सांकेतिक विरोधमा उत्रिएका खोकनावासी र प्रहरीबीच झडप {भिडियाे}


२० असार २०७७, शनिबार
khokhana jhadap

ललितपुर, २० असार । ललितपुरको खोकनामा प्रस्तावित फास्ट ट्रयाकको जिरो किलोमिटरको विरोधमा सांकेतिक विरोध स्वरुप धान रोप्न खोज्दा स्थानिय र प्रहरीबीच झडप भएको छ ।

प्रस्तावित फास्ट ट्रयाकको विरोधमा उनीहरुले खुदोलमा धान रोपाइ गरी सांकेतिक विरोध प्रदर्शन गरेपछि प्रहरीले अवरोध गर्न खोज्दा झडप भएको हो ।

झडपमा परी ४ जना प्रहरी घाइते भएका छन् । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिनका लागि ७ राउन्ड अश्रु ग्यास समेत प्रहार गरेको छ ।

धिमे र भुस्या बजाउँदै धान रोपाईमा सहभागी भएका उनीहरुले खोकनाको कृषि योग्न जमिन अतिक्रमण गर्न नपाइने भन्दै प्रदर्शन गरे । सीमा चाहिने सुरक्षा फौज खेतमा किसानी गर्ने कृषकविरुद्ध तैनाथ गरिएको भन्दै स्थानीयहरुले प्रहरीलाई सहयोग गर्न आग्रह समेत गरेका थिए ।


जग्गाधनी लालपूर्जा लिएर खेतमा खेतमा रोपाइ गर्न पुगेकाहरुलाई रोकेपछि स्थानीय र प्रहरीबीच केही समय झडप भएको थियो । सो क्रममा स्थानियले प्रहरीमाथि ढुङ्गा प्रहार गरेको थियो भने प्रदर्शनलाई रोक्न प्रहरीले लाठीचार्ज र केहि सेल अश्रुग्यास प्रहार गरेको थियो । झडपका क्रममा केहि प्रदर्शनकारी र प्रहरी घाइते भएका छन् ।

खोकनाको अन्न भण्डारका रुपमा रहेको कुदेश, खुदोल हुँदै सरकारले फास्ट ट्रयाक निर्माण गर्ने घोषणा गरेदेखि त्यसको विरोध भइरहेको छ । निर्माणधीन फास्ट ट्रयाकका कारण ऐतिहासिक सिकाली मन्दिर र खोकनाको संस्कृति नै लोप हुने संघारमा पुग्ने भन्दै शनिवार उपत्यकाका विभिन्न स्थानबाट मानिसहरु खोकनामा पुगेका थिए ।

खोकना र बुंगमती हुँदै काठमाडौं–तराई द्रुतमार्ग सँगै १३२ केभिए विद्युत प्रसारण लाइन, बाहिरी चक्रपथ, नयाँ स्याटलाइट शहर, वाग्मती कोरिडोर, काठमाडौँ तराई रेलमार्ग जस्ता आयोजनाहरू सञ्चालनमा ल्याउने सरकारको नीति छ ।

फास्ट ट्रयाकका कारण बुंगमती, खोकना, कुदेश र सिकाली मन्दिरको सांस्कृतिक र ऐतिहासिक सभ्यताका साथै उपत्यकाकै खेती योग्य जमिन मासिने भन्दै स्थानीयले विरोध गर्दै आएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७