संघ, प्रदेश र स्थानीय तह सम्बन्धी विधेयक स्वीकृत


१५ असार २०७७, सोमबार
samsad bhawan 1 GYtZbbFHXW

काठमाडौं, १५ असार । राष्ट्रियसभा बैठकले ‘सङ्घ, प्रदेश र स्थानीय तह (अन्तर सम्बन्ध व्यवस्थापन) विधेयक, २०७५ माथि प्रतिनिधि सभाबाट भएको संशोधन उपर विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

सभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट उक्त प्रस्ताव कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले प्रस्तुत गरेकी थिइन् ।

बैठकले अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको ‘नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक, २०७५ माथि प्रतिनिधि सभाबाट भएको संशोधन उपर विचार गरियोस्’ भन्ने प्रस्ताव पनि सर्वसम्मतिले स्वीकृत गरेको छ ।

बैठकमा प्रतिवेदन पेश

यसैगरी बैठकमा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण विडारीले ‘राष्ट्रिय महत्वका दस्तावेज अभिलेख व्यवस्थापन सम्बन्धी प्रतिवेदन, २०७७’ सभा समक्ष पेश गरे ।

बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०७६, खेलकूद विकास सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७६ र रेडियोधर्मी पदार्थको उपयोग तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७७ प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए । राष्ट्रियसभाको अर्काे बैठक यही असार १७ दिउँसो १ बजे बस्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७