चन्द्रागिरीमा दुई वर्षमा ६७ उजुरी


२१ असार २०७७, आईतवार
Chndragiri4 XIVnZ3tRmg

काठमाडौं, २१ असार । चन्द्रागिरी नगरपालिकामा पछिल्लो दुई वर्षमा विभिन्न घटनाका ६७ उजुरी परेका छन् । आर्थिक वर्ष २०७५–७६ मा ४६ र आव २०७६–७७ मा २१ उजुरी दर्ता भएका हुन् । ती उजुरीमध्ये अधिकांश घरजग्गा र बाटोसम्बन्धी रहेका छन् ।

नगरपालिकाका उपप्रमुख एवम् न्यायिक समितिका संयोजक लिशा नकर्मीले जग्गा, करारसम्बन्धी, मानाचामल, ढल, घरेलु हिंसासम्बन्धी बढी उजुरी आउने गरेको जानकारी दिइन् ।

नगरपालिकाले उजुरी आएका अधिकांश मुद्दा मिलान गरिसकिएको छ । ‘हामी निरन्तर छलफलमा छौँ, बाँकी रहेका मुद्दा पनि चाँडो टुङ्गो लगाउँछौं’, उनले भनिन् । नगरपालिकाले उजुरी आएपछि सात दिनको म्याद तामेली राखेर छलफल चलाउँदै आएको छ ।

उनले उजुरी दिने व्यक्ति, उजुरी कसका लागि दिएको हो सो व्यक्तिसँग छुट्टाछुट्टै छलफल गर्ने र पछि दुवै जनालाई बोलाएर संयुक्त छलफल गरेर मुद्दा टुङ्ग्याउँदै आएको बताइन् ।

नगरपालिकाले मुद्दाको टुङ्गो लगाउन मेलमिलापकर्ता समेत तोकेको छ । ४० भन्दा बढी व्यक्तिलाई मेलमिलाप कर्तासम्बन्धी तालीम दिइसकेको नगरपालिकाले जनाएको छ । नगरपालिकाको इजलास हरेक हप्ताको सोमबार बस्दै आएको छ । नगरपालिकामा धेरै मुद्दा दर्ता भए इजलास समय पनि थप गर्दै लैजाने उनले बताइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७