नेकपाभित्रको संकटमोचन गर्न दोस्रो पुस्ताका नेताले निकाले यस्तो सूत्र

निर्णायक वार्ताका लागि ओली–प्रचण्ड वालुवाटारमा


१९ असार २०७७, शुक्रबार
KP Sharma oli PM Nepal

कैलाली, १९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउन पार्टीभित्रैबाट चलखेल भइरहेको भन्दै प्रधानमन्त्रीको समर्थनमा पोखरामा प्रदर्शन भइरहेका बेला दोस्रो पुस्ताका नेताहरु भने नेकपाभित्रको संकटमोचानका लागि जुटिरहेका छन् ।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर दोस्रो पुस्ताका नेताहरु पार्टी एकतालाई बीचमै अलपत्र पार्नेतर्फ नेतृत्व लाग्न नहुने भन्दै खबरदारीसहित दुई अध्यक्षलाई समझदारीमा ल्याउने कसरतमा जुटेका हुन् ।

नेकपामा दोस्रो तहका नेताहरुको भेलाले अहिले पार्टीमा देखिएको विवाद गत मंसिर ४ र चैत २ मा भएका सहमतिमै टेकेरै सुल्झाउनु पर्ने र त्यसो गर्न सकिने निष्कर्ष निकालेका छन् ।
नेकपा नेता तथा कृषिमन्त्री घनश्याम भुसालको निवासमा आज (शुक्रबार) बिहान भएको भेलाले सो निष्कर्ष निकालेको हो ।

‘यिनै विगतका सहमतिका आधारमा अहिलेको विवाद सुल्झाउन सकिन्छ । त्यसका लागि नेताहरुलाई भन्ने, अरुलाई पनि अपिल गर्ने र स्थितिलाई पहिले जहाँको तहिं राख्ने, यसलाई अझ कुलडाउन गर्ने र विवाद सुल्झाउने सहमति भएको छ,’ मन्त्री भुसालले नेकपाभित्रको संकटमोचानको सूत्र यसरी सुनाए ।

दोस्रो पुस्ताका नेताहरुको दबावकै कारण नेकपाका दुई अध्यक्ष अहिले वालुवाटारमा निर्णायक वार्तामा बसेका छन् ।

दोस्रो पुस्ताका नेताहरुको सक्रियतामा पार्टीभित्र देखिएको विवाद समधानका लागि नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच निर्णायक वार्ता शुरु भएको हो ।

दुई अध्यक्षबीचको शितयुद्धले पार्टी एकताका काम पूरा नहुँदै विभाजनको अवस्था आएपछि दोस्रोपुस्ताका नेताहरुले बेग्लै भेला र छलफल थायोजना गरी दुई अध्यक्षलाई वार्ताका लागि एक ठाउँमा बसाएका हुन् ।

केपी ओली, प्रचण्ड र माधव नेपाल तीनै पक्षका दोस्रो पुस्ताका ११ जना नेताहरुले शुक्रबार बिहान एकै ठाउँमा भेला भएर शीर्ष नेताहरुलाई विवाद चर्किने गतिविधिहरु नगर्न खबरदारी गर्ने निर्णय गरेका छन् ।

शुक्रबार बिहान पुल्चोकस्थित कृषिमन्त्री घनश्याम भुसालको निवासमा भएको भेलामा केपी ओली पक्षका नेताहरु विष्णु रिमाल, शंकर पोखरेल, प्रदीप ज्ञवाली समेतको सहभागिता थियो । भेलामा प्रचण्ड पक्षका टोपबहादुर रायमाझी, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत, वर्षमान पुन र मणि थापा सहभागी थिए । त्यसैगरी माधव नेपाल समुहका सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र योगेश भट्टराई सहभागी थिए ।

‘पार्टीभित्रको एकता बचाइराख्न र परिस्थिति अरु बिग्रन नदिनका लागि सबैले आ–आफ्नो समूहका शीर्षनेताहरुलाई आग्रह गर्ने निर्णय भएको छ’ भेलामा सहभागी एक नेताले भने, ‘एक अर्कामा दूरी बढ्ने गतिविधि नगर्न र कार्यकर्तालाई नउराल्न सबैले आ–आफ्ना नेताहरुसँग आग्रह गर्ने सहमति भएको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७