मालपोतका तीन सय कर्मचारी भ्रष्टाचार मुद्दा झेल्दै


१९ असार २०७७, शुक्रबार

काठमाडौं, १९ असार । कुनै समय मालपोत कार्यालय कर्मचारीको आकर्षकको केन्द्र हुने गथ्र्यो । राजनीतिक शक्तिको प्रयोग र आर्थिक चलखेल गरेर पनि कर्मचारी त्यहाँ जान तँछाडमछाड गर्थे ।

तर, अहिले त्यही कार्यालयमा साढे चार सयभन्दा धेरै पद रिक्त छन् । हाकिमले सार्वजनिक अपिल गर्दा पनि कर्मचारीले त्यहाँ सरुवा हुन रुची देखाएका छैनन् । कारण हो, भ्रष्टाचारमा फसिने डर ।

पछिल्लो पाँच वर्षमा मालपोतमा कार्यरत तीन सयभन्दा धेरै कर्मचारीविरुद्ध भ्रष्टाचारको मुद्दा चलेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्टिङ अप्रेसनमा पक्राउ पर्नेमा मालपोतकै कर्मचारीको संख्या ठूलो छ ।

अन्य कतिपय अनियमिततामा पनि मालपोतका धेरै कर्मचारीविरुद्ध मुद्दा दायर भइरहेका छन् । तलदेखि माथिसम्म सेटिङ हुने भएकाले भ्रष्टाचारमा फसिने डरका कारण अहिले कर्मचारी मालपोतमा सरुवा हुनै चाहेका छैनन् ।

ठूलो संख्यामा कर्मचारी रिक्त भएपछि सोमबार भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक शेषनारायण पौडेलले सामाजिक सञ्जाल फेसबुकबाटै कर्मचारीलाई मालपोतमा आउन आह्वान गरेका छन् । सरुवा भई आउन चाहनेले अनलाइनमार्फत आवेदन दिन उनले आग्रह गरेका छन् । तैपनि कर्मचारीले खासै रुची देखाएका छैनन् ।

विभागका अनुसार हाल मालपोतमा चार सय ७० पद रिक्त छन् । प्रमुख मालपोत अधिकृत (उपसचिव)का ५९ मध्ये २६ पद रिक्त छन् । दुई सय ४९ दरबन्दी रहेको अधिकृत पदमा एक सय एक र नासुको सात सय ९४ मध्ये एक सय ३० पद रिक्त छन् ।

त्यस्तै, खरिदारका एक सय १०, कम्प्युटर अपरेटरको ९०, लेखा अधिकृतको १० र अन्य तीन प्राविधिक पद रिक्त छन् । यसबाहेक भ्रष्टाचारको मुद्दा चलिरहेका तीन सयभन्दा बढी कर्मचारीको पद जगेडामा राखिएको छ ।

‘कर्मचारी आउनै नचाहेर धेरै पद रिक्त भएका हुन्,’ महानिर्देशक पौडेलले भने, ‘धेरै कर्मचारीले मालपोतमा आउँदा असुरक्षित हुने महसुस गर्दा रहेछन् । त्यही भएर अन्य कार्यालयबाट मालपोतमा सरुवा हुन नचाहेको देखिन्छ ।’

पछिल्ला वर्षहरूमा मालपोतमा कार्यरत धेरै कर्मचारीविरुद्ध भ्रष्टाचारका मुद्दा चलेका कारण पनि अन्यत्रबाट कर्मचारी आउन डराएका छन् । ‘मालपोत अलि प्राविधिक र कानुनी क्षेत्रको विषय भएकाले कतिपय कर्मचारी नबुझेर पनि समस्यामा परेका छन्,’ महानिर्देशक पौडेलले भने, ‘असल नियतले काम गर्ने कर्मचारीलाई कहिल्यै समस्या हुँदैन, विभागले संरक्षण गर्छ । अब मालपोत पहिलेजस्तो छैन ।’

देशैभरिका मालपोत कार्यालयमा क्रमशः सुधारहरू भइरहेको पौडेलको भनाइ छ । कार्यालयहरूमा बिचौलियाको पूर्ण रूपमा निषेध गरिएको, अनलाइन प्रविधिको सुरुवातलगायत सुधारका कामसहित सेवालाई थप परिष्कृत गरिएको उनले बताए । मालपोतमा आउने कर्मचारीलाई निष्पक्ष तरिकाले घरपायक हुने गरी सरुवाको नीति समेत बनाइएको पौडेलले बताए ।

कार्यालय प्रमुखलाई जवाफदेही बनाउन तल्लो तहका कर्मचारीले गल्ती गरे प्रमुखलाई समेत कारबाही गर्ने परिपाटी सुरु गरिएको छ । यस्तो हुँदा हाकिमले आफ्ना कर्मचारीमाथि निगरानी बढाउँछ । दुई साताअघि मालपोत कार्यालय डिल्लीबजारका कर्मचारी पक्राउ परेकोमा कार्यालय प्रमुखलाई कारबाहीस्वरूप सरुवा गरिएको थियो ।

तीन सय कर्मचारी भ्रष्टाचार मुद्दा झेल्दै

मालपोतका तीन सयभन्दा धेरै कर्मचारी अहिले भ्रष्टाचार मुद्दामा निलम्बनमा छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका अनुसार निलम्बनमा परेका कर्मचारीको दरबन्दी जगेडामा राखिएको छ । हाल रिक्त रहेको दरबन्दी निलम्बनबाहेकको भएको महानिर्देशक पौडेलले बताए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा स्थानीय तह र शिक्षा क्षेत्रपछि सबैभन्दा धेरै भूमिसम्बन्धी उजुरी पर्ने गर्छन् । त्यस्तै, रंगेहात पक्राउ पर्नेमा पनि मालपोतका कर्मचारीको संख्या ठूलो छ । आर्थिक वर्ष ०७५–७६ मा मात्र आयोगले मालपोतका कर्मचारीविरुद्ध २५ वटा मुद्दा दायर गरेको थियो । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७