गुठीका जग्गाहरु राज्यले पनि नियन्त्रण गर्न सकेन : मन्त्री अर्याल {भिडियाे}


१४ असार २०७७, आईतवार
Padma Aryal 077 Asar 14 1

काठमाडौं, १४ असार । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मावकुमारी अर्यालले गुठीका जग्गाहरु राज्यले पनि नियन्त्रण गर्न नसकेको बताएकी छिन । आइतबार राष्ट्रिय सरोकार तथा समन्वय समितिमा राष्ट्रिय सरोकार तथा समन्वय समिति अन्तर्गत गठित पशुपति क्षेत्र विकास कोष अध्ययन उपसमितिले बुझाएको प्रतिवेदन माथिको छलफलका क्रममा यस्तो बताएकी हुन ।
उनले पुर्खाहरुले परोपरकारी भावनाका साथ गुठीमा जग्गा दान गरेपनि अहिले व्यक्तिहरुले खोस्ने, अतिक्रमण गर्ने, आफ्नो बनाउने काम भइरहेको भन्दै त्यसको संरक्षण गर्ने काममा मन्त्रालय लागिपरेको बताइन ।


गुठी संरक्षण गर्नका निम्ती नै सरकारले गुठी विधेयक ल्याइएको कुरा दोहोर्यांउदै त्यो अहिले फिर्ता गएपनि पुनः ल्याउने तयारीमा सरकार रहेको बताइन् ।

गुठीमा राज्यले सिधै हस्तक्षेप गरेर प्रयोग गर्न पाउने खालको व्यवस्था पनि नभएको भन्दै उनले गुठी फरक प्रकृतिको मौलिक विषय भएकाले यसलाई फरक ढंगले नै व्यवस्थित गर्नुपर्ने बताइन्। मन्त्री अर्यालले भनिन, ‘अरु सरकारी, सार्वजनिक जग्गामा जस्तो गुठीमा राज्यले सिधै हस्तक्षेप गर्न सक्दैन ।’
पुर्खाहरुले परोपरकारी भावनाका साथ गुठीमा जग्गा दान गरेको भन्दै उनले पुर्खाले गरेको दान अहिले विभिन्न व्यक्तिहरुले खोस्ने, अतिक्रमण गर्ने, आफ्नो बनाउने काम भइरहेको बताइन । ‘जुन मनसाय, परोपकारी भावनाका साथ धार्मिक उद्देश्यले पुर्खाहरुले दान गरे । त्यसको संरक्षण गर्ने काममा लाग्नुपर्छ भनेर हामी लागीपरेका छौ’ मन्त्री अर्यालले भनिन । सरकारी, सार्वजनिक, गुठीको जग्गा संरक्षण गर्नका निम्ती मन्त्रालयले जाँचबुझ आयोग बनाएर अहिले काम भइरहेको उनले बताइन ।

मुलुकभरकै गुठीका जग्गाहरु असुरक्षित भएको भन्दै उनले अतिक्रमण भएका जग्गाहरु फिर्ता ल्याउन सरकार लागिरहेको बताइन । गुठीका जग्गासँग जोडिएका मोहिहरुको हक स्थापित गर्नुपर्ने भन्दै मन्त्री अर्यालले मर्कामा परेका किसानहरुलाई न्याय दिनुपर्ने ठूलो जिम्मेवारी रहेको बताइन ।

‘धर्म संस्कृतिको रक्षा गर्ने, गुठीको जग्गाको संरक्षण गर्ने र गुठीका जग्गासँग जोडिएका किसानहरुको हकलाई स्थापित गर्ने कुरालाई व्यवस्थित गर्ने कुरा छु, मन्त्री अर्यालले भनिन, ‘यी तिनवटै कुरालाई व्यवस्थित गर्ने कार्ययोजना सहित हामीले गुठी विधेयक ल्याएका थियौं । तर त्यो फिर्ता ल्याउनुपर्यो ।’

