ मा आइसोलेशन कक्ष बनाइएको छ । कतिपय विद्यालयमा व्यवस्थापन समिति र प्रधानाध्यापकलाई समेत थाहा नदिई स्थानीय पालिकाले आफूखुशी तथा जबरजस्ती विद्यालयलाई क्वारेन्टिन बनाइएकामा चिन्ता व्यक्त गरिएको हो ।

बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) का अध्यक्ष नरेन्द्र डङ्गोल सरकारले विद्यालय शान्तिक्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका २०६८ को विपरीत विद्यालयमा यस प्रकारको बोझ थप्न नहुने बताए । बालअधिकारकर्मी कृष्ण सुवेदीले विद्यालयको विकल्प खोजेर होटलहरुलाई क्वारेन्टिन बनाइएको भए बस्नेहरुलाई पनि सुविधा पुग्ने उल्लेख गरे ।

विपद्विज्ञ श्याम ज्ञवालीले सुरक्षित विद्यालयको अवधारणाबाट विद्यालयलाई क्वारेन्टिन बनाइनु गलत भएकाले यसबाट चौतर्फी रुपमा असर परेको उल्लेख गरे ।

महासङ्घका अध्यक्ष कृष्ण थापाले आफूहरुले विद्यालयमा क्वारेन्टिन नराख्न सुरुदेखि आग्रह गरेको र हाल निरन्तर विद्यालयमा क्वारेन्टिन बढ्न थाले पनि थप चिन्ता जाहेर गरिएको जनाए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७