अल्पमतमा परेका प्रधानमन्त्री रणनीति बनाउँदै, प्रचण्ड-नेपाल दबाब बढाउँदै

गृहमन्त्री थापाले पनि छाडे प्रधानमन्त्रीको साथ, ओलीको अबको बाटो


१८ असार २०७७, बिहीबार
kp oli prachanda madhav
फाइल फोटो

काठमाडौं, १८ असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताहरुले शीर्ष नेताहरुमा देखिएको विवाद र असमझदारी संवादमार्फत हल हुनुपर्ने बताइरहेका बेला शीर्ष नेताहरु भने ‘वारपार’ को लडाईमा उत्रिएका छन् ।

नेकपाभित्रको आन्तरिक विवाद पेचिलो बन्दै गइरहेका बेला दुवै पक्ष आ–आफ्नै रणनीति निर्माणमा जुटेका छन् । हिजो (बुधबार) केहिबेर स्थायी कमिटी वैठक बसेर छुट्टिएका दुई पक्षमा नेता रातिसम्म आ–आफ्ना रणनीति निर्माणमा सक्रिय भएका छन् ।

झण्डै दुईतिहाइ सरकारको नेतृत्वमा रहे पनि एकाएक अल्पमतमा परेका प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली विभिन्न विकल्पको खोजीमा सक्रिय छन् अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष ओलीलाई राजीनामा गराई छाड्ने रणनीतिका साथ दबाब सिर्जनामा जुटेका छन् ।

पार्टी भित्रैबाट प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट राजीनामा माग भएपछि ओलीले आफू निकटका नेताहरुसँग परामर्श गरिरहेका छन् । हिजो (बुधबार) उनले बालुवाटारमा आफू निकट मन्त्री र नेताहरूसँग छलफल गरेका छन् ।

दिउँसो पार्टी सचिवालय सदस्य ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्यहरू सुवासचन्द्र नेम्वाङ, सत्यनारायण मण्डल, विष्णु रिमाल, छविलाल विश्वकर्मासहितका नेताहरूसँग पनि परामर्श गरेका थिए । उनले आफू चौतर्फी घेराबन्दीमा परेको बताउँदै सहयोग गर्न आग्रह गरेका थिए ।

स्थायी कमिटी बैठकमा अधिकांश सदस्यले आफ्नो राजीनामा मागेपछि ओली दबाबमा परेका छन् । पार्टी भित्रबाट प्रधानमन्त्री र अध्यक्षमध्ये एक पद छाड्न दबाब दिए पनि उनी दुवै पद नछाड्ने अडानमा हुन् ।

आफूमाथि दबाब बढ्दै जाँदा ओलीले विभिन्न विकल्पबारे तयारी गरेको नेकपाका नेताहरु बताउँछन् । संसद विघटन गर्ने, संकटकाल लगाउने वा दल विभाजन खुकुलो बनाउने अध्यादेश फेरि जारी गर्ने र संसदीय दलमा बहुमत पुर्याएर सरकार नछाड्ने विकल्प ओलीसँग छ ।

प्रधानमन्त्री ओलीले विभिन्न विकल्पबारे परामर्श गरिरहँदा प्रचण्ड–नेपाल समूहले ओलीमाथि दबाब बनाउने रणनीति लिएको छ । प्रधानमन्त्री ओली सहमतिमा नआए बहुमतका आधारमा निर्णय लिने दाहाल–नेपाल समूहको तयारी छ । यो समूहको हिजो ललितपुरमा भएको भोलाले विधानअनुसार पार्टी निर्णय मान्न प्रधानमन्त्रीलाई बाध्य बनाउने निष्कर्ष निकालेको छ । पार्टी विधानमा बहुमतको निर्णय अल्पमतले मान्नुपर्ने प्रावधान छ ।

नेकपाको सचिवालय र स्थायी कमिटीसँगै केन्द्रीय समितिमा पनि ओली अल्पमतमा छन् । सचिवालयका नौमध्ये ६ र स्थायी कमिटीका ४४ मध्ये ३० सदस्य ओलीको विपक्षमा छन् ।

स्थायी कमिटीको हिजो र अस्तिको बैठकमा अधिकांश सदस्यले ओलीको राजीनामा मागेका थिए । स्थायी कमिटी बैठक आज पनि बस्दैछ । पछिल्लोपटक प्रधानमन्त्री ओलीले भारतीय राज्य संयन्त्र र केही नेताहरू लागेको बताएपछि नेकपामा सत्ता संघर्ष चर्किएको छ ।

गृहमन्त्री थापाले पनि छाडे प्रधानमन्त्रीको साथ, ओली थप अप्ठ्यारो
प्रधानमन्त्रीलाई यसअघि पटक–पटक साथ दिंदै आएका गृहमन्त्री रामबहादुर थापाले पनि उनको साथ छोडेपछि प्रधानमन्त्री ओली झन अप्ठेरोमा परेका छन् ।

