ललितपुरमा कोरोनाबाट तेस्रो व्यक्तिको मृत्यु   


१५ असार २०७७, सोमबार
corona update world scaled

    ललितपुर, १५ असार  ।    
ललितपुर जिल्लामा कोरोना सङ्क्रमणबाट तेस्रो व्यक्तिको मृत्यु भएको छ । सानेपाको स्टार अस्पतालमा उपचाररत रौतहट हतुवा विजयपुर नगरपालिकाका वडा नं ७ निवासी ३० वर्षीय पुरुषको शनिबार राति आठ बजेर ४० मिनेटमा मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा जागेश्वर गेलालले बताए ।    

उनले भने, “उहाँमा लामो समयदेखि श्वासप्रश्वासको समस्या रहेछ । अन्य अस्पतालमा उपचार गरी उहाँ असार १३ गते स्टारको कोभिड आइसियू भर्ना भई केही समयपछि भेन्टिलेटरमा राखिएको छदेखि सात घण्टामा मृत्यु भएको थियो ।” ती व्यक्तिको स्वाब परीक्षणको नतिजा आइतबार साँझ मात्र आएको गेलालले बताए ।    

ती व्यक्तिले काठमाडौँ आउनुअघि तराईको अस्पतालमा छातीको उपचार गराइरहेको गेलालको भनाइ छ । उनको उपचारमा खटिने र परिवारका सदस्य गरी आठदेखि नौजनालाई हाल आइसोलेशनमा राखिएको उनले बताए ।

यसअघि ललितपुरमा कोरोनाका कारण अन्य दुई पुरुषको पनि मृत्यु भइसकेको छ । आजसम्म ललितपुरका नौ जनालाई कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । ती व्यक्तिको शव व्यवस्थापन भने नेपाली सेनाले गर्ने छ ।    

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण पुष्टि भएका थप ४७६ मध्ये आठ जना काठमाडौं उपत्यकाका हुन् । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४७६ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ४७६ जनामा संक्रमण देखिएको हो ।

आज थपिएका ४७६ सहित नेपालमा संक्रमितको संख्या १३ हजार २४८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १२१ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । योसहित डिस्चार्ज हुनेको संख्या ३,१३४ पुगेको छ । कूल संक्रमितमध्ये २८ जनाको मृत्यु भएको छ । प्रवक्ता डा. गौतमका अनुसार हालसम्म देशका सबै जिल्लामा संक्रमण देखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७