ओली–प्रचण्डबीच बालुवाटारमा ‘निर्णायक’ वार्ता शुरु

एक–अर्कामा दूरी बढ्ने गतिविधि नगर्न शीर्ष तीन नेतापक्षीय ११ नेताको खबरदारी


१९ असार २०७७, शुक्रबार
kp oli prachanda scaled

काठमाडौं, १९ असार । पार्टी एकतालाई नै अलपत्र पार्ने गरी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको विवाद समाधानका लागि बालुवाटारमा दुई अध्यक्षबीच निर्णायक वार्ता शुरु भएको छ ।

दोस्रो पुस्ताका नेताहरुको सक्रियतामा पार्टीभित्र देखिएको विवाद समधानका लागि नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच निर्णायक वार्ता शुरु भएको हो ।

दुई अध्यक्षबीचको शितयुद्धले पार्टी एकताका काम पूरा नहुँदै विभाजनको अवस्था आएपछि दोस्रोपुस्ताका नेताहरुले बेग्लै भेला र छलफल थायोजना गरी दुई अध्यक्षलाई वार्ताका लागि एक ठाउँमा बसाएका हुन् ।

केपी ओली, प्रचण्ड र माधव नेपाल तीनै पक्षका दोस्रो पुस्ताका ११ जना नेताहरुले शुक्रबार बिहान एकै ठाउँमा भेला भएर शीर्ष नेताहरुलाई विवाद चर्किने गतिविधिहरु नगर्न खबरदारी गर्ने निर्णय गरेका छन् ।

शुक्रबार बिहान पुल्चोकस्थित कृषिमन्त्री घनश्याम भुसालको निवासमा भएको भेलामा केपी ओली पक्षका नेताहरु विष्णु रिमाल, शंकर पोखरेल, प्रदीप ज्ञवाली समेतको सहभागिता थियो । भेलामा प्रचण्ड पक्षका टोपबहादुर रायमाझी, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत, वर्षमान पुन र मणि थापा सहभागी थिए । त्यसैगरी माधव नेपाल समुहका सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र योगेश भट्टराई सहभागी थिए ।

‘पार्टीभित्रको एकता बचाइराख्न र परिस्थिति अरु बिग्रन नदिनका लागि सबैले आ–आफ्नो समूहका शीर्षनेताहरुलाई आग्रह गर्ने निर्णय भएको छ’ भेलामा सहभागी एक नेताले भने, ‘एक अर्कामा दूरी बढ्ने गतिविधि नगर्न र कार्यकर्तालाई नउराल्न सबैले आ–आफ्ना नेताहरुसँग आग्रह गर्ने सहमति भएको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७