सांसद प्रभु साहको क्षेत्रमा गुणस्तरहीन काम


२० असार २०७७, शनिबार
dhalan 1

रौतहट, २० असार । शहरी विकास मन्त्रालयबाट रौतहटको गरुडा नगरपालिका–५ को शिवनगर आसपास मात्र ३२ करोड रुपैंयाँको सड़क ढलान भईरहेको छ ।

रौतहट क्षेत्र नम्बर–३ का सांसद प्रभु साहले शहरी विकासमन्त्री हुँदा सिङ्गै नगरलाई छोड़ेर आफ्नो क्षेत्रमा पर्ने एउटा सानो टोलका लागि ३२ करोड रकम विनियोजन गरेर शक्तिको गलत अभ्यास गरेको गरुडा नगरपालिकाका स्थानीयले आरोप लगाएका छन् ।

सांसद साहको क्षेत्रमा पर्ने गरुडा नगरपालिकाको वडा नम्बर ५ मा चार वटा टोल छन् । जसमध्येको एउटा सानो टोल शिवनगरमा मात्र ३२ करोडको काम भईरहेको छ । जसमध्ये १६ करोडको सडक ढलान मात्र हुँदैछ ।

रौतहटकै ठूला नगरपालिकामध्येको एक रहेको गरुडा नगरपालिकाको केन्द्र रहेको गरुडा बजारलाई ध्यान नदिएर आफ्नो क्षेत्रको त्यही वडामा पर्ने महम्मदपुर, लक्ष्मीपुर जस्तो ठूलो टोल हुँदाहुँदै पनि एउटा सानो टोल शिवनगरमा त्यति धेरै बजेट विनियोजन गरेको र गुणस्तरहीन काम भएको स्थानीयको आरोप छ ।

स्थानीय चन्देश्वर यादवले सांसद प्रभु साहले विकासप्रेमी नेताको रुपमा स्थापित भए पनि पदीय शक्तिको दुरुपयोग गरेर पक्षपाती काम गरेको आरोप लगाए । उनले सांसद साह मन्त्री हुँदा सिङ्गो नगरलाई छोडेर शिवनगरमा मात्र धेरै बजेट दिएकोमा असन्तुष्टि जनाए ।

शहरी विकास डिभिजन कार्यालयलाई सोध्दा विनियोजित बजेटमध्ये १६ करोडको सडक ढलानको ठेक्का ढुकुचु कन्स्ट्रक्सनले पाएको जनाएको छ । डिभिजनका इन्जिनियर कमल खतिवडाले १० किलोमिटर सडक ढलानको लागि उक्त ठेक्कामा दिइएको बताए ।

एक करोडमा एक किलोमिटर सडक ढलान हुन सक्ने भए पनि डेढ गुना बढी रकमको ठेक्का हुँदा पनि गुणस्तरहीन काम भएको स्थानीयले आरोप लगाएका छन् । इन्जिनियर खतिवडाले भने केही राजनीतिक विवाद भएको स्थान बाहेकका ठाउँमा भने काम ठिकै भएको स्पष्टिकरण दिए ।

dhalan

एउटा सानो टोलमा किन त्यति बजेट पठाएको भनेर सांसद साहका स्वकीय सचिव विजय यादवलाई प्रश्न गर्दा उनले शिवनगरलाई पर्यटकीयस्थलको रुपमा विकास गर्न बढी बजेट दिइएको बताए ।

‘शिवनगर रौतहटमा मात्र नभएर सिङ्गो देशका साथै भारतमा समेत चर्चामा रहेको धार्मिकस्थल हो । तर पूर्वाधार अभावका कारण यो मन्दिरमा पर्यटक भित्रयाउँने सपना अधुरो थियो । तर उहाँ (प्रभु साह) शहरी विकासमन्त्री हुँदा यस ठाउँमा पर्यटकीय पूर्वाधार निर्माण गर्ने उद्देश्यले बजेट राख्नु भएको थियो’ यादवले भने, ‘यो विभेद होइन, पर्यटन विकासलाई टेवा पुर्याउने दिशामा कयौं कदम अगाडि बढेको हो ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७