गोरखाका कोरोना संक्रमितको शव व्यवस्थापनमा स्थानीयको अवरोध

कतारमा बिरामी परे, नेपाल फर्केको तीन दिनमै संसारबाटै विदा भए


२० असार २०७७, शनिबार
korona

गोरखा, २० असार । कोरोना भाइरस संक्रमणका कारण आज (शनिबार) गोरखामा मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा स्थानीयले अवरोध गरेका छन् ।

गोरखा नगरपालिका–१२ र शहीद लखन गाउँपालिका–१ वक्राङको सीमामा पर्ने लुदी दोभानमा शव व्यवस्थापन गर्ने सूचना पाएका स्थानीय भेला भएर विरोध गरेका हुन् ।

जिल्ला सुरक्षा समितिको बैठकले लुदी र दरौंदीको संगमस्थलमा शव व्यवस्थापन पर्ने निर्णय गरेको थियो । लुदी दोभानमा शव व्यवस्थापन गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख एसपी सुरेन्द गुरुङले जानकारी दिएका छन् ।

केही स्थानीय भेला भएर विरोध गरेपछि प्रहरी टोली परिचालन गरी सम्झाउने कोशिस भइरहेको छ । प्रहरी निरीक्षकको कमाण्डमा जनपथ र सशस्त्र प्रहरी परिचालन गरिएको उनले बताएका छन् ।

पालुङटार घर भएका व्यक्तिको शव लुदी दोभानमा गाड्न उपयुक्त नरहेको भन्दै स्थानीयवासीले विरोधमा उत्रिएका हुन् । यता प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले भने बस्ती नभएको ठाउँमा शव व्यवस्थापन गर्न लागिएकाले विरोध गर्नुपर्ने आवश्यकता नभएको बताएका छन् ।

‘केही स्थानीय भेला भएका छन्, उनीहरुलाई सम्झाउँदै छौँ,’ उनले भने । गोरखा नगरपालिका र शहीद लखन गाउँपालिकाका प्रमुखलाई पनि शव व्यवस्थापनको बारे छलफल गरिएको प्रजिअ पौडेलको भनाइ छ । कतारबाट फर्किएका पालुङटार नगरपालिका–७ का ४४ वर्षीय पुरुषको उपचारको क्रममा शनिबार बिहान गोरखा अस्पतालको आइसोलेसनमा मृत्यु भएको थियो ।

कतारमा बिरामी परे, नेपाल फर्केको तीन दिनमै विदा भए
मृत्तक असार १६ गते मात्र कतारबाट नेपाल फर्किएका थिए । ‘भिसा पनि सकिंदैछ, अब चाँडै घर फर्किन्छु । फेरि काममा नफर्किने गरी आउँछु होला नआत्तिनू,’ भनेर उनले कतारबाट श्रीमतीलाई उनले फोन गरेका थिए । नेपाल फर्किने तयारीका लागि कम्पनीमा प्रक्रिया मिलाउँदा मिलाउँदै कोरोना भाइरस कोभिड–१९ ले माहामारीको रुप लिइहाल्यो ।

घर फर्किने तयारी गरिरहेका गोरखा पालुङटार नगरपालिकाका उनी कतारमै रोकिए । कतार सरकारले लकडाउन गरेपछि निर्माणको क्षेत्रमा मजदुरी गर्ने उनी कोठामा बस्नुपर्‍यो ।

छिट्टै घर फर्किन्छु भनेका उनी लकडाउनले न काममा जान पाए, न नेपाल फर्किन । भिसाको म्याद सकियो । उनमा अरु तनाव थपियो । ‘भिसाको म्याद नि सकियो । अब यहाँ अवैधानिक भइयो । तर, नेपालबाट लिन जहाज आउँछ भनेको छ, अब दूतावासले छिट्टै नेपाल फर्काउँछ होला,’ उनले घरमा फोन गरेर भनेका थिए ।

भिसाको म्याद सकिएर कामविहीन भएर कोठामै बसेका पुष्कर नेपाल फर्किने दिन कुर्न थाले । कोठामा भएका सामान सकियो, खल्तीमा पैसा पनि । त्यसपछि पुष्करले साथीको शरण लिए । न खाने टुंगो भयो, न नेपाल फर्किने ।

‘लकडाउनले काम गर्न पनि पाएनन् । भिसाको म्याद पनि सकिएर अलपत्र परेका रहेछन्,’ पालुङटार नगरपालिकाकी उपमेयर पम्फा बसेलले भनिन्, ‘कोठाका सबै सामान सकिएपछि साथीहरुको बस्ने, खाने गरेका रहेछन् ।’ उनीहरुले कतारमा दूतावासमा सम्पर्क गरेर कहिले जहाज लिन आउँछ भनेर सोधिखोजी गरिरहन्थे । तर खाने, बस्ने टुंगो नभएपछि पुष्कर कतारमै बिरामी परे ।

सामान्य औषधि खाए तर निको हुन सकेनन् । उनमा ६–७ वर्षदेखि मधुमेहको पनि समस्या थियो । कतारमै अलपत्र पर्दा रोगले झनै च्यापेको उनले नेपाल फोन गरेर जानकारी गराएका थिए ।

३ महिनापछि पुष्कर बल्ल नेपाल फर्किने भए । उनले नेपाल फर्किन लागेको कुरा घरका सदस्यलाई जानकारी गराए । कतारमा अलपत्र परेका र रोजगार गुमाएका नेपालीलाई लिएर असार १७ गते बिहान जहाज काठमाडौं ओर्लियो । काठमाडौंबाट पुष्करसहितको टोलीले पोखरासम्म पुग्ने माइक्रो बस व्यवस्था गरे ।

पुष्करले नेपाल फर्किएर घर आउँदै गरेको जानकारी गराएपछि उनकी श्रीमतीले पालुङटार नगरपालिकामा सम्पर्क गरिन् । पुष्कर डुम्रे बजारमा ओर्लिएपछि नगरपालिकाले नै जिपको ब्यवस्था गरेर क्वारेन्टाइनसम्म ल्याएको थियो ।

‘१७ गते बेलुका क्वारेन्टाइनमा ल्याउँदा पुष्करको स्वास्थ्य अवस्था नाजुक भइसकेको थियो,’ पालुङटारकी उपमेयर बसेलले भनिन्, ‘भोलिपल्टै स्वाब लिएर परीक्षणका लागि पोखरा पठायौं ।’

१८ गते स्वाब परीक्षणका पठाएर १९ गते नतिजा आउँदा पुष्करमा कोरोना पोजेटिभ देखियो । ‘१९ गते बेलुका ५ बजे रिपोर्टमा कोरोना पोजेटिभ देखिएपछि नगरपालिकाको एम्बुलेन्समा राखेर जिल्लाको आइसोलेसनमा पठाएका हौं,’ उपमेयर बसेलले भनिन्, ‘तर, २० गते बिहान उनको मृत्युको दुःखद खबर सुन्नुपर्‍याे ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७