बुधबार अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठसहितका नेताहरु ललितपुरको एक होटेलमा छलफलमा बसेका थिए । सो बैठकमा गृहमन्त्री थापा उपस्थित भएर ओलीको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाएको एक नेता बताउँछन् ।

‘पार्टी बिधि र पद्धतिमा चलाउनु पर्ने भए पनि प्रधानमन्त्रीबाट त्यो भएन, सरकारलाई समाजवादउन्मुख ढंगबाट अगाडी बढाउनुपर्ने त्यो बाटोमा गएको देखिएन,’ भेलामा थापाले राखेको भनाई उद्धृत गर्दै एक नेताले भने, ‘समाजवादको बाटोमा जान सकेका छैनौं, क्रान्तिबाट ल्याएको सफलता प्रतिक्रान्तिको बाटोतिर जाने खतरा बढेको छ, त्यो प्रधानमन्त्रीकै कारण भएको हो, अब यसरी हुँदैन ।’

ओलीको अबको बाटो कता ?

 झण्डै दुई तिहाइका साथ इतिहासको सबैभन्दा शक्तिशाली प्रधानमन्त्रीको रूपमा पदबहाल गरेका केपी ओली अहिले आफ्नै दलमा पनि अल्पमतमा परेका छन् ।

सचिवालयका नौमध्ये ६ र स्थायी कमिटीका ४४ मध्ये ३० सदस्य विपक्षमा भएकाले पार्टीले ओलीलाई राजीनामाका लागि निर्देशन दिने निश्चितप्रायः भएको छ । तर, पार्टी निर्देशन शिरोपर गरेर ओलीले राजीनामा देलान् ? वा उनले विकल्पको खोजी गर्लान् ? अहिलेको सबैभन्दा पेचिलो राजनीतिक प्रश्न यही हो ।

prabhu bank add

१) पार्टी निर्देशन पालना – पार्टी र सरकार सञ्चालनको कार्यशैलीका आधारमा ओली राजनीतिक रूपमा पहिले नै कमजोर थिए, अब अंकगणितमा पनि कमजोर देखिएका छन् । पार्टी सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीमा ओली प्रस्ट अल्पमतमा छन् । त्यस्तै, संसदीय दलमा पनि उनको बहुमत प्रस्ट पुगेको छैन ।

त्यसैले उनले पार्टी निर्णय मान्नुपर्ने अवस्था सिर्जना भएको छ । ओलीले राजीनामाभन्दा अघि सहमति, आत्माआलोचना, स्पष्टीकरणको प्रयास पनि गर्न सक्छन्, तर उनले यस्ता ‘लाइफलाइन’ पहिले नै प्रयोग गरेका छन् । यसपालि विवाद थप पेचिलो भएकाले आफू पनि भूमिकामा रहनेगरी ओलीले अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपाललाई स्वीकार हुने कुनै ‘अफर’ ल्याउने सम्भावना अझै छ ।

२) मध्यावधि निर्वाचन – पार्टी निर्देशनलाई सरकार र प्रधानमन्त्रीमाथिको हस्तक्षेप भनेर ओलीले अस्वीकार गर्न सक्छन् । उनको अहिलेसम्मको सम्पूर्ण प्रयत्न त्यसैमा केन्द्रित छ । ओलीले मध्यावधि निर्वाचन गर्ने सम्भावना छ भनेर पनि राजनीतिक वृत्तमा चर्चा छ । तर, एउटा मात्र अवस्थामा संसद् विघटन हुने र नयाँ निर्वाचन हुने व्यवस्था संविधानले गरेको छ ।

प्रतिनिधिसभा निर्वाचनबाट बहुमत प्राप्त दलले सरकार बनाउनेछ, कुनै पनि दलको बहुमत नभएमा गठबन्धनको सरकार बनाउने र त्यो पनि सम्भव नभएमा ठूलो दलको नेतृत्वमा अल्पमतको सरकार बन्न सक्ने परिकल्पना संविधानले गरेको छ ।

तर, अल्पमतको सरकारले पनि ३० दिनभित्र विश्वासको मत लिन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा संसद् विघटन हुने र देश नयाँ निर्वाचनमा जाने व्यवस्था छ । यो विषयमा संविधानको धारा ७६ (७) भन्छ, ‘उपधारा (५) बमोजिम नियुक्त (ठूलो दलको) प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी ६ महिनाभित्र अर्को प्रतिनिधिसभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्नेछ ।’

तर, ओली धारा ७६ (५) अनुसार अल्पमतको होइन, बहुमत प्राप्त दलको नेताको रूपमा प्रधानमन्त्री पदमा बहाल छन् । यस्तो अवस्थामा संसद् विघटन गरेर मध्यावधिमा जाने सुविधा छैन । ‘तर पनि प्रधानमन्त्रीले यो विषयमा अनेक कानुनी परामर्श गर्नुभएको छ, तर यो बाटो पार लाग्दैन भनेर संविधानविद्हरूले उहाँलाई सल्लाह दिनुभएको छ,’ नेकपाका एक नेताले भने, ‘पार्टीका नेतालाई तर्साउन उहाँले संसद् विघटन गरिदिन्छु भन्दै आउनु भएको छ ।’

