बझाङको केदारस्युँमा पहिरो : १७ घर बगायो, कम्तिमा सात जना बेपत्ता


२० असार २०७७, शनिबार
pahiro kushma

बझाङ, २० असार । बझाङको केदारस्युँ गाउँपालिकामा पहिरो जाँदा डेढ दर्जन घर बगाएको छ । केदारस्युँ गाउँपालिका–८ मल्लेसीमा गए राति पहिरो जाँदा घरहरु बगाएको हो ।

पहिरोले डेढ दर्जन घर पुरिएको र मानिस समेत वेपत्ता भएको जानकारी आए पनि बाँकी क्षतिको विवरण प्राप्त भईनसकेको बझाङका प्रहरी प्रमुख डिएसपी गणेशबहादुर बमले जानकारी दिएका छन् ।

स्थानीयबासीले भने १७ घर पहिरोले बगाएको र कम्तिमा सात जना बेपत्ता भएका जानकारी दिएका छन् । ‘ठूलो धनजनको क्षति भएको कुरा आएको छ, हाम्रो टोली घटनास्थलमा जाँदैछ । टोली पुगेपछि मात्र यथार्थ जानकारी आउँला’, डिएसपी बमले भने ।

घटनास्थल सदरमुकामबाट झण्डै पाँच घण्टा टाढा पैदल दूरीमा रहेको पनि डिएसपी बमले बताए । ‘स्थानीय जिउनीगाड नदीले सडक बगाएकाले घटनास्थलमा पुग्नै समस्या छ,’ उनले थपे, ‘नेपाल प्रहरी, सशस्त्र प्रहरी, र नेपाली सेना घटनास्थलतिर जाँदै छन् ।’

स्थानीय लोकेन्द्र विकले पनि अबिरल वर्षासँगै गाउँ माथिबाट आएको पहिरोले १७ घर बगाएको र सात जना जति बेपत्ता भएको जानकारी दिएका छन् ।

केदारस्युँ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनराज जोशीले सिङ्गो वस्ती नै पहिरोको चपेटामा रहेको बताएका छन् । उनका अनुसार त्यहाँको एउटा पावरहाउस पनि पहिरोले पुरिएको छ ।

घटनास्थल पुग्न जयपृथ्वी राजमार्गअन्तर्गत झोता भन्ने स्थानबाट करिब चार–पाँच घण्टा माथि उक्लिनुपर्छ । त्यहाँसम्म पुग्न हालै शाखा सडक बनाइएको थियो । सो सडक पनि पहिरोले बगाएको बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७