पार्टीभित्र र कांग्रेससँग समानान्तर संवादमा ओली

ओलीले कांग्रेससँग संवाद अघि बढाएर पार्टीभित्रका प्रतिपक्षलाई दबाबमा पारेका छन्


२२ असार २०७७, सोमबार
Deuba Oli Prachanda

काठमाडौं, २२ असार । प्रधानमन्त्री केपी ओली आन्तरिक रूपमा नेकपा र बाह्य रूपमा कांग्रेससँग संवादमा सक्रिय भएका छन् ।

पार्टीभित्रको विवाद नमिले कांग्रेससँग समीकरण गरेर अघि बढाउन पनि उनले समानान्तर संवाद जारी राखेका छन् । प्रधानमन्त्री ओलीले प्रतिपक्ष कांग्रेससँग संवाद अघि बढाएर पार्टीभित्रका प्रतिपक्षलाई दबाबमा पारेका छन् ।

विवाद मिलाउन पार्टीभित्र पनि निरन्तर संवाद भइरहेको छ । आइतबार पनि अध्यक्षद्वय ओली र प्रचण्डबीच संवाद भएको छ । ‘म प्रधानमन्त्री र अध्यक्ष दुवै पद छाड्दिनँ, अन्य विषयमा छलफल गर्न तयार छु,’ उनले फेरि पनि दोहोर्‍याएका छन् ।

ओलीले पार्टीभित्रैबाट अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले आफूलाई हटाउने र राष्ट्रपति विद्या भण्डारीलाई महाअभियोग लगाउने तयारी गरिरहेको दाबी गरेपछि आइतबार यसै विषयमा प्रधानमन्त्री ओली र पार्टी अध्यक्ष प्रचण्डबीच संवाद भएको छ ।

राष्ट्रपतिलाई स्पष्ट पार्न भन्दै प्रचण्ड, नेपाल र खनाल आइतबार शीतलनिवास पुगेका थिए । राष्ट्रपतिलाई भेटेपछि प्रचण्डले बालुवाटारमा ओलीलाई भेटेका थिए । उनीहरूबीच सहयोगी नेताहरूसहित करिब पौने दुई घन्टा छलफल भए पनि मुख्य एजेन्डामै प्रवेश नगरी छलफल टुंगिएको थियो ।

दुई अध्यक्षबीचको छलफलमा पूर्वएमाले समूहबाट महासचिव विष्णु पौडेल र मुख्यमन्त्री शंकर पोखरेल तथा पूर्वमाओवादी समूहबाट स्थायी कमिटी सदस्य जनार्दन शर्मा र ऊर्जामन्त्री वर्षमान पुन सहभागी थिए । छलफलमा दुवै पक्षबीच अविश्वास बढ्नुका कारण र पछिल्ला आरोप–प्रत्यारोपमा केन्द्रित रहेर खुला छलफल भएको सहभागी एक नेताले बताए ।

एकताको मर्मविपरीत पार्टीको स्थापित मूल्य–मान्यता र विधिलाई चुनौती दिएर खुमलटारमा निरन्तर सचिवालय नेताहरूको छलफल राखेर आफूविरुद्ध षड्यन्त्र गरिएको भन्दै प्रधानमन्त्री ओलीले आक्रोश पोखेका थिए ।

प्रचण्डले पार्टी फुटाउने गरी अध्यादेशको तयारी भएपछि छलफल गर्नुपर्ने बाध्यात्मक अवस्था आएको प्रस्टीकरण दिएको नेताहरूको भनाइ छ । ओली र प्रचण्डबीच अध्यादेश र महाअभियोगको विषयमा केन्द्रित रहेर केहीबेर सवाल–जवाफ पनि भएको थियो ।

‘तपाईंहरू नियमित अलग्गै खुमलटारतिर बसेर के–के गर्न खोज्दै हुनुहुन्छ, के त्यसरी छलफलमा बसेर पार्टी एकता जोगिन्छ ? कि पार्टी फुटाउन खोज्दै हुनुहुन्छ ?’ प्रधानमन्त्री ओलीले भनेका थिए ।

विनातथ्य–प्रमाण उल्टै आफूहरूलाई राष्ट्रपतिविरुद्ध महाअभियोग ल्याउने तयारी गरेको भन्दै पार्टीपंक्तिलाई उत्तेजित बनाउन खोजेको भन्दै प्रचण्डले ओलीको विरोध गरेका थिए । ‘तपाईंले समझदारी नै नगरी एक्कासी संसद् अधिवेशन अन्त्य गरेर पार्टी फुटाउनका लागि अध्यादेश ल्याउने तयारी अघि बढाएपछि हामीले छलफल गर्नुपरेन ?’

सहभागी ती नेताले भने, ‘तपाईं (प्रधानमन्त्री) जस्तो जिम्मेवार व्यक्ति भएर हामीमाथि राष्ट्रपतिमाथि महाअभियोग तयारी गरेको भन्दै झुटो प्रचार गर्ने ? यसरी पार्टी एकतामा संकट पु¥याउने काम नगर्नुस् ।’

जवाफमा प्रधानमन्त्री ओलीले भने कानुन व्यवसायीहरूलाई बोलाएर महाअभियोगकै लागि छलफल गरेको सूचना प्राप्त भएको दाबी गरेका थिए भने प्रचण्डले प्रतिवाद गरेका थिए । ‘मलाई सबै थाहा छ, क–कसलाई बोलाएर के–के छलफल गरिरहनु भएको छ,’ ओलीको भनाइ थियो । प्रचण्डको जवाफ थियो, ‘तपाईंलाई के थाहा छ ? बरु, तपाईंले पार्टी फुटाउन थालेपछि कानुन व्यवसायीसँग परामर्श भएको हो, त्यो आवश्यक थियो ।’

