प्रहरीका ‘मोस्ट वान्टेड’ बमजनविरुद्ध १४ वर्ष जेल सजाय माग गर्दै मुद्दा दायर


१९ असार २०७७, शुक्रबार
bomjan

काठमाडौं, १९ असार । प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका कथित लिटिल वुद्ध भनेर चिनिने रामबहादुर बमजनविरुद्ध जिल्ला अदालत सर्लाहीमा मुद्दा दायर भएको छ ।

गुरुको भेष र धर्मको आडमा अनुयायी महिलामाथि बलात्कार र मानिस बेपत्ता पारेको आरोप लागेका बमजनविरुद्ध आज (शुक्रबार) जिल्ला अदालत, सर्लाहीमा मुद्दा दायर भएको हो ।

जिल्ला सरकारी वकिलको कार्यालय सर्लाहीले बिहीबार बालबालिका सम्बन्धी ऐन, २०७६ अनुसार कारबाही गर्न माग गर्दै मुद्दा दायर गरेको हो ।

बम्जनलाई १२ वर्षदेखि १४ वर्षसम्मको कैद सजाय माग गर्दै मुद्दा दायर गरिएको सर्लाहीका जिल्ला न्यायाधिवक्ता केशवप्रसाद गौतमले जानकारी दिएका छन् । मतियार बनेको अभियोगमा ज्ञानकुमार बमजन र जेबी गुरुङलाई पनि आधा सजाय माग गरिएको छ ।

बालबालिका ऐनको यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शोषण सम्बन्धी कसुरमा मुलुकी अपराधसंहिताको करणीसम्बन्धी कसुर अनुसार कारबाही हुने व्यवस्था छ ।

बमजनलाई पक्राउ गर्न प्रहरीले दुई पटक सिन्धुलीस्थित आश्रममा छापा हाने पनि उनी उम्किन सफल भएका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रहरी उपरीक्षक (एसपी) बेलबहादुर पाण्डे नेतृत्वको टोलीले ३ असारमा बमजनको आश्रममा छापा हाने पनि प्रहरीको प्रयास असफल भयो । आश्रममा बसेकी १५ वर्षीय आनीलाई ३० साउन ०७३ मा बलात्कार गरेको आरोप बमजनमाथि लागेको छ ।

उनले धाकधम्की दिएर प्रभावमा पारी बलात्कार गरेको देखिएको जिल्ला प्रहरी कार्यालय, सर्लाहीले तयार पारेका रायसहितको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

बलात्कार सम्बन्धी कसुरमा घटना भएको एक वर्षसम्ममा उजुरी दर्ता भइसक्नु पर्छ । तर, यो घटनामा पीडित नाबालिका भएकाले १८ वर्ष पूरा भएको एक वर्षसम्म उजुरी गर्न मिल्ने व्यवस्था अनुसार कानुनी प्रक्रिया अघि बढेको हो ।

बमजन आश्रमबाट सर्लाहीकी रिता बोट, नुवाकोटकी कर्मा तामाङ, मकवानपुरकी फुलमाया रुम्बा, सुरेश आले मगर र सञ्चमान बाइला पनि बेपत्ता भएको प्रहरीमा उजुरी छ । तर, हालसम्म उनीहरुको कुनै पत्तो लागेको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७