ओली–प्रचण्ड वार्तालाप : सुरुमा भनाभन, छुट्दा मत्थर, यस्तो भयो संवाद


२२ असार २०७७, सोमबार
Oli and parchanda

काठमाडौं, २२ असार । सत्तासीन नेकपामा शक्ति–संघर्ष साम्य भएको छैन । सहमतिको बिन्दु खोज्न आइतबार दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले दुई–दुई विश्वासपात्रसहित बैठक गरे ।

साथमा थिए, ओलीतर्फ विष्णु पौडेल र शंकर पोखरेल, दाहालतर्फ जनार्दन शर्मा र वर्षमान पुन । अत्यन्त तिक्ततापूर्ण सुरुआत भएको बैठक अन्त्यतिर केही मत्थर भयो । फेरि सोमबार समाधानको खाकासहित वार्ता हुने भएको छ ।

प्रस्तुत छ, उक्त बैठकमा दुई अध्यक्षको वार्तालाप सुनेका नेताहरूसँग गरिएको कुराकानीका आधारमा उतारिएको संवाद :

स्थान – प्रधानमन्त्री निवास, बालुवाटार

समय – आइतबार मध्याह्न १२ः२०

पात्र – केपी शर्मा ओली, पुष्पकमल दाहाल, विष्णु पौडेल, शंकर पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा ।

ओली – (कुरा सुरु गर्दै) तपाईंहरू ६ जना बसेकै हुनुहुन्छ, हिजो पनि बस्नुभयो क्यारे । त्यहीं बन्यो होला नि सहमतिको खाका ? के के बनाउनु भएको छ ? बसेर के के गर्नु भएको छ ? लौ सुनाउनुहोस् ।
दाहाल – तपाईंले सबै कुरा बर्बाद गर्ने भएपछि बस्नै प¥यो नि । अध्यादेश ल्याउने, पार्टी फोड्ने तयारी गरेपछि पार्टीलाई कसरी बचाउने, जोगाउने भनेर सल्लाह गर्नु परेन हामीले ? त्यही सल्लाह गरेका हौं बसेर ।

ओली – मलाई त हटाउने कुरा गर्नु भएकै छ, राष्ट्रपतिमाथि पनि महाअभियोग लगाउँदै हुनुहुन्छ क्यारे ‘ कहिले हो लगाउने ?
दाहाल – कस्ले भन्यो यस्तो हावादारी वाहियात कुरा ? राष्ट्रपतिको गरिमामय पदलाई समेत विवादमा तान्ने गरी यसरी प्रचारबाजी गर्ने ? कहाँ त्यस्तो गरिएको छ ?

ओली – मलाई थाहा छ । सूचना मकहाँ आइपुगेको छ । तपाईंहरू बसेर के के गर्दै हुनुहुन्छ भन्ने कुराको..।

दाहाल – सूचना भए भन्नुहोस् के के छ ? कहाँ–कहा के के गरिएको छ ? गलत सूचनामा नलाग्नुहोस् ।

०००

प्रधानमन्त्री ओली र दाहाल दुवैको घोचपेचमा बालुवाटार बैठक सुरु भयो । दुईतिर मुख फर्काउन थालेका दुई अध्यक्षको झोक्काझोक्कीमा चुपचाप बसेर सुनिरहेका थिए पौडेल, पोखरेल, पुन र शर्मा । वातावरण सुरुमै बिथोलिन खोजेपछि चुपचाप बसेका दोस्रो पुस्ताका यी ४ नेताहरू अगाडि सर्न थाले ।

सहभागी ४ नेताहरू – (दुवै अध्यक्षलाई शान्त हुन आग्रह गर्दै) अहिले दुनियाँले यो हाम्रो छलफललाई हेरिरहेको छ, पार्टी र सरकारलाई जोगाउने र एकताबद्ध भएर कसरी निस्कने भन्ने हाम्रो अहिलेको छलफलको विषय हो । आपसी असमझदारी बढाउने होइन, घटाउनेतिर सोच्नुपर्छ । तर पनि स्थिति साम्य हुन सकेन ।

