नेकपा स्थायी कमिटी वैठक बुधबारसम्म स्थगित, ओली–प्रचण्डबीच बालुवाटारमा छलफल


२२ असार २०७७, सोमबार
kp oli prachanda scaled

काठमाडौं, २२ असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद पहिला हल गर्ने उद्देश्यले स्थायी कमिटी बैठक असार २४ गतेसम्मका लागि स्थगित गरिएको छ ।

आज (सोमबार) का लागि तय भएको बैठक असार २४ गते बिहान ११ बजेसम्मका लागि स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा नेकपाको प्रचार विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिएका छन् ।

यसअघि शनिबारका लागि तय भएको बैठक सोमबारका लागि सारिएको थियो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार दिउँसो संघीय संसद्को अधिवेशन अन्त्य गरेसँगै असार १० गतेदेखि जारी स्थायी कमिटी बैठक पनि प्रभावित भएको थियो ।

यसैबीच नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल जारी छ । सोमबार बिहान साढे ९ बजेदेखि उनीहरुबीच छलफल शुरु भएको जनाइएको छ । स्थायी कमिटी बैठकअघि सहमतिको अधिकतम प्रयास खोज्ने भन्दै बैठक स्थगित गरिएको बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै पद नछाड्ने अडान दोहोर्‍याएपछि विवाद झनै बढेको छ । दाहाल–नेपाल समूह ओलीले एउटा पद छाड्नु पर्ने अडानमा छन् । हिजो (आइतबार) पनि ओली–प्रचण्डबीच आफ्ना विश्वास पात्रसहित छलफल भएको थियो । शुरुमा निकै गर्मागर्मी रुपमा शुरु भएको छलफल अन्त्यमा आएर मत्थर भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७