अहिले उठिरहेको समस्यालाई हल गर्दे पार्टीलाई एकताबद्ध बनाउनुपर्छ : मन्त्री भट्टराई {भिडियो}


१७ असार २०७७, बुधबार
yogesh bhattrai

काठमाडौं, १७ असार । नेकपाको स्थायी कमिटी सदस्य तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पार्टीको देखिएको समस्यलाई हल हल गर्दे पार्टीलाई एकताबद्ध बनाएर लानुपर्ने बताएका छन् ।

स्थायी कमिटिको बैठकमा आफ्नै पार्टीका शीर्ष नेताहरुले राजीनामा माग गरेपछि आज (बुधबार) विहान प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको परामर्श छलफलमा सहभागी भएका मन्त्री भट्टराईले  प्रधानमन्त्रीलाई पार्टी भित्र अविश्वासको चरम संकट हल गर्दे पार्टीलाई एकताबद्ध बनाएर लान सुझाव दिएको बताएका हुन् ।

उनले छलफलमा आफूहरुले प्रधानमन्त्रीलाई ब्लेम गेम र प्रोक्सी वारको अवस्थालाई अन्त्य गर्न सुझाव दिएको जानकारी दिए । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष ओलीले केही मन्त्री र पार्टीका स्थायी कमिटी सदस्यहरुलाई बोलाई स्थायी कमिटीमा देखिएको विवादको विषयमा छलफल गरेका थिए ।

उनले भने, ‘यो अहिले जुन पार्टीभित्र ब्लेम गेम चलिरहेको छ, प्रोक्सी वार चलिरहेको छ, यो ब्लेम गेम र प्रोक्सी वारलाई अन्त्य गर्नुपर्‍यो भन्ने सुझाव हामी सबैले राखेका छौं । घटनाक्रमहरु हेर्दा पार्टीको उच्च नेतृत्व तहमा एउटा चरम संकट, खासगरी विश्वासको संकट उत्पन्न भएको देखिन्छ ।

त्यस सन्दर्भमा हामीले भन्यौँ– यसको समाधान पनि तपाईहरुले आपसी संवाद र विमर्श बाहेक अन्यत्र खोज्न सकिँदैन । त्यसैले दुई वटा अध्यक्षको बीचमा एउटा राम्रो हार्दिक सम्बन्ध हुनुपर्‍यो । पार्टीको सचिवालयमा राम्रो सम्बन्ध हुनुपर्‍यो ।

स्थायी कमिटीको बीचमा सम्बन्ध हुनुपर्‍यो र सिङ्गो केन्द्रीय कमिटी र पार्टी पङ्क्तिमा एउटा हार्दिक भावना विकास हुनुपर्‍यो, त्यसका निम्ति पार्टी अध्यक्ष र प्रधानमन्त्रीको रुपमा तपाईँले नै ज्यादा पहलकदमी लिनुपर्‍यो भनेका छौँ ।’

उनले स्थायी कमिटीको बैठकलाई केही दिन रोकेर भए पनि सचिवालय बैठकमा छलफल गरी एउटा साझा धारणा बनाएर आउनसमेत सुझाव दिइएको बताए । उनले विभिन्न कालखण्डमा मृत्युलाई जितेर आएका नेताहरुले समस्या हल गर्न नसक्ने र विभाजनतिर जाने हो भने इतिहासले लखेट्ने भएकाले सहमति र एकतालाई सुदृढ बनाएर जान सुझाव दिइएको बताए ।

मन्त्री भट्टराईले भने, ‘यतिधेरै मृत्युलाई जितेर आउने नेताहरुले आजका यी सानातिना समस्याहरुलाई हल गर्न सकिँदैन र हामी विभाजनतिर जान्छौँ भन्ने हो भने तपाईहरुको योग्यतामाथि गम्भीर प्रश्न उठ्छ ।

तपाईहरुलाई खालि कार्यकर्ताले मात्रै प्रश्न उठाउँदैनन्, जनताले प्रश्न उठाउँछन्, इतिहासले प्रश्न उठाउँछ र तपाईहरुको मृत्युपछि पनि तपाईहरुको जीवनपछि पनि इतिहासले तपाईँहरुलाई लखेटिरहन्छ । यो कदम कुनै पनि हालतमा नेकपालाई सैह्य हुँदैन । तपाईँहरु सचेत हुनुपर्‍यो, संवाद गर्नुपर्‍यो, छलफल गर्नुपर्‍यो, समाधान निकाल्नुपर्‍यो । त्यसमा हाम्रो सहयोग चहिन्छ भने हामीलाई बोलाउनुहोस् भनेका छौँ ।’

मन्त्री भट्टराईले एकपल्ट आ–आफ्नो इतिहास पढेर समाधान निकाल्नतर्फ ध्यान दिन समेत आग्रह गरिएको बताएका छन् । उनले भने, ‘एकपल्ट नेताहरुले आफ्नो इतिहास पढ्नुप¥यो । आफैलाई बुझ्नुपर्‍यो, आफू कसरी आइयो, कुन जगबाट आइयो, कसरी सिंहदरबारमा शासन गर्न आइपुगियो, कसरी पार्टीको अध्यक्ष भइयो, वरिष्ठ नेता भइयो, त्यो एकपल्ट उहाँहरुले आफ्नो इतिहास खोतल्नुभयो भने समाधान निस्किन्छ अनि अर्काका दुःख, अर्काका पीडा पनि उहाँहरुले बुझ्नुभयो भने फेरि हामी एकै ठाउँमा हुन्छौं ।’

उनले हिजोको बैठकमा नेताहरु प्रस्तुत भए अनुसार वरिष्ठ नेताहरुको बीचमा नै आरोप–प्रत्यारोप भएको स्पष्ट भइसकेको बताए । यसले पार्टीलाई संवेदनशील बनाएकोले देशभरका कार्यकर्ताहरु स्तब्ध भएको बताए । उनले थपे, ‘हिजोको बैठकमा कार्यसूचीको अलवा अहिलेका केही ज्वलन्त विषयहरुमा छलफल भयो ।

त्यो छलफलको क्रममा मूलतः पार्टीका वरिष्ठ नेतारुको बीचमा नै पार्टीका दुई वटा अध्यक्षको बीचमा, वरिष्ठ नेताहरुको बीचमा र अरु स्थायी कमिटीका साथीहरुको बीचमा आरोप–प्रत्यारोप गर्ने काम भयो र त्यसले बैठकलाई धेरै संवेदनशील पनि बनायो र सिङ्गो देशभरका पार्टी सदस्यहरु स्तब्ध भए, नेपाली जनता स्तब्ध भए । यो अवस्थामा अव पार्टीलाई कसरी अगाडि बढाउने र हिजोको बैठकको सिन हेर्दा खेरि नेकपा एउटा निकै नै आन्तरिक हिसाबले सङ्कटमा छ भन्ने कुरा सहजरुपमा बुझिन्छ ।’

उनले सचिवालय बैठकमा छलफल गर्न र समाधान निकालेर प्रस्ताव ल्याउन सुझाव दिइएको बताए । उनले वरिष्ठ नेताहरुले तातो दिमागले नभई सबैले टाउकोमा बरफ राखेर छलफल गर्नसमेत सुझाव दिइएको बताए । उनले थपे, ‘स्थायी कमिटीको आजको बैठकमा पनि हामी छलफल गछौँ । एकपल्ट आफ्नो–आफ्नो टाउकोमा बरफ राखेर छलफललाई अगाडि बढाउनु पर्‍यो ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७