नेकपा विवाद : केन्द्रीय कमिटी वैठक बोलाउन माग गर्दै हस्ताक्षर संकलन


२१ असार २०७७, आईतवार
nekapa kendriya baithak 2

काठमाडौं, २१ असार । पार्टी विभाजनको संघारमा पुगेपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा केन्द्रीय कमिटी बैठक बोलाउन माग गर्दै हस्ताक्षर संकलन अभियान थालिएको छ ।

अहिलेसम्म १०० बढी नेताले हस्ताक्षर गरिसकेको नेताहरूले जानकारी दिएका छन् ।
नेकपामा स्थायी कमिटी बैठक चलिरहेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुवै पद छाड्नुपर्ने माग गरेका छन् । तर ओलीले कुनै हालतमा दुवै पद नछाड्ने चट्टानी अडान राखेका छन् ।

विवाद बढ्दै गएपछि स्थायी कमिटी स्थगित गरेर नेताहरू छलफलमा जुटेका छन् । तर आइतबार अपराह्नसम्म कुनै सहमति जुट्न सकेको छैन ।

पार्टी विभाजनको खतरा बढ्दै गएपछि केन्द्रीय सदस्यहरूले हस्ताक्षर संकलन अभियान चलाएका हुन् । ‘नेकपामा कुनै विषयमा स्थायी कमिटीले निर्णय गरे पनि अनुमोदनका लागि केन्द्रीय कमिटी बोलाउनु पर्छ ।

निर्णय गर्न सकेन भने पनि केन्द्रीय कमिटीले छलफल गरेर निकास दिन सक्छ’ नेता ठाकुर गैरेले भने । पार्टी विभाजन कुनै पनि मूल्यमा केन्द्रीय कमिटीलाई स्वीकार्य नहुने भएकाले एकता कायम राख्न पनि हस्ताक्षर अभियान चलाइएको उनले जानकारी दिएका छन् । नेकपाको केन्द्रीय कमिटीमा ४४१ सदस्य छन् ।

‘बैठक राख्नुपर्छ, पार्टीमा जारी विवाद त्यहीबाट हल गरेर निकास दिन सकिन्छ भनेर बैठक माग गरिएको हो’, गैरेले भने । नेकपाको माघ १५ देखि १९ सम्म केन्द्रीय कमिटी बैठक बसेको थियो ।

अमेरिकी आर्थिक सहयोग समेटिएको मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) लगायतका विषयमा छलफल गर्न बसेको बैठकले एमसीसी अध्ययन गर्न बरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा ३ सदस्यीय कार्यदल बनाएको थियो ।

अध्यक्ष तथा प्रधानमन्त्री ओलीले स्थायी कमिटी बैठक समेत राख्न नचाहेपछि सो कमिटीका २० जना सदस्यले लिखित रुपमा बैठक माग गरेपछि सो कमिटीको बैठक आह्वान गरिएको थियो ।

त्यसपछि पनि पटक–पटक स्थगित गरी गत साताबाट शसुरु भएको सो बैठकमा शुरुवातदेखि नै प्रधानमन्त्रीको राजीनामा माग भएपछि अध्यक्ष ओली बैठकमा बस्ने गरेका छैनन् । नेताहरुबीच विवाद चर्केपछि स्थायी कमिटी बैठक सोमबारसम्मका लागि स्थगित छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७