बैंकको सिष्टम ह्याक गरी पाँच करोड झिक्ने तामाङ पक्राउ


प्रकाशित मिति : 5 July, 2020 6:09 pm

काठमाडौं, २१ असार । कृषि विकास बैंकको वित्तीय प्रणालीमा अनाधिकृत पहुँच राखी विभिन्न व्यक्तिको खातामा करोडौं रकम रकमान्तर गरी बैंकलाई हानी नोक्सानी पुर्‍याउने कार्यमा संलग्न रही फरार रहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

धादिङ घर भई काठमाडौं तारकेश्वर नगरपालिका बस्ने ३६ वर्षीय सौजन तामाङलाई महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले गए राति ललितपुरको जाउलाखेलबाट पक्राउ गरेको हो । उनीविरुद्ध सङ्गठित अपराध समेतको कसुरमा अनुसन्धान थालिएको महाशाखाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।

तामाङलगायतको समूहले गत असोज ७ गते कृषि विकास बैंक शाखा कार्यालय न्युरोडमा अनधिकृत रुपमा सुनिता श्रेष्ठको खातामा रु ४९ लाख ५० हजार रकमान्तर गरी त्यसबाट रु नौ लाख ५० हजार भुक्तानी लिन सफल भएको थियो । यस्तै श्रवनकुमार श्रेष्ठको खातामा रकमान्तर गर्न रु २० लाखको चेक पेश गरेको अवस्थामा शङ्का लागि सिस्टम परीक्षण गर्दा उक्त कैफियत फेला परेको थियो ।

आरोपी सुनिता श्रेष्ठ समेतका व्यक्तिको खातामा बैंकको मौज्दातबाट विभिन्न मितिमा आपराधिक व्यक्तिले बैंकको वित्तीय प्रणालीमा अनाधिकृत पहुँच राखी कूल रु चार करोड ८८ लाख ४६ हजार रकमान्तर गरी भुक्तानी लिएको भन्ने सूचना प्राप्त भएपछि महाशाखाले अनुसन्धान थालेको थियो ।

महाशाखाले सोही दिन श्रवनकुमार श्रेष्ठ, सुनिता श्रेष्ठ र शुभशङ्कर पञ्जालाई पक्राउ गरी सङ्गठित अपराध कसुरमा अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइको थियो । तर तामाङ भने फरार हुँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्