३) संकटकाल घोषणा – देशमा संकटकाल लगाउन सक्ने अधिकार सरकारलाई छ । संविधानको धारा २७३ को उपधारा १ मा भनिएको छ, ‘नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता वा कुनै भागको सुरक्षामा युद्ध, बाह्य आक्रमण, सशस्त्र विद्रोह, चरम आर्थिक विशृंखलता, प्राकृतिक विपत् वा महामारीको कारणले गम्भीर संकट उत्पन्न भएमा राष्ट्रपतिले नेपालभर वा नेपालको कुनै खास क्षेत्रमा लागू हुने गरी संकटकालीन अवस्थाको घोषणा गर्न वा आदेश जारी गर्न सक्नेछ ।’

अहिले कोरोना महामारी भएकाले सरकारले संकटकाल घोषणा गर्न सक्छ । तर, संकटकाल घोषणा गरे पनि एक महिनाभित्र संसद्मा पेस गर्नुपर्नेछ र संसद्का दुवै सदनबाट दुईतिहाइ बहुमतले पारित गर्नुपर्नेछ । त्यसपछि मात्रै तीन महिनासम्म संकटकाल लागू हुनेछ । तर, एक महिनाभित्र संसद्को दुईतिहाइ बहुमतबाट पारित गर्न प्रधानमन्त्रीलाई सहज छैन ।

४) पार्टी विभाजन गर्ने अध्यादेश – नेकपाको निर्देशन अवज्ञा गर्न उनले आफ्नो अलग दल बनाउन सक्छन् । मदन भण्डारी जन्मजयन्तीका दिन १४ असारमा निर्वाचन आयोगमा दर्ता भएको नेकपा (एमाले) ओलीको अन्तिम अस्त्र हो भन्ने पार्टी नेताहरूको विश्लेषण छ । तर, पार्टी विभाजन गरेर सांसदहरूको पद जोगाइराख्न नयाँ दलले मान्यता पाउनुपर्छ ।

त्यसका लागि पार्टी केन्द्रीय कमिटी र संसदीय दल दुवैतिर ४० प्रतिशत सदस्य पुग्नुपर्छ । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३३ को उपदफा २ मा ‘केन्द्रीय समिति र संघीय संसद्का संसदीय दलका कम्तीमा ४० प्रतिशत सदस्य’ पार्टी फुटाएर अलग्गै पार्टी दर्ता गर्न सक्ने व्यवस्था छ ।

तर, प्रधानमन्त्री ओलीसँग संसद्मा ४० प्रतिशत सांसद रहे पनि केन्द्रीय कमिटीमा त्यो संख्या पुग्दैन । त्यसैले संसद् र केन्द्रीय समिति दुवै निकायको सट्टा एउटामा ४० प्रतिशत भए पुग्ने गरी सरकारले अध्यादेश ल्याउन सक्छ ।

सरकारले समाजवादी पार्टी फुटाउन यस्तै अध्यादेश ल्याएको थियो । तर, पार्टी फुटाउने योजना असफल भएपछि अध्यादेश फिर्ता गरिएको थियो । सरकारले त्यस्तो अध्यादेश फेरि पनि ल्याउन सक्छ, तर अहिले संसद् चलिरहेको छ । राष्ट्रपतिबाट संसद् अधिवेशन अन्त्य गराएर सरकारले त्यस्तो अध्यादेश ल्याउन सक्छ ।

५) गठबन्धनको सरकार – नेकपाले विवाद व्यवस्थापन गर्न सकेन र विभाजनमा गयो भने नेपाली राजनीति फेरि एउटा भद्दा दृश्यतर्फ मुखरित हुनेछ । यसका लागि संसदीय दल, संसद्, निर्वाचन आयोग र सर्वोच्च अदालतसम्म सांसद र केन्द्रीय सदस्यले परेड खेल्ने दिन आउन पनि सक्छ ।

दुवै दलले मान्यता पाए पनि सरकार बनाउन बहुमत चाहिन्छ । त्यो अवस्थामा सत्तासमीकरणको मञ्चमा कांग्रेस मात्र होइन, अन्य दल पनि एकै पटक सान्दर्भिक हुनेछन् । त्यो वेला नेकपाका दुवै घटकले अन्य दललाई गठबन्धनमा सहभागी गराउने मात्र होइन, उनीहरूकै नेतृत्व पनि स्वीकार गर्नुपर्ने अवस्था आउन सक्छ । तेस्रो दलले प्रधानमन्त्री लिने चलन विगतमा पटक–पटक दोहोरिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७