‘अरूको घर भत्किन्छ र आफ्नो घर बन्छ’ भन्नु दुर्भाग्यपूर्ण : रामचन्द्र पौडेल


२० असार २०७७, शनिबार

काठमाडौं, २० असार । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेता पौडेलले कांग्रेसले जोड घटाउ गरेर सत्ता प्राप्तिको राजनीति छोडेर सिद्धान्त र आदर्शको राजनीति अवलम्बन गर्नुपर्ने बताएका छन् ।

सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले आज वाग्मती प्रदेशका कांग्रेस नेता कार्यकर्ताहरुसँग गरेको छलफलमा उनले समसामयिक राजनीतितर्फ इङ्गित गर्दै ‘अरूको घर भत्किन्छ र आफ्नो घर बन्छ’ भन्नु दुर्भाग्यपूर्ण हुने बताए ।

नेता पौडेलले कम्युनिष्टहरु विभाजन भएर सत्ता प्राप्ति गर्ने कांग्रेसले मुलुकलाई समाधान दिन नसक्ने भन्दै मुलुकका सबै समस्या समाधान गर्ने मिशनका लागि भिजन भएको कांग्रेस आवश्यक रहेकामा जोड दिए ।

साथै उनले कांग्रेसको आगामी १४औं महाधिवेशनले त्यो मिशनका लागि भिजन भएको कांग्रेस बनाउने बताए । अहिले कम्युनिष्टहरुले पाएको झण्डै दुई तिहाइको जनमत मुलुकको समस्या समाधानका लागि सहयोगी हुनुपर्नेमा जोड दिँदै उनले मुलुकमा सङ्कट परेका बेला भ्रष्टाचार र सत्ताका लागि भाँडभैलो गर्नु शोभनीय नहुने बताए ।

विश्वका पूँजीवादी र कम्युनिष्ट देशहरु पनि उपभोक्तावादी भइसकेको भन्दै विश्वमा देखिएको समस्या नै पूँजीवाद र साम्यवादले नभई प्रजातान्त्रिक समाजवादले समाधान गर्ने नेता पौडेलको भनाइ थियो ।

उनले गान्धीवाद समाजवाद नभए पनि गान्धीवादमा आधारित समाजवादले विश्वलाई जोगाउने तर्क गर्दै पूँजीवादीहरुले राज्यका सबै दायित्व व्यापारीलाई सुम्पेको र कम्युनिष्टहरुले जनतालाई दबाएर बन्द संस्कृति सिर्जना गरेकाले समस्या देखिएको धारणा व्यक्त गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७