‘सभामुख थुनिनु हुने, उ चाँहि किन छुट्नु पर्ने’ भन्दै प्रधानन्यायाधीश राणा बम्किएपछि…


प्रकाशित मिति : 3 July, 2020 9:49 am

काठमाडौं, १९ असार । ‘सभामुख थुनिन हुने, उ चाहिँ किन छुट्नुपर्ने ?’ प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणा यसो भन्दै बम्किए ।

कालोबजारीमा संलग्न एउटा मारवाडीले गर्दा जिल्ला अदालतका मुख्य न्यायाधीशदेखि अदालतका पियन, सरकारी वकिल कार्यालयका पाले र प्रहरीका सिपाहीसम्म लाभ–हानीको शिकार बन्न पुगेपछि प्रधानन्यायाधीश नै यसरी रन्किने स्थितिमा पुगेका हुन् ।

थर्मल गन कालोबजारी गर्ने व्यापारी सुलभ अग्रवाल चैत २५ गते समातिएर वैशाख १८ गते रिहा भएपछि अहिलेसम्म पनि प्रधानन्यायाधीशको चित्त बुझ्न सकेको छैन । पटक–पटक जिल्लाका न्यायाधीशहरू माझ भन्ने गर्छन्, ‘छोड्नु चाहिँ किन परेको भन्या ?’ काठमाडौं जिल्लाका मुख्य न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले २५ लाख ५० हजार धरौटीमा सुलभलाई रिहा गरेको थियो ।

जतिपटक सोधे पनि, जेसुकै भने पनि गाँजेमाजे जवाफ दिएर पन्छिन खोजेपछि असार लाग्नासाथ ब्रजेश श्रीमान् काठमाडौंबाट धनुषा धपाइएका छन् । उनको ठाउँमा धनुषाबाट राजु खतिवडालाई ल्याइएको छ । तर, यसो गर्दा अन्याय भयो, दोस्रो हैसियतका न्यायाधीश ऋषि निरौलालाई । ऋषि राजुभन्दा सिनियर ।

आफूभन्दा जुनियर न्यायाधीशलाई हाकिम मानेर काम गर्न नसकिने भन्ने गुनासोलाई व्यवस्थापन गर्दै उनी ललितपुर सरुवा भएका हुन् । त्यसमाथि चैत ११ मा लकडाउन शुरु भएको भोलिपल्टै, अर्थात् १२ गते काठमाडौंका मुख्य न्यायाधीश अम्बरराज पौडेलले उमेर हदका कारण अवकाश पाए । लकडाउन असार १ देखि खुकुलो बनाइँदा मारवाडी प्रकरणमा चित्तबुझ्दो जवाफ दिन नसकेर त्यसपछिका मुख्य न्यायाधीश लखेटिए ।

व्यापारी सुलभ अग्रवाल

काठमाडौंबाट लखेटिएका यिनै न्यायाधीश ब्रजेश ०७५ सालमा महोत्तरीमा रहँदा भने न्यायपरिषद्को २८ औँ वार्षिक दिवसका अवसरमा पुरस्कृत भएका थिए । तर, त्यहाँबाट काठमाडौं आएको छोटो समयमै दण्डस्वरुप तराईतिरै जानु परेको छ ।

कालोबजारी गर्ने मारवाडीलाई छोडेबापत एक जना न्यायाधीश त दण्डित भए । तर, केही प्रहरी चाहिँ मारवाडीबाटै खुलेआम पुरस्कृत भएका छन् ।

सुलभ छुटेको दिन दरबारमार्गका डिएसपीलाई सुलभकी पातली, हँसिली पत्नीले आफ्नै हातले रसबरी खुवाइरहेकी थिइन् । उनले महिनाको २० हजार ६ सय ८० रुपैयाँ तलब खाने सिपाहीदेखि डिएसपीसम्मका हातमा एक लाख १८ हजार रुपैयाँ पर्ने आइफोन– ११ प्रोम्याक्स थमाएकी हुन् ।

यो सिलसिला जिल्ला अदालत र सरकारी वकिलको कार्यालयमा पनि देखियो । सुलभ छुटेपछि सरकारी वकिलको कार्यालयमा मूलढोकाबाटै अत्तरको बास्ना मात्रै छरिएन, सुलभकी पत्नी भित्र छिरेपछि बयान लिने सरकारी वकिलहरू भागाभाग गर्दै थिए ।

तर, ढोके र कार्यालय सहयोगीहरूले स्वाद मानीमानी मिठाई चपाए । सरकारी वकिलहरू भाग्नुको कारण हो, सबै दृष्य सिसिटिभीले खिचिरहेको छ, सुलभपत्नी चाहिँ आइफोन दिन झोला बोकेर पुगेकी छन् । धरौटीमा २५ लाख ५० हजार तिरेका सुलभले अदालत र प्रहरीमा गरी झण्डै त्यति नै खर्च गरेको अनुमान गरिएको खबर जनआस्था साप्ताहिकले छापेको छ ।

प्रतिक्रिया दिनुहोस्