दर्के झरीको पर्वाह नगरी पोखरामा प्रधानमन्त्रीको समर्थनमा प्रदर्शन


१९ असार २०७७, शुक्रबार
8f8bd03101ed8c3fb73470542fe8056f w1000 h500 cp

पोखरा, १९ असार । दर्के झरीको समेत पर्वाह नगरी पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा प्रदर्शन भएको छ ।

पार्टीभित्रैबाट केपी शर्मा ओलीलाई संकटमा पार्ने काम भइरहेको र भारतीय चलखेलमा सरकार ढाल्न खोजिएको भन्दै पोखरा मानवअधिकार चोकमा प्रदर्शन भएको हो ।

प्रधानमन्त्री केपी ओली पक्षका उत्रिएका युवाले भारतको बिपक्षमा नारा लगाएका छन् । ‘भारतीय दलाल होशियार’ भन्दै नारा लगाएका युवाले केपी ओली जस्तो देशभक्त प्रधानमन्त्री अरु नभएको समेत बताए ।

‘पाँच वर्षीय स्थायी सरकार भनेर मतदान गरेका थियौं । बेमौसमी बाजा बजाएर ब्यक्तिगत स्वार्थ र कुर्सीका लागि अनिष्ट निम्त्याइरहेका छन्,’ प्रदर्शनमा रहेकी एक महिलाले भनिन्, ‘भारतीय दलालको पक्षमा लागेर, केपी ओलीको सरकारलाई कमजोर बनाइएको छ । भारतीय मिडियामा खुशीयाली मनाइएको छ ।’

विषम परिस्थितिमा जनताका पक्षमा लडेका नेतालाई षडयन्त्रपूर्वक हटाउन देशी–विदेशी शक्ति लागेकाले युवाहरुले स्वतस्फूर्त प्रदर्शन गरिएको उनीहरुले बताए ।

पोखरामा बिहानैदेखि परेको झरीकाबीच पनि प्रधानमन्त्री ओलीको फोटोसहितको ब्यानर लिएर ५० जनाभन्दा बढी प्रदर्शनमा उत्रिएका थिए । प्रदर्शनमा अनेरास्ववियुका विद्यार्थी र युवा बढी थिए । हिजो (बिहीबार) काठमाडौं र झापामा पनि प्रधानमन्त्री ओलीका समर्थकहरुले प्रदर्शन गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७