यी सबै कुरालाई सम्बोधन गर्ने कानुन ल्याउन नसक्दासम्म समस्याको समाधान नहुने मन्त्री अर्यालले बताइन। समस्या समाधान गर्ने भनेको विधि विधानबाटै भएको भन्दै उनले यही कुराको शुरुआत मन्त्रालयले गरेको बताइन । ‘गुठी विधेयक रोकिएको यहाँहरुलाई थाहै छ । तर हामी पुनः ल्याउछौु, मन्त्री अर्यालले भनिन, ‘मन्त्रालय एकीकृत भूमि ऐन ल्याउन समिति बनाएर काम अगाडी बढाएको छ । त्यसमा यो भूमि ऐन पनि समावेश छ ।’


गुठीको जग्गा भएको ठाउँमा पर्यटन मन्त्रालयले विभिन्न गुम्बा, विकास समितिहरु गठन गरेर अहिले दोहोरो भिडन्त भइरहेको अवस्था रहेको भन्दै मन्त्री अर्यालले त्यहाँ स्रोत परिचालनसँग जोडिएर धेरै विवाद रहेको बताइन ।


कार्यक्षेत्रलाई व्यवस्थित गर्नेगरी कानुनहरु नआउदासम्म यो समस्या रहिरहने उनको भनाइ थियो । मन्त्री अर्यालले भनिन, ‘हाम्रा अधिकार क्षेत्र के हुन् भनेर प्रष्ट रुपमा कानुनी व्यवस्था गरिएन भने ठूलो लडाइ हुन्छ । सम्पत्ति छ, अरु स्रोतहरु छन्, पूजापाठ हुन्छ, भेटी चढाइन्छन् । यी कुराहरुले समस्या उत्पन्न भएका छन् ।’


पर्यटन क्षेत्रले के गर्नेरु गुठीले के गर्ने भनेर क्षेत्राधिकार प्रष्ट रुपमा किटान गरेर जानुपर्ने उनको भनाइ थियो । अन्तरविरोधी खालका कानुन भएका कारण बिबाद निम्त्याएको मन्त्री अर्यालले बताइन । उनले भनिन, ‘जबसम्म दोहोरो स्वामित्व रहन्छ तबसम्म गुठीमा ठूलो समस्या भइरहन्छ । गुठीमा धेरै खालका भावना मिसिएको छ । अब हामीले ठ्याक्कै यसो गर भनेर पनि नहुने रहेछ ।’ अहिलेको बिवाद भनेको स्वामित्व र स्रोत परिचालनसँगै जोडिएर भएको भन्दै उनले स्रोत परिचालन कसले के गर्ने भनेर स्पष्ट हुनुपर्ने बताइन ।


मन्त्री अर्यालले आफू समस्याको चाङमा रहेको समेत बताइन । ‘देशभर २ हजार बढी गुठी छन् । उपत्यकामा मात्र ५ सय गुठी छन् । सहकारीतर्फ ३५ हजार बढी सहकारी छन् । सरकारी, सार्वजनिक जग्गाको हालखबर त्यस्तै छ । मालपोत नापीको हालखबर पनि त्यस्तै छु’, मन्त्री अर्यालले भनिन, ‘म त एकदमै समस्यै समस्याको चाङमा, बेथितीको भुंग्रोमा छु । कति सुधार्न सकिन्छ सुधार्न लागिपरेका छौ ।’ समस्याले घेर्दै आएको भएपनि सुधार गर्नका निम्ती आत्मविश्वासका साथ लागिपरेको मन्त्री अर्यालको भनाइ थियो ।

बैठकमा समिति सभापति दिलकुमारी रावल थापाले समिति समस्या समाधान गर्ने निष्कर्षमा पुगेको भन्दै समस्या समाधानका लागि सबै सरोकारवाला निकायसँग छलफल गरेर अर्को बैठक बस्ने बताउनुभएको छ । देशभर २ हजार बढी गुठी छन् । उपत्यकामा मात्र ५ सय गुठी छन् । सहकारीतर्फ ३५ हजार बढी सहकारीछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७