३० बर्से सेवावधि खारेज गर्ने खेल जारी


१३ माघ २०७४, शनिबार
nepal police age 30 igp

काठमाडौं, माघ १२ :  प्रहरी महानिरीक्षक प्रकाश अर्यालसहितका १५ एआइजी र केही डीआइजीहरु नेपाल प्रहरीमा ३० वर्षे सेवावधिका आधारमा अवकाश हुने प्रावधान प्रहरी नियमावलीबाट हटाउने अन्तिम कसरतमा जुटिरहेका छन् ।प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रभावमा पारी ३० बर्से सेवावधिको प्रावधान हटाउन ३ नम्बर प्रदेशका प्रमुख एआइजी केशरीराज घिमिरेदेखि ६ नम्बरका रणबहादुर चन्दसम्मको दौडधुप जारी छ । उनीहरू त्यसका लागि कार्यक्षेत्र छाडेर काठमाडौँमा केन्द्रित भएका छन् ।

nepal police age 30 igp

आइजीपी अर्यालले मानवस्रोत विभागका प्रमुख एआइजी हेमन्त पाललाई प्रधानमन्त्री देउवालाई कन्भिन्स गर्न परिचालन गरेका छन् । अब बन्ने वाम गठबन्धनको सरकारले फेरि त्यो प्रावधानलाई अनुमोदन नगर्ने भएकाले आइजीपी अर्यालले एमालेलाई मिलाउन डीआइजी गणेश केसी र माओवादी केन्द्रका अध्यक्षलाई फकाउन एआइजी केशरीराज घिमिरेलाई लगाएको स्रोतले बताएको छ ।

स्रोतका अनुसार मधेशवादी दलहरूलाई समेत मिलाउनका लागि जुनियर तालिम केन्द्र भरतपुरका प्रमुख डीआइजी केदारमानसिंह भण्डारीलाई पनि काठमाडौँमै बोलाइएको छ । डीआइजी भण्डारी राष्ट्रिय जनता पार्टीका अध्यक्षमण्डलका सदस्य शरदसिंह भण्डारीका नाताले भाइ पर्दछन् ।

२०७४ माघ ११ को मन्त्रिपरिषद बैठकबाटै ३० बर्से सेवावधिको प्रावधान हटाउने पक्षमा प्रधानमन्त्री देउवा थिए । तर लोकसेवा आयोगले सहमति नजनाएपछि रोकिन पुगेको थियो । तर लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीलाई पनि मनाएर सरुवा गर्ने तारतम्य एआइजी हेमन्त पालहरूले बनाइसकेका छन् ।

३० वर्षे सेवावधिका कारण आइजीपी प्रकाश अर्यालसहितका १५ एआइजी आगामी चैत २८ गते अवकाश हुँदै छन् ।
गृहमन्त्री समेत रहेका प्रधानमन्त्री देउवा र उनकी पत्नी आरजुलाई करोडौं रुपैयाँ भेटीको प्रबन्ध गरी ३० वर्षे सेवावधि हटाउने अन्तिम कसरत भइरहेको चर्चा प्रहरीमा छ ।

age 30 igp
दायाँबाट क्रमश : आइजीपी  प्रकाश अर्याल, एअाइजी रण बहादुर चन्द, केशराज घिमिरे, हेमन्त पाल,  डीअाजी केदान मान भण्डारी र  गणेश केसी ,।

आगामी चैत २८ गते ३० बर्से सेवावधिका कारण नेपाल प्रहरीका एआइजीहरु बमबहादुर भण्डारी, जयबहादुर चन्द, देवेन्द्र सुवेदी, पशुपति उपाध्याय, माधव जोशी, केशरीराज घिमिरे, विजयलाल कायस्थ अवकाश हुनेछन् । त्यस्तै एआइजीहरुको जम्बो टोलीका रणबहादुर चन्द, विजयराज भट्ट, मधु पुडासैनी, माधव नेपाल, मिङ्मार लामा, हेमन्त पाल, पंकज श्रेष्ठ र कमलसिंह बम पनि अवकाशमा पर्नेछन् ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७