ओली दुवै पद नछाड्ने, प्रचण्ड–नेपाल अर्को रणनीतिमा

मन त माझियो तर, कुरा बाझिएरै रह्यो


२० असार २०७७, शनिबार
kp oli prachanda madhav
फाइल फोटो

काठमाडौं, २० असार । शीर्ष नेताहरूको कटुतासँगै नेकपाका कार्यकर्तामाझ एउटा चिन्ता गढेको छ– कतै एकता भत्किने त होइन ? नेकपा फेरि फुट्ने त होइन ? मेलमिलापको अपेक्षासहित दुई अध्यक्ष एक–एक विश्वासपात्रसहित शुक्रबार तीन घण्टा बसे ।

जति बसाइ लम्बिँदै गयो, शुभेच्छुकको आशा बढ्दै गयो । तर, छुटुन्जेलमा मन त माझियो । कुरा बाझिएरै रह्यो । ‘दुई अध्यक्षबीच खुलेरै कुराकानी भएको छ’, अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको छलफलमा सँगै रहेका स्थायी समिति सदस्य जनार्दन शर्माले भने, ‘तर, विषयवस्तुमा ठोस सहमति भएको छैन । अर्को राउन्ड फेरि छलफल हुने भएको छ ।’

छलफलमा महासचिव विष्णु पौडेल पनि थिए । उनले पनि सञ्चारमाध्यमलाई ओली र दाहालबीच खुलस्त कुराकानी भएको र आफूलाई लागेका कुराहरू दुवै अध्यक्षले राखेको जानकारी गराएका थिए । ‘सम्बन्ध नट गुड, नट ब्याड (न राम्रो, न खराब) भयो’, बैठकको उपलब्धिबारे बालुवाटार स्रोतले भन्यो ।

ओलीसँगको बालुवाटार छलफलबारे दाहालले आफ्नो निवासमा वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री रामबहादुर थापालाई बोलाएर शुक्रबार साँझ जानकारी गराएका छन् ।

त्यहाँ सहभागी एक सचिवालय सदस्यका अनुसार, ओली शुक्रबारको छलफलमा पनि आफ्नो अडानमा यथावत् छन् । वरिष्ठ नेता खनालले भने, ‘दुई अध्यक्षबीच बालुवाटारमा भएको छलफल हामीलाई प्रचण्ड कमरेडले बिफ्रिड गर्नुभयो । कुरा मिलेनछ । अडानमै उहाँ (प्रधानमन्त्री) देखिनु भएको छ । अब स्थायी समितिबाटै कोर्स अगाडि बढ्छ ।’

अर्का एक सचिवालय सदस्यका अनुसार, दाहाल बालुवाटार पुगेपछि भएको छलफलको प्रारम्भमै ओलीले आफ्नो पुरानै अडान दोहोर्‍याउँदै भनेका थिए, ‘पार्टी अध्यक्ष र प्रधानमन्त्रीको विषयमा कुरा गर्न आउनु भएको भए त्यो कुरै नगरौं, त्यो च्याप्टर क्लोज भयो । त्यो कुनै सम्भावनै छैन, अरू केही कुरा छन् भने गरौं ।’

दाहालले पार्टीभित्र उठेका विषयमा छलफल नगर्ने भन्न नसुहाउने भन्दै एकता जोगाई राख्नुपर्ने र पार्टीको निर्णयलाई सबैले मानेर जाने गरी अगाडि बढ्नुपर्ने आग्रह गरेका थिए । त्यसपछि ओलीले दाहालसँग भने, ‘पार्टी एकता सकेसम्म गर्ने हो । तर पार्टी अहिले फुटे बराबर छ । तपाईंले भोलि कारबाही गर्नुस्, त्यसपछि म अर्काे पार्टी बनाउँछु ।’

त्यति मात्र होइन, दाहाललाई ओलीले शुक्रबारको छलफलमा वरिष्ठ नेता माधव नेपाल वा आफ्नो टिममध्ये कुनमा बस्ने रोज्नसमेत आग्रह गरेका थिए । ‘उहाँ (प्रधानमन्त्री) ले पार्टी एकता कायम गर्ने हो भने अध्यक्ष र प्रधानमन्त्रीको कुरा भएन, अर्काे एउटा पनि निर्णय गर्नुहोस् तपाईंले मेरो टिममा बस्ने हो कि माधव नेपालको टिममा बस्ने हो ? फैसला गर्नुहोससम्म मलाई भन्नु भयो’, ओलीले आफूलाई राखेको प्रस्ताव सुनाउँदै दाहालले ब्रिफिङमा भने ।

दाहालले भने पार्टीको निर्णयलाई मानेर जानुपर्नेमै ओलीलाई जोडबल गरेका थिए । ‘एकीकृत पार्टी भइसकेपछि कहाँ त्यस्तो हुन्छ ? तपाईं (प्रधानमन्त्री) ले त्यागको कुनै भावना नै देखाउनु भएन, यस्तो पनि हुन्छ ? ’ दाहालको यस्तो प्रश्नपछि ओलीले भने, ‘मैले गल्ती गर्दिनँ ।’

दुई अध्यक्षबीचको छलफलमा कुरा नमिलेपछि महासचिव विष्णु पौडेल र नेता जनार्दन शर्माले फेरि पनि छलफल गर्ने र अविश्वास हटाउने विषयमा जानुपर्ने मत राखेका थिए । त्यसपछि भने ओलीले शनिबारको पार्टी स्थायी समिति बैठक अगाडि पुनः एक पटक बस्ने र छलफल गरेर हेरौं भन्दै दाहाललाई बिदाइ गरेका थिए ।