दाहाल – तपाईंले हिजो मन्त्रीहरूलाई नै बोलाएर कित्ता छुट्ट्याउनुहोस् सम्म भन्न भ्याउनु भयो । तपाईंका गतिविधि एकपछि अर्काे गरी पार्टी एकता संकटमा पार्ने खालकै देखिएका छन् । यस्ता गतिविधि रोक्नुहोस्, म एकताकै कुरा गर्न आएको छु ।
ओली – कसले एकता नगर्ने भनेको छ र ? तर तपाईंहरूका गतिविधि एकता जोगाउने छन् कि भत्काउने ? हेर्नु पर्दैन ? सोच्नु पर्दैन ?

दाहाल – तपाईं युवा विद्यार्थीलाई बालुवाटार बोलाउनु हुन्छ । पार्टी नेताहरू विरुद्ध सडकमा प्रदर्शन गर्न उतार्नु हुन्छ । गालीगलौजमा लगाउनु हुन्छ । यसले वातावरण बिथोल्ने मात्र काम गरेको छ ।

ओली – कहाँ उचालें मैले ? उल्टै तपाईंहरू ग्याङ बस्नुहुन्छ, मविरुद्ध तानाबाना बुन्नुहुन्छ । घेराबन्दी गर्नुहुन्छ । मलाई सबै जानकारी छ । (फेरि दोस्रो पुस्ताका नेताहरू अगाडि सर्छन् )

दोस्रो पुस्ताका नेताहरू – कमजोरी दुवै पक्षका होलान् । अब गल्ती नदोहो¥याउने र यस्ता गतिविधिलाई नियन्त्रण गरेर जाने गरी वातावरण निर्माण गरौं । विश्वासको वातावरण पहिले बनाऔं । असमझदारी र आशंका हटाउने गरी अगाडि बढौं । एकअर्का नेताप्रति लक्षित गतिविधि र आरोप प्रत्यारोप रोकौं ।
दाहाल – ठीक छ, यस्ता गतिविधि रोकौं, कसले हुन्न भनेको छ ?

ओली – ठीक छ, यसमा रोकौं । त्यसपछि दुई अध्यक्षबीच अनौपचारिक सहमति बन्यो– सडकमा एकअर्काकै पक्ष, विपक्षमा नउत्रने। नाराबाजी र प्रदर्शन रोक्ने । सामाजिक सञ्जालहरूमा आरोप प्रत्यारोप नगर्ने । वार्ता र संवादबाटै सहमतिको खोजी गर्ने । पार्टी एकताका लागि आह्वान गर्ने गरी वातावरण निर्माण गरेर जाने । दुवै अध्यक्ष केही शान्त र मत्थर देखिए ।
दोस्रो पुस्ताका नेताहरू – अब विषय प्रवेश गरौं । विवाद लम्ब्याउने भन्दा सहमतिको खोजी गरौं । पार्टी एकतालाई जोगाउने गरी विन विन बाटो खोजौं ।

ओली – तपाईंहरूले भन्दै गर्नुहोस्, तर म दुवै पद छोड्दिनँ । मैले पटक–पटक भनिसकें । यसमा म दायाँ–बायाँ हुन्न । कसैले यसरी भन्दैमा मैले किन दिने प्रधानमन्त्रीबाट राजीनामा ? किन छोड्ने पार्टी अध्यक्ष ? यो कल्पनाभन्दा बाहिरको विषय हो ।

दाहाल – कहीं न कहीं सहमति त खोज्नै पर्छ । लचिलो कहाँसम्म हुने ?

