एकता पूरा नहुँदै विभाजनको संघारमा नेकपा


१९ असार २०७७, शुक्रबार
Pm Kp sharma Oli and Cm Prachand scaled

काठमाडौं, १९ असार । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकीकरण प्रक्रिया टुंगोमा नपुग्दै विभाजनको संघारमा आइपुगेको छ ।

२०७५ जेठ ३ गते पार्टी एकीकरण घोषणासभामा प्रधानमन्त्री तथा तत्कालीन एमाले अध्यक्ष केपी ओलीले नेकपा एमाले र माओवादी केन्द्र मिसिएको रुपमा नबुझ्न पार्टी नेता कार्यकर्तालाई आग्रह गरेका थिए । ‘हामी घोलिएका छौं, ओलीले भनेका थिए, ‘हिन्द महासागरमा गएर हामीले सेती, कोशी खोजेर पाइँदैन् ।’

तर पार्टी एकता भएको दुई वर्ष बित्दा पनि एकीकरण प्रक्रिया टुंगोमा पुगेको छैन नै, आन्तरिक विवाद तीव्र बनी पार्टी विभाजनको सँघारमा पुगेको छ । आन्तरिक विवाद सुल्झाएर जानेभन्दा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले आफू अनुकूल निर्णय लिँदै अघि बढेपछि अर्का अध्यक्ष पुष्पकमल दाहालले जारी स्थायी कमिटी बैठक पार्टी विभाजनको प्लेटफर्म बन्न सक्ने जनाएका छन् । उनले निकटका नेताहरुलाई त्यसका लागि तयार रहन समेत संकेत गरेका छन् ।

यसबाट पनि नेकपाभित्र आन्तरिक विवाद उत्कर्षमा पुगेको पुष्टि हुन्छ । शीर्ष नेताहरुबीच सरकार र पार्टी सञ्चालनका विषयमा बढ्दै गएको असमझदारी विभाजनतर्फ उन्मुख भएको हो ।

प्रधानमन्त्री भएपछि ओलीमा अंहकार बढेको पार्टीको निर्णय नमानेको, विधि र पद्धति अस्वीकार गरेको, सरकारप्रति जनतामा असन्तुष्टि बढेको, पार्टी र सरकारबीच समन्वय नभएको भन्दै अन्तरविरोध बढेपछि पार्टी एकता गम्भीर संकटका पुगेको हो ।

पार्टीका शीर्ष नेताहरुले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर ओलीले पार्टी फुटाउन बाटो खुला गर्न लागेको आरोप लगाएका छन् भने ओली पक्षले सरकारलाई काम गर्न नदिएर दाहाल नेपाल पार्टी फुटाउन लागेको आरोप लगाएका छन् । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७