यसरी फैलाइयो राष्ट्रपतिलाई महाअभियोग लगाउने हल्ला


२१ असार २०७७, आईतवार
Bidhya Devi Bhandari

काठमाडौं, २१ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुखसँग समेत कुनै छलफल समेत नगरी अचानक संसदको बैठक स्थगन गरेपछि दल फुटाउनको निम्ती अध्यादेश लगायतका कुनै कदम चाल्ने आशंका सुरु भयो ।

त्यही आशंकाको बीच सवैधानिक तथा कानुनी प्राबधानहरुको बिषयमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्धय माधव नेपाल, झलनाथ खनाल लगायतका नेताहरुले कानुन व्यवसायीहरुसँग छलफल गर्ने सल्लाह गरे ।

नेताहरुबीचको त्यही सल्लाह बमोजिम शुक्रबार दिउँसो २ बजेतिर नयाँ बानेश्वरस्थित होटल अर्यालमा नेकपा स्थायी कमिटि सदस्य रघु पन्त, पम्फा भुसाल, देब गुरुङको संयोजनमा वरिष्ठ कानून व्यवसायीहरु भेला भए ।

बरिष्ठ कानून व्यवसायीहरु रमन श्रेष्ठ, डा.युवराज संग्रौला लगायत थिए । केही समय होटलमा सामान्य छलफल गरेर उनीहरु अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारतिर गए । एक कानुन व्यवसायीका अनुसार उनीहरुको छलफलको बिषय थियो, ‘प्रधानमन्त्री ओलीले ल्याउन सक्ने सम्भावित अध्यादेश र त्यसका कानूनी पाटा तथा सम्भावनाहरु ।’

स्रोतका अनुसार नेकपाका नेता र कानून व्यवसायीहरुको समूह होटल अर्यालमा भेला भएको सूचना बालुवाटार पुगीसकेको थियो । नेता र कानून व्यवसायीहरु खुमलटार नपुग्दै प्रधानमन्त्री ओली निकट सूचना संयन्त्रहरुले थापा पाइसकेका थिए । खुमलटार बैठकपछि ओली निकट नेता तथा कार्यकर्ताहरुले, ‘राष्ट्रपतिलाई महाअभियोग लगाउने तयारी’ भन्दै सामाजिक सञ्जालमा लेख्न सुरु गरे । केही अनलाइनहरुले समाचार लेखे, ‘राष्ट्रपतिलाई महाअभियोग लगाउने तयारी ।’

ओली निकट कार्यकर्ताहरुले यो समाचारलाई भाइरल बनाए । तर यो बसाईमा प्रधानमन्त्री ओलीले ल्याउन सक्ने सम्भावित अध्यादेश र त्यसका कानूनी पाटा तथा सम्भावनाहरु बारेमा मात्रै छलफल भएको थियो । तर प्रधानमन्त्रीले भने आफ्ना सूचना संयन्त्रहरुका सूचना ‘भेरिफाइ’ नै नगरी शनिबार मन्त्रीपरिषद् सदस्यहरुलाई ‘राष्ट्रपतिमाथि महाअभियोग’ लगाउने तयारी भइरहेको बताए ।

मन्त्री परिषद्का सदस्यहरुलाई यो बताउनु अघि प्रधानमन्त्री ओलीले त्यही कुरा प्रधानमन्त्रीले शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत यही सूचना सुनाएका थिए । प्रधानमन्त्री ओलीले मन्त्री र राज्यमन्त्रीलाई भेला गरेर राष्ट्रपतिलाई महाअभियोग र आफूलाई दुवै पदबाट हटाउने षड्यन्त्र भएको बताएका थिए ।

बैठकमा कृषिमन्त्री घनश्याम भूसालले गलत सुचनाको आधारमा धारणा नबनाउन आग्रह गरेका थिए । केहि स्वार्थ समूहले परिस्थितिलाई थप उत्तेजित बनाएर आफ्नो स्वार्थ पूरा गर्न लागेको भन्दै मन्त्री भूसालले गलत सूचनाको पछि नलाग्न भनेका थिए ।

मन्त्री भूसालले भनेका थिए, ‘प्रथम विश्वयुद्धताका एउटा व्यापारिक स्वार्थ समूह थियो, जसले पोष्टर छाप्थ्यो र युद्धका दुवै पक्षलाई बेच्थ्यो । फ्रेन्च हत्यारा हुन् भन्ने पोस्टर पनि त्यहि समूहले छाप्थ्यो, जर्मन हत्यारा हुन् भन्ने पोष्टर पनि उसैले छापेर बेच्थयो ।’

प्रधानमन्त्री ओलीले शनिबार साँझ मन्त्रीहरुसँगको छलफलमा आफूलाई प्रधानमन्त्री पदबाट हटाउने र राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने षडयन्त्र गरिएको बताए लगत्तै तरंग पैदा भएको थियो ।

यसपछि प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले तत्कालै महाअभियोग प्रस्ताव ल्याउने भनेर झुटो प्रचार गरिएको बताएका थिए । प्रवक्ता श्रेष्ठले सामाजिक सन्जाल ट्वीटरमा लेखेका थिए, ‘हाम्रो राष्ट्राध्यक्ष राष्ट्रपति सम्मानित संस्था हो। यो गरिमामय सँस्थालाई कसैले पनि आ-आफ्नो स्वार्थका लागि विवादमा नतानौं।राष्ट्रपतिको बिरुध्द महाअभियोग प्रस्ताव ल्याउने अनर्गल झुठा प्रचार कसैले नगरौं।राष्ट्रपति संस्थाको अवमुल्यन नगरौं।राष्ट्रपतिज्यु स्वयंको पनि ध्यान जाने नै छ।’

गलत सूचना प्रवाहपछि तीन नेता शितल निवासमा
प्रधानमन्त्री ओलीले महाअभियोगको तयारी गरिएको दाबी गरेपछि शनिबार अध्यक्ष प्रचण्ड सहित वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका थिए । उनीहरुले राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने कुनै तयारी नरहेको जानकारी दिँदै यो हल्ला बालुवाटारबाटै फैलाइएको बताएक थिए ।

उनीहरुले प्रधानमन्त्री ओलीका गलत कदममा साथ नदिन राष्ट्रपतिलाई आग्रह गरे । तिनै नेताले गलत सूचना दिएर राष्ट्रपतिलाई विवादमा तान्ने काम भएको भन्दै सम्मानित संस्थाविरुद्ध कुनै कदम नचाल्ने समते प्रस्ट पारेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७