प्रचण्डले सुवास नेम्वाङलाई भने, ‘अर्का अध्यक्षलाई पनि सम्झाउनुस्’


१८ असार २०७७, बिहीबार
prachanda

काठमाडौं, १८ असार । आज (बिहीबार) बिहान प्रचण्ड निवास खुमलटारमा बसेको नेकपा नेताहरुको बैठक सकिएको छ ।

सत्तारुढ दल नेपाल कमयुनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवाद वारपारको अवस्थामा पुगेपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही स्थायी समिति सदस्य तथा मन्त्रीहरुसँग आफ्नै निवासमा छलफल गरेका हुन् ।

नेकपा अध्यक्ष प्रचण्डले आफ्नो निवासमा छलफलमा सहभागी केपी ओली निकट नेताहरुलाई सम्झाउँदै भने– ‘हामीले जे कमजोरी ग¥यौं, भन्नु होला । अर्का अध्यक्षले के कमजोरी गर्नुभयो, त्यो पनि भन्नुहोला ।’

विहीबार बिहान प्रचण्डनिवासमा आयोजित छलफलमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेलका साथै सुवास नेम्वाङ, शंकर पोखरेल लगायतका स्थायी कमिटी सदस्यहरुको सहभागिता थियो । छलफलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमाल पनि थिए ।

छलफलका क्रममा पार्टी एकतालाई कसरी बचाएर जाने भन्नेमा छलफल भएको एक स्थायी समिति सदस्यले रातोपाटीलाई बताए । उनका अनुसार सबै सहभागीहरुले पार्टी विभाजन गर्नु दिनु हुँदैन भन्नेमा एकमत रहेको छ ।

‘विवादका विषयमा छलफल भयो । सबैको पार्टी एकता कसरी बचाउने भन्नेमा चिन्ता व्यक्त भयो । यसका लागि थप छलफल गर्न आवश्यक पनि देखियो’, छलफलपछि नेता तथा स्थायी समिति सदस्य जनार्दन शर्माले सुनाए ।

नेता हरिबोल गजुरेल पनि छलफल र सहमतिबाट पार्टीको विवादलाई हल गर्नुपर्ने सुझाव दिएको जानकारी दिए । ‘हामी सबै एउटा डुंगामा सवार छौँ । डुंगा डुब्यो भने हामी सबै डुब्छौँ,’ उनले भने, ‘छलफल र सहमतिबाट समस्या समाधान गर्नुपर्छ । पार्टी विभाजन हुन दिनु हुँदैन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७