ट्याक्सी चालकले सरकारलाई बुझाए चाबी


१७ असार २०७७, बुधबार
RoS Ktm20200630IMG 04873811 scaled

काठमाडौं, १७ असार । लकडाउनका कारण तीन महिनादेखि व्यवसाय ठप्प भएपछि खान र बस्न समस्या भएको भन्दै ट्याक्सीचालक र व्यवसायीले सरकारलाई चाबी बुझाएका छन् ।

आफूहरूले राखेका मागप्रति बेवास्ता गरेको भन्दै उनीहरूले मंगलबार यातायात व्यवस्था विभागमार्फत सरकारलाई चाबी बुझाएका हुन् । उनीहरूले मंगलबार नयाँ बानेश्वर–तिनकुने सडक किनारमा ट्याक्सी पार्क गरेर प्लेकार्डसहित प्रदर्शन समेत गरे ।

‘रोगले होइन, भोकले मर्ने भइयो सरकार’, घरबेटीले कोठा भाडा माग्यो सरकार’, ‘कि हामीलाई गरिखान देऊ, कि हामीलाई कामको व्यवस्था गरिदेऊ’,लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो ।

लकडाउन खुकुलो भएर निजी सवारी सञ्चालन भए पनि साना र मझौला भाडाका सवारीलाई बन्देज गरिएको भन्दै ट्याक्सीचालक र व्यवसायी आन्दोलित भएका हुन् । उनीहरूले सरकारका कारण ट्याक्सी चलाउन नपाउदा घरमा खानेकुरा सकिएको, रोग, भोक र तनावले मानसिक सन्तुलन गुम्ने स्थितिमा पुगेको बताएका छन् ।

आफूहरूलाई घरभित्रै राखेर निजी सवारीसाधनलाई यात्रु ओसार्न दिएकोप्रति पनि उनीहरूले आपत्ति जनाएका छन् । रातो प्लेटका सवारीसाधनले भाडाको ट्याक्सीको सेवा दिइरहँदा समेत आफूहरूलाई निधेष गर्नु अन्याय भएको उनीहरूको गुनासो छ । ट्याक्सीचालक र व्यवसायीले सोमबारसम्मको अल्टिमेटम दिएर सवारी चलाउन पाउनुपर्ने माग गरेका छन् ।

अखिल नेपाल यातायात मजदुर संघले १५ असारसम्म माग सम्बोधन गर्न समय दिएर विभिन्न माग राखेको थियो । तर, त्यो समयमा ट्याक्सी चालकहरूको माग सुनुवाइ नभएपछि विरोधका कार्यक्रम सुरु गरिएको संघले जनाएको छ । सार्वजनिक यातायातकै तुलनामा साना र मझौला सवारीसाधनलाई प्रतिबन्ध लगाउनु गलत भएको उनीहरूको भनाइ छ ।

व्यवसायी भन्छन्, ‘सिंहदरबार लगेर ट्याक्सी बुझाउने अवस्था आउँछ’
लकडाउनका कारण तीन महिनादेखि व्यवसाय ठप्प भएपछि चालकहरूलाई खान र बस्नै समस्या

भएको काठमाडौं उपत्यका ट्याक्सी व्यवसायी संघका अध्यक्ष सानु पुर्वाछानेमगरले बताए ।
‘लकडाउन खुकुलो भइसक्यो, सडकमा निजी सवारी बाक्लो गुडेका छन्, तर निजीकै झैँ एक–दुई यात्रु लिएर हिंड्ने ट्याक्सीलाई पनि निरन्तर बन्देज गरेर पेसाबाटै विस्थापित गर्न खोजिएको छ,’ उनले भने ।

लामो समयदेखि कायम रहेको लकडाउनका कारण ट्याक्सी सञ्चालन गर्न नपाएका व्यवसायीलाई बैंकले ऋणको किस्ता तिर्न ताकेता गर्न थालेको अध्यक्ष मगरले बताए ।

निजी सवारीसाधनले भाडाका सवारीझै यात्रु ओसारे
पनि सरोकारवाला निकाय मौन बसेको चालक र व्यवसायीको आरोप छ । सरकारले आफूहरूका माग तत्काल पूरा नगरे काठमाडौं उपत्यकामा रहेका सबै ट्याक्सी सिंहदरबारमा लगेर बुझाउने अवस्था आउने व्यवसायीले चेतावनी दिएका छन् । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७