बाउलीमा बाढी आउँदा बस्तीमा क्षति


२१ असार २०७७, आईतवार
pahiro

बाजुरा, २१ असार । बाजुरामा शुक्रबार रातिदेखि लगातार परेको अविरल वर्षाका कारण बाउली खोलाले ठूलो क्षति पुर्‍याएको छ । बडिमालिका नगरपालिका मार्तडी हुँदै बग्ने बाउली खोलाले गड्खेत, सेलाघाट र रापकसम्मका क्षेत्रमा क्षति पुर्‍याएको हो ।

बडिमालिका–९ सेलाघाटमा २० परिवारको रोपेको धान पूर्ण रुपमा बगाएर क्षति पुर्‍याएको छ भने गचे थापाको घर जोखिममा पारेको बडिमालिका नगरपालिका उपप्रमुख कविता बिष्टले बताइन् ।

बाउली खोला बढेसँगै आसपासको बस्ती जोखिममा परेका छ । सो क्षेत्रका वारिपारी किनारामा रहेका खेत सबै बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक टङ्कप्रसाद भट्टराईले बताए ।

शुक्रबार रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढीले बूढीगङ्गा नदी किनारका बस्ती जोखिमपूर्ण बनाएको स्थानीयवासीले बताएका छन् । खारगाड र बाउली खोलाले बडिमालिका–९ का उखाडी, चौराटा र सेलाघाटमा रहेका केही बस्तीसमेत जोखिममा परेको बडिमालिका–९ का वडाध्यक्ष विनोदकुमार विकले बताए ।

यस्तै लगातारको वर्षाले बाजुराका त्रिवेणी र बूढीगङ्गा नगरपालिकाको ताप्रिसेरा जोड्ने झोलुङ्गे पुल उच्च जोखिममा छ । पुलमाथि पानी बग्न थालेपछि आवतजावतमा समेत समस्या भएको स्थानीयवासी मोहन बिष्टले बताए । बूढीगङ्गा नदीले बाजुराका द्वावारी र तिपाडा तथा अछामका साँफेबगर, बुढाबगरलगायत विभिन्न ठाउँका दर्जनौं पुल उच्च जोखिममा छन् ।

त्यस्तै कर्णाली नदीको पिलुचौर जुकोट पुल उच्च जोखिममा रहेको स्थानयीवासीले बताएका छन् । वाईवाधु जोड्ने, गोत्री साप्पाटा र रुगिन मुगु बाजुरा हुम्ला जोड्ने आधा दर्जन पुल जोखिममा रहेको हिमाली गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लले बताए । त्यस्तै नदीमा बाढी बढेपछि बाजुराका अन्य दर्जनौं पुल समेत जोखिममा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७