भारतले सरकार ढाल्न लागेको कुरा स्पष्ट पार्न प्रधानमन्त्रीसँग शीर्ष नेताहरुको माग


१६ असार २०७७, मंगलवार
Nekapa 5

काठमाडौं, १६ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको भारतले आफ्नो सरकार ढाल्न खोजेको भन्ने अभिव्यक्तिबारे आजको स्थायी कमिटी वैठकमा प्रश्न उठाएका छन् ।

प्रधानमन्त्री ओलीले दिएको पछिल्लो अभिव्यक्तिसँगै मंगलबार स्थायी समिति बैठकमा बोल्दै प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाललगायतका शीनेताहरुले भारतले सरकार ढाल्न लागेको अभिव्यक्तिबारे स्पष्ट पार्न प्रधानमन्त्रीलाई माग गरेका छन् ।

बैठकमा शुरुमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीको अभिव्यक्ति कसरी आयो, यो गम्भीर विषयमा को सक्रिय रहेका छन्, नेताहरुलाई जानकारी दिनुपर्ने बताएका थिए । त्यसपछि बोलेका वरिष्ठ नेता झलनाथ खनालले पनि सोही आशय राखेको वैठकमा सहभागी एक नेताले जानकारी दिएका छन् ।

समितिमा बोल्दै नेता खनालले सरकार ढाल्न भारतीय सक्रिय रहेको भनाइ गम्भीर रहेको बताउँदै यसको आधार के छन् प्रष्ट पार्न माग गरेका हुन् ।

यस्तै नेकपा उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्रीले सरकार नै ढाल्ने गरी कस–कसले सक्रियता बढाएको हो, दूतावासका को–को सक्रिय भए बैठकमा स्पष्ट गर्नुपर्ने बताए ।

बालुवाटारमा जारी स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, वेदुराम भुसाल र मुकुन्द न्यौपानेले प्रधानमन्त्रीबाट गम्भीर अभिव्यक्ति आएको भन्दै त्यसका आधार के हुन् स्पष्ट पार्नुपर्ने माग गरेका थिए । प्रधानमन्त्री ओलीले आइतबार मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा बोल्दै सरकार ढाल्न भारत र नेपालका शक्तिहरु लागिपरेको बताएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७