काठमाडौं उपत्यकाको ढलमा पनि कोरोना भाइरस : अध्ययन्


२० असार २०७७, शनिबार
dhal

काठमाडौं, २० असार । काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमित थपिने क्रम बढिरहेका बेला उपत्यकाका ढलमा समेत कोभिड–१९ को भाइरस फेला परेको छ ।

सेन्टर फर मलिकुलर डायनामिक्स (सिएमडिएन) नेपालले गरेको ‘इन्भाइरोमेन्टल सर्भिलेन्स अफ सार्स–२’ प्रारम्भिक अध्ययनले यस्तो तथ्य फेला पारेको हो । उपत्यकाभित्रका चार ठाउँका ढलको नमुना परीक्षण गर्दा दुई ठाउँमा कोभिड–१९ को भाइरस फेला परेको जनाइएको छ । 

अध्ययनका लागि काठमाडौं उपत्यकाको मुख्य शहरका चार ठाउँको ढलको नमुना संकलन गरिएको थियो । उक्त अध्ययनले उपत्यकामा समुदायमा संक्रमण भित्रभित्रै फैलिएको देखाएको अध्ययनका लिड साइन्टिस्ट डाक्टर दिवेश कर्माचार्यले जानकारी दिएका छन् ।

अन्य देशका अध्ययनहरुले कोरोना संक्रमित मानिसको दिसामा पनि कोभिड–१९ गराउने सार्स २ भाइरस हुन्छ भन्ने तथ्य फेला पारेको उनले बताएका छन् । जस अनुसार केही देशमा यस्ता अध्ययनहरु भइसकेका छन् । नेपालमा पनि सोही आधारमा अध्ययन गरिएको उनले जानकारी दिए ।

‘नेपालमा पनि संक्रमणको दर बढ्दै जाँदा हामीले ढलको स्याम्पल ल्याएर अनुसन्धान गर्‍यौं, जसबाट चार ठाउँमध्ये दुई ठाउँमा कोभिड १९ को भाइरस रहेको फेला पायौं,’ डाक्टर कर्मचार्यले भने ।

‘कुनै एक जना व्यक्तिको दिसा ल्याएर परीक्षण गरिएको होइन्, पूरै वस्तीको ढलको नमूना ल्याइएको हो, पूरै वस्तीका मानिसमध्ये जसलाई पनि (धेरैलाई, तर सबैलाई होइन)संक्रमण हुन सक्छ’, उनले भने ।

ko 1

यो अध्ययनले समुदायमा संक्रमण फैलिइसकेको र परीक्षणको दायरा नपुगेको देखाउने डाक्टर कर्मचार्य बताउँछन् । यसरी अध्ययन गर्दा संक्रमण फैलिइएको क्षेत्रको पहिचान हुने उनी बताउँछन् । जसको कारण समुदायमा संक्रमण पत्ता लगाउन परीक्षण गर्दा किटहरु समेत बचत हुनेछ ।

उनको अनुसार यो अध्ययनलाई आधार मानेर ढलमा संक्रमण देखिएको क्षेत्रको मानिसमध्येबाट जोखिम समूह छ्ट्याएर परीक्षण गर्न सकिन्छ । त्यो गर्दा उपत्यकाका सबै ठाउँका सबै मानिसको परीक्षण गर्न जरुरी हुँदैन ।

‘यस्तो अध्ययनले संक्रमण फैलिएको क्षेत्र थाहा भइहाल्छ, त्यो थाहा पाएपछि पहिला दीर्घरोगी, वृद्धहरु र जोखिम समूहका मानिसलाई प्राथमिकता दिएर परीक्षण गर्न सकिन्छ,’ उनले भने, ‘यसो गर्दा राज्यको धेरै किट, जनशक्ति, स्रोत र खर्च बच्छ ।’

प्रारम्भिक अनुसन्धानमा नै यस्तो तथ्य फेला परेपछि नतिजा सार्वजनिक गरिएको उनले बताए । ‘हामी अझै धेरै ठाउँको ढलको नमुना परीक्षण गरेर विस्तृत अध्ययन गर्छौं,’ उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७