ओली – म दुवै पद छोड्दिनँ । तपाईंहरू अनावश्यक उचालिने नगर्नुस् । कुरै सकिन्छ ।

दाहाल – कहाँ त्यसरी हुन्छ ? तपाईंले केही न केही त्याग गर्नैपर्छ । साथीहरूले त्यसरी कुरा उठाइसकेपछि बैठकमा जाने, त्याग गर्ने काम तपाईंले गर्नैपर्छ ।

ओली – सहमति मंसिर ४ मा दुई अध्यक्षको कार्य विभाजनमा गरिएको सहमतिबाट खोजौं । त्यहींबाट निस्कन्छ निकास । त्यसैलाई स्थायी समितिमा थप व्याख्या गरेर अनुमोदन गराएर जाऔं ।
दाहाल – मंसिर ४ भन्दा अगाडिको पार्टी एकता गर्दाको २ जेठको सहमतितिर जाऔं न त । त्यसलाई आधार बनाएर खोजौं । कुरा त्यहींबाट बिग्रेको छ । त्यहीबाटै सपारेर जाऔं ।
ओली – त्यसमा हुन्न । ४ मंसिरमा दुई अध्यक्षका बीचमा अधिकार बाँडफाँट भएकै छ । त्यहाँ कहाँ के नमिलेको हो, त्यसमा मिलाउन सकिन्छ ।
दाहाल – ४ मंसिरको सहमति धेरै पछि हटिसक्यो, त्यसमा मात्र हुन्न । नयाँ सहमतिको खोजी गर्नुपर्छ । (वातावरण फेरि बिग्रने सम्भावना देखेपछि दोस्रो पुस्ताका नेताहरू अगाडि सरे।) दोस्रो पुस्ताका नेताहरू – यो हुन्छ, हुन्न भन्दा पनि सहमति के के मा कसरी गर्ने, खाका बनाएर छलफल थालौं ।
दाहाल – ठीक छ, खाकै बनाएर छलफल गरौं ।
ओली – हेरौं न त, कस्तो खाका ?

दोस्रो पुस्ताका नेता – भोलि बिहान ठण्डा दिमागमा छलफलमा बसौं । एउटा गृहकार्यसहितको खाकामा छलफल गर्ने गरी ।

दाहाल – लौ ठीक छ, तपाईंहरू पनि अनौपचारिक रूपमा छलफल गर्नुहोस्, एकआपसमा छलफल गरौं । ठोस केही खाका बनाई सहमति खोजौं ।
(ओली खास बोलेनन्।)

दाहाल – स्थायी समितिको बैठक छ, भोलि नै । त्यस अगाडि बिहानै बसौं ।

(सोमबार बिहान छलफल गर्ने गरी दिउँसो १ः५० बजे नेताहरू उठे।)

बन्यो अनौपचारिक कार्यदल

दुई अध्यक्षले पार्टी विवादको समाधानको खोजी गरी खाका बनाउन अनौपचारिक कार्यदल बनाएका छन् । दुवै अध्यक्षले आफूहरूसँगै छलफलमा रहेका नेताहरूलाई तपाईंहरूले पनि होमवर्क गर्नुस् भनेपछि बैठकमा सहभागी पौडेल, पोखरेल, पुन र शर्माको छलफललाई कार्यदलको अर्थमा नेताहरूले बाहिर बुझेका छन् । तर यो कुनै कार्यदल भने होइन ।
एक सचिवालय सदस्यले भने, ‘अध्यक्षद्वयसँगै रहेका नेताहरूले कार्यदल जस्तो बनाएर गृहकार्य गरेको बताउनु भएको त छैन । तर अध्यक्षद्वयले सामान्य गृहकार्य गर्न अह्राउनु भएको जस्तो चाहिँ देखिन्छ ।’

छलफलमा सहभागी स्थायी समिति सदस्यद्वय शर्मा र पोखरेलले भने कुनै कार्यदल नबनेको बताए । ‘कसले के भन्छ भन्ने होइन, कार्यदल बनेको छैन’, शर्माले भने । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले पनि भने, ‘कार्यदल बनेको छैन । हामी अध्यक्षद्वयको छलफलमा सहभागी मात्र हौं, उहाँहरूले छलफल गर्नु भएको छ । छलफल सकारात्मक छ ।’ अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७