रोगले होइन,भोकले मर्ने भइयो सरकार : ट्याक्सी चालक {भिडियाे}


१६ असार २०७७, मंगलवार
taxi byabsahi

काठमाडाैं, १६ असार ।  लामो समयदेखि ट्याक्सी चलाउन नपाएपछि काठमाण्डौका ट्याक्सी चालक तथा व्यवसायीहरुले प्रदर्शन गरेका छन् ।  उनीहरुले मंगलबार बिहान नयाँबानेश्वर–तीनकुने सडकखण्डको किनारमा ट्याक्सी पार्क गरेर प्लेकार्डसहित शान्तिपूर्ण रुपमा प्रदर्शन गरेका हुन् ।

ट्याक्सी चालक तथा व्यवसायीहरुले ‘रोगले होइन, भोकले मर्ने भइयो सरकार, कि हामीलाई गरिखान देऊ, कि हामीलाई कामको व्यवस्था गरिदेउ’, लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए । प्रदर्शनमा सहभागीहरुले काम गर्न नपाउदा रोगले भन्दा भोकले मर्ने अवस्था आएकाले अव ट्याक्सि चलाउन पाउनुपर्ने बताए । सरकारलाई कर तिर्दा पनि सरकारले भने आफुहरुलाई नहेरेको उनीहरुको गुनासो छ ।

ट्याक्सी चालकहरुले काठमाडौंको बानेश्वर, तीनकुने सडकमा प्लेकार्डसहित प्रदर्शन गरेका हुन् । प्रदर्शनमा उत्रिएका तीन सय बढी ट्याक्सीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । केशरमहल, सिंहदरबार, जावलाखेल, कोटेश्वर, गौशाला, महाराजगन्ज, गोंगबुलगायतका क्षेत्रबाट ट्यक्सीलाई नियन्त्रणमा लिइएको ट्राफिक प्रहरीले जनाएको छ ।

उपत्यका ट्याक्सी विशेष समितिले सार्वजनिक यातायात सञ्चालन गर्नुपर्ने भन्दै यातायात व्यवस्था विभागलाई ज्ञापनपत्रसमेत बुझाएको छ । ट्याक्सी ब्यवसायीले सुरक्षा अपनाएर निर्वाध काम गर्न दिनुपर्ने माग अघि सारेका छन् । चैत ११ गतेदेखि ट्याक्सी सञ्चालनमा आएका छैनन् । तर, पछिल्ला दिन फाट्टफुट्ट रुपमा ट्याक्सी सडकमा गुड्दै आएका थिए । ती ट्याक्सीलाई तत्कालै प्रहरीले नियन्त्रणमा लिएर कारबाही गर्दै आएको छ ।

 सरकारले कोरोना संक्रमणको जोखिम रहेको भन्दै सार्वजनिक यातायातका साधन चलाउन रोक लगाएको छ । सरकारले लकडाउनको अहिलेको मोडललाई साउन ७ गतेसम्म निरन्तरता दिने निर्णय गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७