नक्सा सच्याए वापत दिल्लीले मलाई हटाउन खोज्दैछ : प्रधानमन्त्री {भिडियाे}


१४ असार २०७७, आईतवार
Pro ktm Pm1

 काठमाडौं, १४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पदमा बसिरहन मन नभएको बताउँदै ‘खोसिएको जमिन फिर्ता गर्न खोजेको र आफूले कुनै गल्ती नगरेको’ बताएका छन् ।

प्रधानमन्त्री ओलीले नक्सा सच्याए वापत आफूलाई प्रधानमन्त्री पदबाट हटाउन भारत र नेपालभित्रैका शक्तिहरु अहिले लागिपरिरहेको आरोप लगाएका छन् ।

मदन भण्डारीको ६९ औं जन्मोत्सवका अवसरमा आज बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लिम्पियाधुरासहितको नयाँ नक्सा जारी भएपछि भारतले भारतीय मिडियामार्फत आफ्नो नेतृत्वको सरकार ढाल्न भूमिका खेलेको भन्दै त्यो प्रयास सफल हुन नदिने बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘दिल्लीका सञ्चारमाध्यम सुन्नुस्, त्यसैले देखाउँछ, यहाँका होटेलमा भइरहेका गतिबिधि हेर्नुस्, एम्बेसीको सक्रियता हेर्नुस्, त्यसले बताएको छ ।’ उनले थपे, ‘नेपालको राष्ट्रियता यति कमजोर छैन नक्सा छापे वापत, यस देशको प्रधानमन्त्री हटाउँछस भनेको छ भने, यो नसोचे हुन्छ ।’

उनले भने, ‘अहिले केपी ओलीलाई नहटाई हुँदैन भनिएको छ । संविधान संशोधन गरेर नक्सा सच्याउने अपराध गर्नेलाई राख्नै नहुने भनिएको छ । यतिबेला म हट्ने हो भने नेपालको पक्षमा कसैले बोल्ने आँट गर्ने छैन किनभने भोलिपल्ट बर्खास्त हुन्छ ।’

उनले थपे, ‘त्यसैले म आफ्ना लागि होइन, देशका लागि हो । हाम्रो पार्टी, हाम्रो संसदीय दल यस्ता वहकाऊमा फस्ने छैन । कोशिस गर्नेलाई गर्न दिउँ ।’

उनले नेपालले अरुको जमिन हस्तक्षेप नगरेकाले त्यो जमिन फिर्ता गरेरै छाड्ने पनि बताए । नेपालको नक्सा छापेर संविधान संशोधन गरेवापत प्रधानमन्त्री हटाउने सपना नदेख्न भारतलाई चेतावनी दिँदै यतिबेला आफू हटे भोलिदेखि नेपालको पक्षमा कोही बोल्न नसक्ने भएकाले नेपालको राष्ट्रियतालाई त्यति कमजोर बनाउने खेल नखेल्न पनि चेतावनी दिए ।

उनले यसअघि चीनसँग पारवहन सम्झौता गर्दा आफ्नो सरकार ढलेको तर अहिलेको सरकारमा कम्युष्टिको बहुमत भएकाले आफ्नो भूमिमा दावी गरेर नक्सा छाप्दा अपराध गरे जस्तो गरी आफूलाई पदबाट हटाउने कुरा कसैले पनि नसोचे हुन्छ भनी चेतावनी समेत दिए।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७