प्रधानमन्त्रीले मन्त्रीहरुलाई बोलाए बालुवाटार


१७ असार २०७७, बुधबार
PM KP Oli
बैठकमा प्रधानमन्त्री ओली

काठमाडौं, १७ असार । आफ्नै अभिव्यक्तिका कारण अप्ठ्यारोमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले अचानक मन्त्रीहरुलाई बालुवाटार बोलाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो राजनीतिक अवस्था र परामर्शका लागि मन्त्रीहरुलाई बालुवाटार बोलाएका हुन् । कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालले प्रधानमन्त्री ओलीले आफूहरुलाई आज (बुधबार) ८ बजे बालुवाटार बोलाएको जानकारी गराएका छन् ।

‘प्रधानमन्त्रीले छलफलका लागि भनेर हामीलाई बालुवाटार बोलाउनु भएको छ,’ उनले भने ।
हिजो मंगलबार पार्टीको स्थायी कमिटी बैठकमा शीर्ष नेतासहित १७ जनाले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिन माग गरेपछि बुधबार बिहान प्रधानमन्त्री ओली राजनीतिक परामर्शका लागि मन्त्रीहरुलाई बालुवाटार डाकेका हुन् ।

अढाइ बर्षदेखि सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली स्वेच्छाचारी ढंगले अघि बढ्न खोजेपछि पार्टीे सचिवालयका पाँच शीर्ष नेताहरूले स्थायी कमिटी बैठकमै उनको राजीनामा मागेका थिए ।

नौ सदस्यीय सचिवालयमा रहेका अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठसहित मंगलबार बोल्ने अन्य १२ स्थायी कमिटी सदस्यले पार्टी र सरकार दुवैबाट ओलीको राजीनामा मागेका हुन् ।

उनीहरुले दुई तिहाइको सरकार भएर पनि जनअपेक्षा अनुसार काम गर्न नसकेको र प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्ति आपतिजनक भएको बताएका थिए । उनीहरुले भारतले सरकार ढाल्न खोजीरहेको भन्ने भनाई प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्ने माग समेत गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७