नेकपा विवाद मिलाउन घनश्याम भुसालको संयोजनमा दोस्रो पुस्ताका नेताहरु सक्रिय


१९ असार २०७७, शुक्रबार
ghanashyam bhusal 3

काठमाडौं, असार १९ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी विवाद मिलाउन दोस्रो पुस्ताका नेताहरुले हस्तक्षेप बढाएका छन् । नेकपा स्थायी कमिटी सदस्य तथा कृषि मन्त्री घनश्याम भुसालको संयोजनमा दोस्रो पुस्ताका नेताहरु सक्रिय भएका हुन् ।

नेकपाको भित्रको विवाद चर्किदै गएको बेला शुक्रबार मन्त्री भुसालको पुल्चोक स्थित सरकारी निवासमा नेकपाका दोस्रो तहका ११ नेताहरुको बैठक बसेको थियो । भुसालको संयोजनमा बसेको बैठकमा तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्र दुवैतर्फका ११ जना नेताहरु सहभागी भएका थिए । छलफलले पार्टी एकताको आधारबाट पछि हट्न नहुने सुझाव दिने निचोड निकालेको छ ।

छलफलमा प्रदेश ५ का मुख्यमन्त्री एंव स्थायी समिति सदस्य शंकर पोखरेल, पर्यटन मन्त्री योगेश भट्टराई, बन मन्त्री शक्ति बस्नेत, उर्जा मन्त्री वर्षमान पुन, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार बिष्णु रिमाल सहभागी थिए । स्थायी समिति सदस्यहरू सुरेन्द्र पाण्डे, टोपबहादुर रायमाझी, जनार्दन शर्मा, र मणि थापा पनि बैठकमा थिए ।

स्थायी समिति सदस्यहरुले छलफलका निष्कर्षलाई लिएर दुई अध्यक्षसँग छलफल गर्ने जिम्मेवारी कृषि मन्त्री एवम् स्थायी समिति सदस्य घनाश्याम भुसाललाई दिएका छन् । २०७५ जेठ ३ मा तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता घोषणा हुनुअघि पाँच बुँदे सहमति भएको थियो। उक्त सहमतिको चौथो बुँदामा ‘समानता र समान अवधिका आधारमा आवश्यकताअनुरूप दुबै अध्यक्षले सरकारको नेतृत्व गर्ने’ उल्लेख थियो । छलफलले सो सहमतिबाट पछि नहट्न सुझाव दिएको हो ।

नेकपा स्थायी कमिटि बैठक जारी छ । जारी बैठकमा बहुसंख्यक स्थायी कमिटि सदस्यहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री र अध्यक्ष पदबाट राजिनामा दिन सुझाव दिएका छन् । स्थायी कमिटि सदस्य सहित अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्धय माधव नेपाल र झलनाथ खनाल उपाध्यक्ष वामदेव गौतम, नारायणकाजी श्रेष्ठ सहितका नेताहरुले पनि राजिनामा मागेपछि नेकपा विवाद गम्भिर मोडमा पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७