हाफ पाइन्ट हुलियामा पूर्व प्रधानमन्त्री भट्टराई, टोखाको झाडी फाँडेर रोपे विरुवा

काठमाडौं, २० असार । किसानलाई अहिले रोपाइको चटारो छ । सत्तारुढ नेकपाका अधिकांश नेताहरु पार्टीभित्रको विवाद कसरी हल गर्ने भन्नेमा जुटिरहेका छन् ।
यता पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई भने आज (शनिबार) अलि फरक हुलियामा भेटिए ।
पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई आज (शनिबार) हाफ पाइन्ट र कमिज लगाएर काठमाडौंको टोखामा झाडी फाँडेर विरुवा रोपिरहेको अवस्थामा भेटिए । उनले त्यहाँ लामो–लामो घाँस र झाडी सफा गरेर वृक्षारोपण गर्न व्यस्त रहेको तस्बिर सार्वजनिक गरेका छन् ।

झाडी सफा गर्ने र वृक्षारोपण गर्ने काममा पूर्वमन्त्री तथा भट्टराई पत्नी हिसिला यमी, स्थानीयवासी र अरु केहि व्यक्तिहरुले पनि साथ दिएका थिए । खैरो रङको हाफ पाइन्ट, कमिज र स्पोर्टस् जुत्ता लगााएर उनी त्यहाँ व्यस्त रहेका तस्बिरहरु भट्टराईको फेसबुक पेजमा सार्वजनिक गरिएको छ ।
पूर्व प्रधानमन्त्री तथा संघीय समाजवादी पार्टीका अध्यक्ष भट्टराई केहि समययता अत्यन्त सामान्य र स्वभाविक शैलीमा यस्ता सामाजिक तथा सामुदायिक गतिबिधिमा पहिलेभन्दा अझ बढि सक्रिय देखिदैं आएका छन् ।