लकडाउन साउन ७ सम्म लम्बिएपछि ‘भोकले मर्ने भइयो’ भन्दै ट्याक्सी व्यवसायीको प्रदर्शन


१६ असार २०७७, मंगलवार
Taxi Aandolan 1

काठमाडौं, १६ असार । सरकारले अहिलेकै स्वरुपमा आउँदो साउन ७ गतेसम्मका लागि लकडाउन जारी राख्ने निर्णय गरेपछि लामो समयदेखि आफ्नो गाडी थन्क्याएर बसेका ट्याक्सी व्यवसायी प्रदर्शनमा उत्रिएका छन् ।

सरकारले सार्वजनिक सवारी साधन पनि खुल्ला गर्ला कि भन्ने आशमा बसिरहेका ट्याक्सी व्यवसायीहरु सरकारले लकडाउनलाई थप लम्ब्याएपछि आज (मंगलबार) प्रदर्शनमा उत्रिएका हुन् ।

उनीहरुले बिहानै नयाँबानेश्वर–तीनकुने सडकखण्डको किनारमा ट्याक्सी पार्क गरेर प्लेकार्डसहित शान्तिपूर्ण रुपमा प्रदर्शन गरिरहेका छन् । उनीहरुले यातायात ब्यवस्था विभागको कार्यालयमा १० बजेपछि मागपत्र बुझाउने तयारी रहेको जानकारी दिएका छन् ।

ट्याक्सी चालक तथा व्यवसायीहरुले ‘रोगले होइन, भोकले मर्ने भइयो सरकार, कि हामीलाई गरिखान देऊ, कि हामीलाई कामको व्यवस्था गरिदेउ’, लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।

यतिका लामो समयसम्म आफूहरुले जिम्मेवार बनेर नै सरकारलाई सघाइरहेको तर, अब हात–मुख जोड्ने विकल्प नै हराएपछि वाध्य भएर व्यवसाय चलाउनु पर्ने अवस्थामा पुगेको व्यवसायीको भनाइ छ ।

मन्त्रिपरिषद्को हिजो (सोमबार) राति सम्पन्न बैठकले लकडाउनलाई साउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो । हवाइ उडान र सीमा नाका पनि साउन ७ गतेसम्म नै बन्द राखिने निर्णय भएको छ ।

गत जेठ २८ गते बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेअनुसार हाल स्वास्थ्यसँग सम्वन्धित सबै सेवा खुला छन् भने सबै प्रकारका कृषि र पशुपक्षी सेवा, उत्पादन र बिक्री खुला गरिएको छ । यस्तै उद्योग, व्यापार, व्यवसाय, पसलहरु, डिपार्टमेन्टल स्टोरहरु खुला गरिएको छ ।

सबै प्रकारका ढुवानी सेवा पनि खुला गरिएको छ भने व्यक्तिहरुको पैदल आवागमन खुल्ला गर्दै जोर बिजोरको आधारमा मोटरसाइकल निजी सवारी साधन सञ्चालन गर्न दिइएको छ । बैंक, बित्तीय संस्था र सहकारी पनि खुल्ला गरिएका छन् ।

तर, जिमखाना, सपिङ मल, समूहमा खेलिने खेलमैदान, सबै प्रकारका धार्मिक तथा सामाजिक स्थलहरु, क्वारेन्टाइनका लागि तोकिएका बाहेकका होटल खोल्न प्रतिबन्ध लगाइएको छ ।

सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिइएको छैन भने शिक्षण संस्थाहरु खोल्न निषेध गरिएको छ । बैठकले कोरोना संक्रमणको बढ्दो दरबारे पनि समीक्षा गरेको थियो । सरकारले कोरोना संक्रमणको जोखिमपछि गत चैत ११ देखि लकडाउन जारी गरेको थियो । तर असार १ गतेदेखि भने लकडाउन खुकुलो बनाइएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७