नेकपा स्थायी कमिटी बैठक शुरु


१७ असार २०७७, बुधबार
Nekapa 5

काठमाडौं, १७ असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको पाँचौं दिनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ ।

मंगलबारको बैठकमा बोल्ने १८ मध्ये अधिकांश स्थायी कमिटी सदस्यले ओलीको राजीनामा माग गरेका थिए । गत आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार ढाल्न भारत लागिपरेको भन्दै त्यसमा पार्टीकै नेताहरुको भूमिका रहेको अभिव्यक्ति दिएपछि नेकपाभित्र विवादले उग्ररुप लिएको हो ।

यो विषयमा मंगलबारको बैठकमा चर्काचर्की बहस भएको थियो भने ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच भनाभन नै भएको थियो । यस्तै वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालले समेत ओलीको राजीनामा माग गरेका थिए ।

एकाएक पार्टीभित्र किचलो शुरु भएपछि ओलीले आज (बुधबार) बिहान आफू निकटका मन्त्री तथा स्थायी कमिटी सदस्यहरुहरुसँग छलफल गरेका थिए । छलफलमा उनले आफू चौतर्फ समस्यामा परेकाले आफ्नो पक्षमा बोली दिन मन्त्री र स्थायी कमिटी सदस्यहरुलाई आग्रह गरेका छन् ।

‘सहभागीहरुले कुनै पनि हालतमा पार्टी एकतालाई बचाउन्, अन्तरविरोधको समाधानका लागि पहल गर्न, इतिहास् र नेपाली जनताले दिएको जिम्मेवारीलाई पूरा गर्दै पार्टीलाई थप नयाँ जगमा अझ सुदृढ र एकताबद्ध बनाउन, विश्वाशको संकटलाई अन्त्य गरी हार्दिक र कमरेड्ली भावनाको बिकास गर्न प्रमलाई सुझाब दिनु भएको छ’, पर्यटनमन्त्री योगेश भटराईले ओलीलाई दिएको सुझावबारे जानकारी दिए । उनले भनेका छन् ‘चिज साकारत्मक दिशामा जाने आशा गरौ । प्रोक्सी वार बन्द गरौ ।’

त्यसपछि ओली र प्रचण्डबीच केहीबेर छुट्टै वार्ता भएको भए पनि छलफलबाट के निष्कर्ष निस्कियो भन्ने खुलिसकेको छैन । दुई नेताबीच भएको छलफलको विषय स्थायी समिति बैठकमा जानकारी गराइने बताइएको छ । आजको नेकपा वैठकलाई निकै महत्वका साथ हेरिएको छ ।

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयमले भारतले नभई आफूले दुवै पदबाट प्रधानमन्त्रीको राजीनामा मागेको स्पष्ट बताइसकेको अवस्थामा भइरहेको आजको वैठकले कुन मोड लिन्छ भन्ने राजनीति वृत्तमा चासो बढेको छ । आजको वैठकले विवादलाई थप बढाउँला कि सामाम्य भन्ने कुरा आम नागरिकमा चासोको विषय बनेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७