एमालेले भन्यो, ‘निर्वाचनलाई असर पार्ने कुनै काम नहोस्’


२१ आश्विन २०७४, शनिबार
CPN UML office

काठमाडौं, असोज २१ : नेकपा एमालेले निर्वाचनलाई असर पार्ने गरी कुनै पनि काम नगर्न सरकारलाई सचेत गराएको छ । सरकारमा रहेको नेकपा माओवादी केन्द्रसँग चुनावी तालमेल र पार्टी एकता प्रक्रिया अघि बढेपछि प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेस नेताहरुको अभिब्यक्तिले गम्भीर आशंका उत्पन्न गराएको भन्दै आज बसेको एमाले स्थायी कमिटी बैठकले चुनावी सरकारले चुनावलाई असर पार्ने गरी कुनै काम नगर्न प्रधानमन्त्रीलाई सचेत गराएको हो ।

CPN UML office

‘यही सरकारले चुनाव गराउने हो, यस्मा हामीले प्रष्ट भनेका छौं, तर कांग्रेस नेताहरुको अभिब्यक्ति अत्यन्तै गैर जिम्मेवार र आपत्तिजनक छ, लोकतन्त्रप्रतिको निष्ठामाथि प्रश्न उठाउने र अधिनायकवादतर्फको यात्रा भन्दै एमाले र माओवादी सहकार्यलाई लाञ्छना लगाउने काम स्वीकार्य छैन,’ बैठकको निर्णय सार्वजनिक गर्दै एमाले सचिवालय सचिव प्रदीप ज्ञवालीले भन्नुभयो, ‘सरकारले चुनावका लागि आवश्यक सवै काम गरोस, बिभिन्न बहाना बनाएर चुनाव हुन नदिने षडयन्त्रतिर ध्यान नदेओस भन्ने हाम्रो प्रष्ट भनाई छ ।’ ज्ञवालीले सरकारबाट नेकपा माओवादीका मन्त्रीहरुलाई बर्खास्त गर्नै वा हटाउने कुरा गर्नुलाई चुनाव हुन नदिने षडयन्त्रको रुपमा आफूहरुले बझेको बताए ।

बैठकले पार्टी एकीकरणका लागि भएको चुनावी तालमेलबाट मुलुकभरका जनतामा उत्साह ल्याएको भन्दै अनावश्यक आशंका नगर्न पार्टी नेता कार्यकर्तालाई निर्देशन दिएको छ । यसैगरी बैठकले पार्टी एकीकरण र चुनावी तालमेलसम्बन्धी कामका लागि गठन गरिएको एकता संयोजन समिति, संयुक्त घोषणापत्र मस्यौदा कार्यदल र निर्वाचन क्षेत्र बाँडफाँट कार्यदललाई अनुमोदन गर्दै चाँडो काम सक्न आग्रह गरेको सचिव ज्ञवालीले जानकारी दिए ।
सचिव ज्ञवालीका अनुसार निर्वाचन क्षेत्र बाँडफाँट गर्दा संबिधानसभा निर्वाचनको प्राप्त मत र गत स्थानीय तहको निर्वाचनमा प्राप्त मत र ओजनदार नेताको अवस्था हेरी निर्णय लिन दुवै दलका अध्यक्षले दिएको निर्देशनअनुसार टुंग्याउन बैठकले आग्रह गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७