‘वाम तालमेलमा व्यक्तिगत स्वार्थ नभए जनतालाई लाभ’


२१ आश्विन २०७४, शनिबार

काठमाडौँ : “विश्वका मजदुरहरु एक हौँ ।” प्राय : कम्युनिष्ट पार्टीका ब्यानर र प्रकाशनहरुमा नछुट्ने नारा हो । व्यवहारमा भने नेपाली कम्युनिष्ट पार्टीहरुले विभाजन र आरोप प्रत्यारोपमै समय बिताउँदै आएका छन् ।

cpn uml moist

आशन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा दुई ठूला वामपन्थी दलहरु नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सहितको तालमेल र निर्वाचनपछि एकता गर्ने घोषणाले राजनीतिमा नयाँ तरङ्ग पैदा भएको छ । यो तालमेलले लोकतान्त्रिक दलहरुमा पनि ध्रुवीकरणको पहल शुरु भएको छ भने साना दलहरु कुनै न कुनै गठबन्धनमा जानैपर्ने निचोडमा पुगेका छन् ।

कम्युनिष्ट पार्टीका नाममा स्थापना भएका फरक फरक दल वा शक्तिले मजदुर वर्गको उत्थान र वैज्ञानिक समाजवादको लक्ष्यलाई केन्द्रित गर्दै आएपनि उनीहरु लक्ष्य पूर्तिमा सफल हुन सकेका छैनन् । संसदीय राजनीतिमा उनीहरुले पाएको जनमत जोड्ने हो भने सहज बहुमत सरहको भएपनि कार्यनीतिक, वैचारिक वा व्यक्तिगत टकरावका कारण फरक फरक वामपन्थी पार्टी स्थापित भएकाले उनीहरु लोकतान्त्रिक शक्तिको सहारा लिन विवश भएको अनुभूतिसहित एमाले, माओवादी केन्द्र र नयाँ शक्ति नेपालबीच यही १७ गते तालमेल र एकतासम्बन्धी सहमति सार्वजनिक भएको थियो ।

मुलुकको समृद्धि र समाजतर्फको यात्राको लक्ष्यसहित घोषणा भएको सो सहमतिलाई वामपन्थी बुद्धिजीवी एवं केही प्राज्ञहरुले सकारात्मकरुपमा लिएका छन् । नेपालमा विसं. २००६ साल वैशाख ९ गते पुष्पलालको नेतृत्वमा कम्युनिष्ट पार्टी स्थापना भएपनि पछि विभिन्न समूहमा विभाजन भएको थियो ।

बरिष्ठ पत्रकार एवं छलफल साप्ताहिकका प्रधानसम्पादक गोपाल थपलिया भन्छन्, “जनतालाई सुख, समृद्धि र प्रगतिको बाटोमा लानका लागि हामी पनि कम्युनिष्ट भएका हौँ । जनताको सेवा नै कम्युनिष्टको गन्तव्य हो । त्यस अर्थमा वाम एकताको प्रयास महत्वपूर्ण कदम हो ।”

उनले एकताको नाममा आफ्नो स्वार्थ पूर्ति हुने र जनतालाई दुःख दिने काम भएमा जनतालाई पुनः धोका हुने भएकाले विगतको बलिदानलाई कदर गर्दै त्यागको भावना देखाउन सकेमा यो एकता दीगो भएर जाने बताए ।

प्रगतिशील लेखक संघका अध्यक्ष मातृका पोखरेल चुनावी तालमेल एकताको घोषणाले खुशी तुल्याएको बताउँछन् । “झट्ट सुन्दा एकाएक एकतामा सहमति भएको मानिए पनि यो एक वर्षअघि देखिकै प्रयास हो, जुन सकारात्मक छ ” उनले भने ।

एमालेले जनताको बहुदलीय जनवादका आधारित शान्तिपूर्ण राजनीतिको बाटोबाट समाजको रुपान्तरणको सिद्धान्त अँगालेको छ भने माओवादी केन्द्रले माओवाद अनुसार सशस्त्र संघर्ष हुँदै शान्तिवार्ता हुँदै संसदीय राजनीतिमा अवतरण गरेको छ । दूवै दल अन्ततः आपसी बहशबाट क्रान्तिको सिद्धान्तलाई नेपाली मौलिकताअनुसार विकास गर्दै जान सहमत भएका छन् ।

कतिपयले भने यो तालमेल एकतालाई केवल चुनाव जित्ने, सत्तामा जाने र आफ्नो दूनो सोझ्याउने अर्थमा पनि लिएका छन् । माओवादीबाटै फुटेर गएका र हाल निर्वाचनमा नआउने तयारी गरेका कम्युनिष्ट दलले आफूहरु सच्चा र क्रान्तिकारी कम्युनिष्ट पार्टी भएको दाबी गर्दै आएका छन् ।

साहित्यकार विमल निभा वैचारिक समानता भएकाले यी दल एक हुनु कुनै आश्चर्य नभएको बताउँछन् । “जनताको सेवाका लागि एक्लै भन्दा जुटेर लाग्दा सकारात्मक प्रभाव पर्छ भविष्यको किटानी भने अहिल्यै गर्नु तर्कसंगत हुँदैन ।” स्तम्भकार निभाले भने ।

रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७