काठमाडौंमै कोरोना संक्रमितको मृत्यु, ठूलो दुर्घटना निम्तिन सक्ने चिकित्सकको चेतावनी


२० असार २०७७, शनिबार
korona death

काठमाडौं, २० असार । कोरोना भाइरसको संक्रमणबाट काठमाडौं उपत्यकामा शुक्रबार एक वृद्धको मृत्यु भएको छ । काठमाडौंमा दैनिक संक्रमित बढ्न थालेपछि चिकित्सकहरूले दुर्घटना निम्तिन सक्ने चेतावनी दिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १७ असार राति अस्पताल भर्ना भएका नयाँ बानेश्वरका ८५ वर्षीय वृद्धको शुक्रबार मृत्यु भएको हो । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या मुलुकभर ३२ पुगेको छ । काठमाडौंमा कोरोना संक्रमणबाट मृत्यु भएको यो पहिलो हो । पार्किन्सन्स रोगबाट पीडित उनी मन्डिखाटारस्थित ह्याम्स अस्पतालमा उपचाररत थिए ।

चिकित्सकहरूले काठमाडौं उपत्यका कोरोनाको उच्च जोखिममा परेको बताएका छन् । सरकारले ‘ट्राभलकार्ड’को व्यवस्था नगरे ठूलो दुर्घटनामा परिने शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका कोभिड चिकित्सक डा. अनुप बाँस्तोलाले बताए ।

‘संक्रमितबारे सबैले जानकारी पाउने कार्ड आवश्यक परेको छ । बाहिर खुला रूपमा हिंडेका कारण उनीहरूलाई सबैले चिन्न सक्ने कार्ड लगाइदिनुपर्छ,’ डा. बाँस्तोलाले भने, ‘१४ दिनसम्म रातो कार्ड, त्यसपछि हरियो कार्ड दिनुपर्छ ।’

चिकित्सकहरूका अनुसार ९८ प्रतिशत संक्रमितमा कोरोना हुने लक्षण देखिएको छैन भने दुई प्रतिशतमा मात्रै लक्षण देखिएको छ । ‘यस्तो अवस्थामा रोगग्रस्त क्षेत्रबाट आएकाहरूको जाँच कसरी भयो, उनीहरू घरमा बसे कि बसेनन् भनेर कसले हेरेको छ ?’ डा. बाँस्तोलाले भने । उनका अनुसार लक्षण नदेखिएका, तर संक्रमित व्यक्ति घर जान्छु भनेर झगडा गर्न थालेका छन् ।

त्यस्तै, लक्षण छैन भनेर प्रभावित स्थानबाट आएका व्यक्तिहरू पनि निर्वाध रूपमा बाहिर हिँडिरहेका छन् । डा. बाँस्तालेका अनुसार काठमाडौं उपत्यकामा भौतिक दूरी पनि कायम भएको देखिएको छैन । ‘टाइमकार्डको प्रयोग नगरे ठूलो दुर्घटनामा पर्छौ,’ डा. बाँस्तोलले भने, ‘सहरी क्षेत्र मात्रै होइन, अहिलेको अवस्थाले मुलुक ठूलो जोखिममा पर्ने देखिएको छ ।’

स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार देशभर सात सय ४० नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या १५ हजार दुई सय ५९ पुगेको छ । त्यस्तै, आठ सय २३ जना निको भएका छन् । शुक्रबार भने उपत्यकामा नमुना परीक्षण नगरिँदा संक्रमितको संख्या थपिएको छैन । गत तीन दिनमा भने लगातार संक्रमितको संख्या थपिएको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार १४, बुधबार १७ र बिहीबार ३१ जना संक्रमित थपिएका थिए । जसमा मंगलबार काठमाडौंमा १२, भक्तपुर र ललितपुरमा एक–एक, बुधबार काठमाडौंमा १०, भक्तपुरमा दुई र ललितपुरमा पाँच तथा बिहीबार काठमाडौंमा २८, भक्तपुरमा दुई र ललितपुरमा एक संक्रमित थपिएका थिए ।

परीक्षणको दायर घट्दै

केही दिनयता संक्रमित पत्ता लगाउने पिसिआर परीक्षणको दायरा भने घट्दै गएको छ । दैनिक परीक्षण बढ्नुपर्नेमा क्रमशः घट्न थालेको छ । दुई साताअघि दैनिक सात हजारको हाराहारीमा परीक्षण हुँदै आएको थियो, तर अहिले भने दैनिक औसत साढे चार हजारमा झरेको छ ।

गत २४ घन्टामा पनि देशभर चार हजार चार सय ८३ नमुना परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ । तर, अहिले देशभरका क्वारेन्टाइनमा ३० हजारजना बसिरहेका छन् । उनीहरूको परीक्षण गर्न बाँकी छ ।

स्वास्थ्य मन्त्रालयले दैनिक १० हजार परीक्षण गर्ने योजना अघि सारेको थियो । त्यसअनुसार परीक्षणको दायरा बढाउन नसकेको भन्दै पटक–पटक राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला प्रमुख डा. रुणा झालाई मन्त्रालयको बैठकमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालका स्वास्थ्य सल्लाहकारलगायतको सल्लाहकार टिमले दैनिक प्रश्न गर्दै आएको थियो ।

केन्द्रीय प्रयोगशालाले सीमित कर्मचारीमा पनि दैनिक एक हजार दुई सयभन्दा बढी नमुना परीक्षण गर्दै आएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरू बताउँछन् । तर, केन्द्रीय प्रयोगशालाबाहेकका प्रयोगशालाले परीक्षण दायरा नबढाएपछि दैनिक १० हजार परीक्षण गर्ने योजना असफल भएको स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीहरू बताउँछन् । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७