ओली र प्रचण्डले सहमतिको खोजी गर्न दोस्रो तहका नेताहरू पौडेल, पोखरेल, पुन र शर्मालाई अनौपचारिक गृहकार्य गर्नसमेत निर्देशन दिएका छन् । ‘उहाँहरूले आरोप–प्रत्यारोप अबदेखि बन्द गरौं, दूरी नबढाऊँ, तपाईंहरूले पनि गृहकार्य गर्नुस् भन्नु भएको छ,’ सहभागी एक नेताले भने, ‘कार्यदल नै बनेकोचाहिँ होइन, तर हामीलाई पनि गृहकार्य गर्नुस्, भनेर अनौपचारिक जिम्मेवारी दिइएको छ ।’

ओली निकट एक नेताले भने, ‘नयाँ ढंगले सोचौँ भन्ने कुरा भएको हो । हुन्छ सबैले आ–आफ्नो तरिकाले सोचौँ र सोमबार थप छलफल गरौँ भन्ने भएर उठेका छौँ ।’

बालुवाटार छलफलअघि र पछि अध्यक्ष प्रचण्डले वरिष्ठ नेता नेपालसँग खुमलटारस्थित निवासमा दुईपटक छलफल गरेका छन् । राष्ट्रपति विद्या भण्डारीसँगको भेट र बालुवाटार जानुअघि छलफल गरेर प्रचण्ड र नेपाल सँगसँगै शीतलनिवास पुगेका थिए । ओलीसँगको संवादलगत्तै खुमलटारमै प्रचण्डले नेपाललाई छलफल एजेन्डाकेन्द्रित नभएको र सकारात्मक दिशाउन्मुख नभएको ‘ब्रिफिङ’ सुनाएका थिए ।

राष्ट्रपतिसँग शीर्ष नेताहरूको भेट
ओलीको अनर्गल प्रचारबाट तरंगित नहुनुस् भनेर सम्झायौं : खनाल
नेकपाका अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालले महाअभियोगको प्रचार झुटो भएकाले तरंगित नबन्न राष्ट्रपति विद्या भण्डारीलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री केपी ओलीले शनिबार साँझ मन्त्रीहरूलाई बोलाएर आफूलाई हटाउने र राष्ट्रपतिलाई महाअभियोग लगाउने तयारी भइरहेको सूचना पाएको भन्दै आफूले पनि ‘बाई वर्ड, बाई स्टेप्स’ (वचन र कर्मले) सामना गर्ने बताएका थिए ।

प्रधानमन्त्रीको अभिव्यक्ति आएको भोलिपल्टै नेकपा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेताहरू झलनाथ खनाल र माधव नेपाल राष्ट्रपतिलाई भेट्न शीतलनिवास गएका थिए । ‘केपी ओलीले आफूलाई हटाउने मात्र होइन, राष्ट्रपतिविरुद्ध पनि महाअभियोग लगाउने तयारी भएको छ भनेर मन्त्रीहरूसँग भनेका कारण हामीले भेटेरै प्रस्ट पार्‍यौं ।

त्यो केवल केपी ओलीको अनर्गल प्रचार भएका कारण त्यसबाट तरंगित हुनुपर्ने आवश्यकता छैन भन्ने आग्रह गरेका छौँ,’ वरिष्ठ नेता खनालले भने, ‘उहाँले ठीकै छ, धन्यवाद छ, मैले त्यस्तो केही सोचेकै छैन भन्नुभो ।’

आफूवरिपरिका ‘हनुमान’हरूले दिने गलत सूचनाका आधारमा ओलीले परिस्थितिलाई उत्तेजित बनाउने गरी अभिव्यक्ति दिने गरेको खनालको टिप्पणी छ । ‘खासमा हामीले पार्टी विभाजनसम्बन्धी अध्यादेश आएको अवस्थामा के हुन्छ भन्ने विषयमा मात्र कानुन व्यवसायीसँग परामर्श गरेका हौँ,’ खनालले भने, ‘तर, महाअभियोग लगाउने चर्चा नै गलत हो ।’
केन्द्रीय कमिटी बैठक राख्न हस्ताक्षर अभियान

नेकपाको आन्तरिक विवाद समाधान गर्न नेतृत्व असफल हुँदै गएको भन्दै केन्द्रीय कमिटी बैठक माग गर्दै हस्ताक्षर संकलन सुरु भएको छ । केन्द्रीय सदस्यहरू डा. विजय पौडेल, जगन्नाथ खतिवडा, कृष्ण केसी, ठाकुर गैरे, हिमाल शर्मा, रामकुमारी झाँक्रीलगायतले हस्ताक्षर संकलन सुरु गरेका हुन् ।

नेतृत्व असफल हुँदै गएको भन्दै उनीहरूले विधिसम्मत ढंगले छलफल गरेर केन्द्रीय कमिटी बैठकले नै एकता जोगाउने दाबी गरेका छन् । अहिलेसम्म करिब ५५ जना केन्द्रीय सदस्यले हस्ताक्षर संकलन गरिसकेको र मंगलबारसम्म सयभन्दा बढीको संकलन गरिने अभियानको नेतृत्व गरिरहेका केन्द्रीय सदस्य गैरेले बताए ।

केन्द्रीय कमिटी बैठक ६ महिनाको अन्तरमा बस्ने वैधानिक व्यवस्था छ । तर, पार्टी एकता भएयताका दुई वर्षमा एकपटक मात्र गत माघमा मात्र बैठक बसेको थियो । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७