दाहाल–नेपाल पक्षले शनिबार ओलीसँग दाहालले गर्ने छलफल पनि सकारात्मक नदेखिए पुनः सचिवालयका नेताहरूको बैठक बसेर कसरी जाने भन्ने प्रक्रिया टुंगो लगाउने भएका छन् । ‘अब उहाँहरूबीचको शनिबार हुने छलफल हेरौं ।

त्यहाँ पनि प्रधानमन्त्री टसमस नभई आउनु भयो भने हामी स्थायी समिति बैठक अगाडि सचिवालयका साथीहरू बस्छौं । त्यसपछि स्थायी समिति बैठकमा केन्द्रीय समिति बैठक बोलाउने गरी निर्णय गरेर जान्छौं, त्यही दिशामा हाम्रो छलफल छ,’ ती सचिवालय सदस्यले भने ।

दाहालसँगको छलफलमा ओलीले ४ मंसिर २०७६ मा दुई अध्यक्षबीच भएको अधिकार बाँडफाँटको सहमतिलाई थप व्याख्या स्थायी समितिबाट गरेर जान भने आफू तयार रहेको बताएका थिए । तर दाहालले परिस्थिति त्यसभन्दा धेरै अगाडि गएकोले विगतका सहमति, सम्झौतामा मात्र अब नअड्किने धारणा राखेका थिए । तर त्यसमा ओली सहमत देखिएका छैनन् ।

२ जेठ २०७५ मा ओली र दाहालबीच भएको लिखित पाँचबुँदे सम्झौतामा अढाई वर्षपछि आलोपालो सरकारको नेतृत्व गर्ने उल्लेख भएको विषयमा विवाद बढेपछि विवाद मिलाउन २०७६ मंसिर ४ मा अर्काे समझदारी भएको थियो । त्यसमा दाहाललाई दल र ओलीलाई पाँच वर्ष नै सरकार सञ्चालन गर्न दिने सहमति भएको थियो । तर पनि नेकपाभित्र ओली दाहाल संघर्ष रोकिएन । त्यो अहिले बढेर उत्र्कषमा पुगेको छ ।

पार्टी विवाद उत्कर्षमा पुगेपछि शुक्रबार एक दिनका लागि स्थायी समिति रोकेर नेताहरू सहमतिको मिलनबिन्दु खोजीमा जुटेका थिए । दुई अध्यक्ष मात्र होइन, दोस्रो पुस्ताका नेताहरू पनि शुक्रबार दिनभर एकअर्काे पक्षबीच छरिएर समेत ‘साइडलाइन’ छलफलमा बसेका थिए ।

पार्टीभित्र देखा परेको विवादलाई पूर्णविराम लगाउने उपायको खोजीमा शुक्रबार दोस्रो पुस्ताका नेताहरू ताते पनि उनीहरूले पनि सहमति फेला पार्न सकेका छैनन् । अध्यक्षकै तहमा चर्काे असमझदारीपछि करिब एकतामै ब्रेक लाग्ने देखेपछि एकता भत्काउन नदिन दोस्रो तहका नेताहरू जुर्मुराएका थिए । शुक्रबार बिहान कृषिमन्त्री तथा स्थायी समिति सदस्य घनश्याम भुसालको पुल्चोकस्थित निवासमा ओली, दाहाल र वरिष्ठ नेता नेपाल तीनै पक्षका नेताहरू जुटेर छलफल गरेका थिए ।

छलफलमा भुसाल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, विष्णु रिमाल, मणि थापा, जनार्दन शर्मा, टोपबहादुर रायमाझी, वर्षमान पुन, शक्ति बस्नेतलगायत सहभागी थिए ।
पार्टीका दुवै अध्यक्षलाई भेट गरी २ जेठ २०७५ को पाँचबुँदे सहमति र २०७६ मंसिर ४ को दुई अध्यक्षबीचको कार्य विभाजनकै आधारमा टेकेर कुनै न कुनै मिलन बिन्दु खोजी गर्न दबाब दिने निष्कर्ष ती नेताहरूले निकालेका थिए ।

मिलनबिन्दु पत्ता नलाग्दा ओलीले पनि बालुवाटारमा आफू निकट नेताहरूसँग छलफल जारी राखेका थिए । माधव नेपालले पनि स्थायी समिति सदस्य वेदुराम भुसाल, भीम रावललगायतसँग आफ्नै निवास कोटेश्वरमा भेट गरेका थिए ।

उता राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपाभित्रको विवादमा चासो देखाउँदै नेताहरूलाई सहमतिका लागि आग्रह गरिरहेकी छन् । उनले शुक्रबार बिहान उपाध्यक्ष वामदेव गौतमसँग भेट गरी छलफल गरेकी थिइन् ।

त्यस्तै, नेकपाका युवा केन्द्रीय सदस्यले केन्द्रीय कार्यालयमा पार्टी विवादमा उपयुक्त विकल्पसहित समाधान खोज्न माग गर्दै धर्ना दिएका थिए । नेताहरू जगन्नाथ खतिवडा, डा. विजय पौडेल, ठाकुर गैरे, हिमाल शर्मा, रामकुमारी झाँक्री, दिलुकमारी पन्तलगायत नेताले पार्टीलाई विभाजनबाट रोक्नुपर्ने, विधि प्रक्रियाबाट समाधान निकाल्नुपर्ने भन्दै दिउँसो तीन घण्टा धर्ना दिएका थिए । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७