राजु सदा मृत्युको छानबिन माग गर्दै प्रदर्शनमा उत्रिएका मुसहर समुदायमाथि प्रहरीको लाठी

तीन–तीन राउन्ड हवाईफायर र अश्रुग्यास प्रहार, तीन प्रदर्शनकारी र एक प्रहरी घाइते


१९ असार २०७७, शुक्रबार
raju sada ryali2020 07 03 12 47 25

जनकपुर, १९ असार । प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचार नपाएर ज्यान गुमाएका धनुषा हंसपुर नगरपालिका–७ पर्साहीका राजु सदाको मृत्युबारे छानबिनको माग गर्दै प्रदर्शनमा उत्रिएका मुसहर समुदायमाथि प्रहरीले लाठी बर्साएको छ ।

प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले तीन–तीन राउन्ड हवाईफायर र अश्रुग्यास समेत प्रहार गरेको छ । राजु सदा र प्रहरी हिरासतमा आत्महत्या गरेका शम्भु सदाको घटना छानबिन गरी दोषीमाथि कारबाही तथा पीडित परिवारलाई राहतको माग गर्दै धनुषा, महोत्तरी, सिराहा, सप्तरी, सर्लाही र रौतहटका विभिन्न स्थानबाट आएका मुसहर समुदायका व्यक्तिले बिहीबार जनकपुरमा प्रदर्शन गरेका थिए ।

बारबिघा मैदानमा जम्मा भएका उनीहरू रामानन्द चोक, पिराडी चोक हुँदै मधेस भवनअगाडि पुगेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । मधेस भवनको मूल गेटमा पुगेका प्रदर्शनकारीमाथि प्रहरीले लाठीचार्ज गरेको थियो ।

त्यसपछि प्रदर्शनकारीले पनि प्रहरीमाथि ढुंगा प्रहार गरे । झडपका क्रममा तीन प्रदर्शनकारी र एक प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालयका एसपी रमेश बस्नेतले बताए । सामान्य घाइते भएका उनीहरूको स्थानीय अस्पतालमा उपचार गरिएको छ । स्थिति नियन्त्रण गर्न तीन राउन्ड हवाईफायर र तीन राउन्ड अश्रुग्यास प्रहार गर्नुपरेको प्रहरीले जनाएको छ ।

रोजगारीका लागि भारतको चेन्नई गएका राजु १४ जेठमा स्वदेश फर्किएर स्थानीय क्वारेन्टाइनमा बसेका थिए । त्यहाँ बसेको दश दिनपछि मात्रै कोरोना परीक्षणका लागि उनको स्वाब संकलन गरिएको थियो । यहीबीचमा झाडापखालाको समस्या भएपछि २८ जेठमा उनलाई जनकपुरस्थित प्रादेशिक अस्पतालको आइसोलेसनमा ल्याइएको थियो ।

आइसोलेसनमा राखिएको १० दिन बित्दा पनि उनको कोरोना परीक्षणको रिपोर्ट आएको थिएन । जसले गर्दा चिकित्सकहरूले उनको उपचारमा चासो देखाएनन् । अन्ततः ९ असारको बिहान उपचार नपाएर तड्पी–तड्पी उनले ज्यान गुमाए ।

छानबिन समितिलाई दिइएको समय सकियो, तर सुरु भएन छानबिन

राजु सदाको आइसोलेसनमा मृत्यु भएको भोलिपल्ट १० असारमा नै संघीय सरकारको निर्देशनमा प्रदेश सरकारले छानबिन समिति गठन गरेको थियो । प्रदेशका स्वास्थ्य निर्देशक हरिशरण साहको संयोजकत्वमा गठित तीनसदस्यीय समितिलाई सात दिनभित्र घटनाको सत्यतथ्य छानबिन गरी प्रतिवेदन तयार गर्न समय दिइएको थियो ।

तर, समितिले छानबिन सुरु नै गरेको छैन । समितिका सदस्य डा. नवलकिशोर झाले सदस्यहरूको कार्य व्यवस्थाका कारण अहिलेसम्म छानबिनसम्बन्धी कुनै काम अगाडि बढ्न नसकेको बताए ।
प्रदेशको संसदीय समितिले भने बुधबारदेखि छानबिन सुरु गरेको सांसद चमेलीदेवी दासले बताइन् । समितिका सदस्यहरूले बुधबार हंसपुर नगरपालिका–७ स्थित राजु सदाको घरमा पुगेर परिवारका सदस्यसँग घटनाबारे जानकारी लिएका छन् । नयाँ पत्रिकाक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७