चीनले पारित गरिछाड्यो हङकङको स्वतन्त्रतासम्बन्धी विवादास्पद कानून

जुलाई १ बाट लागू हुने


१६ असार २०७७, मंगलवार
China hongkong

काठमाडौं, १६ असार । चीनले हङकङका लागि नयाँ सुरक्षा कानून पारित गरेको छ । बेइजिङस्थित चिनियाँ संसदले हङकङको अलगाव, तोडफोड, आतंकवाद र विदेशी सेनाको सहयोगमा राष्ट्रिय सुरक्षालाई जोखिममा पुर्‍याउन प्रतिबन्ध लगाउने राष्ट्रिय सुरक्षा कानून सर्वसम्मतिले पारित गरेको हो ।

राष्ट्रिय पीपुल्स कांग्रेसको स्थायी समितिले अनुमोदन गरेको कानून अनुसार कानून उल्लंघन गरे लामो समय जेल सजायँ भोग्नु पर्ने समाचार एजेन्सीहरुले जनाएका छन् । कानूनको पक्षमा सबै १ सय ६२ जना सदस्यले सर्वसम्मत मतदान गरेको जनाइएको छ ।

कानून अनुमोदन अगाडी हङकङबाट त्यहाँ प्रतिनिधित्व गर्ने सीमित प्रतिनिधिलाई मस्यौदा हेर्न दिइएको जनाइएको छ । आइतबार स्थायी समितिले एउटा विशेष छलफलमार्फत फास्ट ट्रयाकबाट मस्यौदा पेश गरेको र पारित गरिएको जनाइएको छ ।

यो कानून हङकङ बेलायतबाट चीनलाई हस्तान्तरण गरिएको जुलाई १ का दिन पर्ने २३ औं वर्षगाँठदेखि लागू हुने चिनियाँ सचारमाध्यमहरुले जनाएका छन् ।

उता अमेरिकाले भने यस कानूनको पक्षमा लाग्ने चिनियाँ अधिकारीलाई भिषा प्रतिबन्धको घोषणा गरिसकेको छ । यसबारे चीन र अमेरिकाबीच लामो समयदेखि टकराव चुलिएको छ । नयाँ राष्ट्रिय सुरक्षा कानुन ल्याए हङकङलाई दिदैं आएको विशेष सहुलियत र पहिचान हटाउने चेतावनी अमेरिकाले दिदैं आएको छ ।

अमेरिकासहितका पश्चिमा राष्ट्र चीनले लाद्ने यस कानूनले हङकङमाथिको स्वायतताको विशेष अधिकार र नागरिक स्वतन्त्रताको अधिकार हनन हुने भन्दै विरोध जनाउँदै आएका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७