स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै रामचन्द्र पौडेलले गरे स्थानीय तहको प्रशंसा


१९ असार २०७७, शुक्रबार
Ramchandra Poudel 11.jpg

तनहुँ, १९ असार । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना नियन्त्रणका लागि स्थानीय तहले खेलेको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । 

तनहुँ जिल्लाका विभिन्न स्थानीय तहमा रहेको आइसोलेशन कक्षका लागि आज स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै उहाँले संविधानले नै स्थानीय तहलाई अधिकार सम्पन्न बनाएकाले कोरोना नियन्त्रणका लागि स्थानीय तहले प्रभावकारी भूमिका खेलेको बताए ।

‘स्थानीय तह जनताको नजिकको सरकार हो, सङ्कटमा स्थानीय तहले खेलेको भूमिकालाई नजर अन्दाज गर्न सकिँदैन’, उनले भने । उनले आत्मबल बलियो भए कोरोनालाई सहजै जित्न सकिने भएकाले कोरोना सङ्क्रमित आत्तिन नहुने सुझाव दिए । 

फरक प्रसङ्गमा उनले भ्रष्टाचार, बेरोजगारी र पक्षपातविरुद्धमा  कांग्रेसले आन्दोलन गर्ने तयारी गरेको बताए । प्रेसले सकारात्मक भूमिका खेलेकै कारण सरकार गलत काम गर्नबाट पछाडि हटेको उल्लेख गर्दै उनले भने, ‘प्रतिपक्षी दलले भन्दा पनि सरकारलाई प्रेसले बढी खबरदारी गरिरहेको छ, अहिलेको अवस्थामा प्रेसको भूमिका पनि अतुलनीय छ ।’

सो अवसरमा उनले जिपी कोइराला श्वासप्रश्वास अस्पतालका लागि ३० थान टावेल, ३०० थान सर्जिकल मास्क, १० लिटर स्यानीटाइजर, १० थान पिपिइ, आदिकवि भानुभक्त क्याम्पसका लागि ४२ थान टावेल, ३०० थान सर्जिकल मास्क, १० लिटर स्यानीटाइजर, १० थान पिपिइ हस्तान्तरण गरेका थिए । 

यसैगरी उनले बन्दीपुर गाउँपालिकाका लागि छ थान टावेल, ३०० थान सर्जिकल मास्क, पाँच लिटर स्यानीटाइजर, पाँच थान पिपिइ, दमौली अस्पतालका लागि १२ थान टावेल, ३०० थान सर्जिकल मास्क, पाँच लिटर स्यानीटाइजर, छ थान पिपिइ, भीमाद नगरपालिकाका लागि छ थान टावेल, ३०० थान सर्जिकल मास्क, पाँच लिटर स्यानीटाइजर, पाँच थान पिपिइ, देवघाट गाउँपालिकाका लागि छ थान टावेल, ३०० थान सर्जिकल मास्क, पाँच लिटर स्यानीटाइजर, पाँच थान पिपिइ, नेपाल पत्रकार महासङ्घ तनहुँका लागि ७० थान एन ९५ मास्क, २०० थान मास्क र १७ थान स्यानीटाइजर हस्तान्तरण गरेका थिए । 

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७