समुदायमा पस्यो संक्रमण : ९४७ संक्रमितको सम्पर्कमा रहेकाहरूको खोजी नै भएन


२२ असार २०७७, सोमबार
pcr

काठमाडौं, २२ असार । कोरोना भाइरसको संक्रमण समुदायमा पनि भयावह रूपमा विस्तार हुने खतरा देखिएको छ । आइतबारसम्म देशभर देखिएका १५ हजार सात सय ८४ संक्रमितमध्ये नौ सय ४७ समुदायबाट देखिएका हुन् । तर, उनीहरूको सम्पर्कमा आएका व्यक्तिहरूको अहिलेसम्म खोजी भएको छैन ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालका अनुसार विभिन्न अध्ययन र परीक्षणबाट कुल संक्रमितको ६ प्रतिशत समुदायबाट देखिएका छन् । १४ हजार आठ सय ३७ संक्रमित भने विदेशमै संक्रमित भएर फर्किएका र उनीहरूको सम्पर्कमा आएकाहरू रहेकोे उनको भनाइ छ । समुदायमा देखिएका संक्रमितहरूको सम्पर्कमा आएको व्यक्तिहरूको अहिलेसम्म पहिचान भएको छैन । यो निकै घातक हुन सक्ने चिकित्सकहरू बताउँछन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार एक संक्रमितको सम्पर्कमा रहेका औसत १३ जनाको कोरोना परीक्षण गर्नुपर्छ । त्यस हिसाबले अहिलेसम्म समुदायमा देखिएका संक्रमितको सम्पर्कमा आएका १२ हजार तीन सय ११ जनाको नमुना संकलन गरेर परीक्षण गरिसक्नु पथ्र्यो । २४ घन्टाभित्र ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्नुपर्छ । तर, अहिलेसम्म हुन सकेको छैन । कोरोनाको लक्षण नदेखिएका कारण पनि संक्रमित पत्ता लगाउन समस्या भएको मन्त्रालयको भनाइ छ ।

सरकारले उपत्यकामा बल्ल समुदायबाट नमुना संकलन गर्ने तयारी गरेको छ । महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेका अनुसार काठमाडौंको कपन, तिनकुने, कोटेश्वर, शंखमूल बुद्धनगर, मैतीदेवी, टोखा हरियालीबस्ती, खुसिबु, भक्तपुरको भोलासिंह, बोडे र ललितपुरको नख्खु, प्युटार क्षेत्रमा एक सयजनाको दरले नमुना संकलन गरिनेछ । उपत्यकाका चार जनामा समुदायबाट संक्रमण देखिएको छ । उनीहरूको सम्पर्कमा आएकाहरूलाई लक्षित गरी १२ सय नमुना संकलन गरिने पाण्डेले बताए ।

विश्व स्वास्थ्य संगठनले संक्रमणलाई चार स्टेजमा विभाजन गरेको छ । कुनै एक व्यक्तिलाई मात्रै संक्रमण भएको छ भने त्यो पहिलो चरण हो । तर, त्यो व्यक्तिबाट परिवार र सम्पर्कमा आएका अन्य व्यक्तिलाई सरेमा त्यसलाई दोस्रो चरण मानिन्छ ।

‘ट्राभल हिस्ट्री’ नभएको र समुदायको केही भागमा एकै पटक धेरै संख्यामा संक्रमित देखिए तेस्रो चरण मानिन्छ । त्यस्तै, देशभर महामारीको रूपमा गाउँ–गाउँमा संक्रमण देखिन थालेपछि चौथो चरणमा प्रवेश गरेको मानिन्छ । चिकित्सकहरूका अनुसार अहिले नेपाल दोस्रो चरण पार गरेर तेस्रो चरणमा प्रवेश गर्न लागेको छ ।

२४ घन्टामा २९३ संक्रमित थपिए

पछिल्लो २४ घन्टामा दुई सय ९३ संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै कुल संक्रमितको संख्या १५ हजार सात सय ८४ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कुल संक्रमितमध्ये ६ हजार पाँच सय ४७ जना निको भएर घर फर्किएका छन् । संक्रमणबाट अहिलेसम्म ३४ जनाको मृत्यु भइसकेको छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७